पोखरामा दशैँमा १ अर्ब ५० करोडको मासु खपत हुने

दीननाथ बराल, पोखरा न्यूज – १३, असोज । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा अधिकाशंका घर घरमा मिठो मिठो खाने कुराको परिकार पाक्ने गर्दछ । दशैंमा विभिन्न जातका मासुका परिकार खाने हाम्रो परम्परा जस्तै बन्दै आएको छ । पोखेरेलीहरुले साँच्चै दशैं पर्वमा कति मुल्य बराबरको मासु खादा हुन जो कोहीलाई जिज्ञासा लाग्दो हो ।

यसै सन्दर्भमा हामीले विभिन्न व्यवसायीहरुसंग सोध पुछ गरेर उनीहरुले दिएको तथ्याङकलाई हेर्दा पोखरेलीहरुले साँच्चै दशैं पर्वमा बजेटको ठुलै हिस्सा मासु खानमा खर्चिदै आएका रहेछन् । दशैंको घटस्थापना देखि नै पछिल्लो समयमा धेरैको घर घरमा मासुको जोहो गर्ने र मासु खाने प्रचलन रहेको पाइन्छ । त्यसैले माछामासुमा ठुलै रकम खर्च क्रमले यस बर्ष पनि निरन्तरता नै पाउने देखिन्छ ।

हिमालपारीको जिल्ला मनाङ र मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्रासहित विभिन्न जिल्लाबाट ल्याइएका खसी वोका, भैंसी, राँगा, कुखुरा गरी पोखरा क्षेत्रमा दसैंमा करिब १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको मासुको खपत हुने गरेको व्यवसायीहरुले बताएका छन्। यस वर्षको दसैंका अवसरमा पोखरामा भेडा च्याङग्रा, खसी तथा वोका र कुखुराको गरी करिब एक अर्ब ५० करोड बराबरको मासुको कारोवार हुने कास्की मासु व्यवसायी संघका अध्यक्ष गोविन्द तिवारीले बताए ।

उनका अनुसार दशैंको अवसरमा करिब ५० करोड बराबरको मासुको कारोवार विभिन्न व्यवसायीहरु भन्दा बाहेक व्यक्ति तथा समुहबाट हुने गरेको छ । एक अर्ब बराबरको कारोवार भने विभिन्न व्यववसायी तथा भेडाच्याङग्राको कारोवारबाट पोखरा क्षेत्रमा हुने गरेको अध्यक्ष तिवारीले बताए । खुल्ला बजार भएसंगै पोखरामा खसि वोका अनगिन्ती ढंगले भित्रिएसंगै पोखरामा आफुहरुले आकलन गरेको भन्दा बढी कारोवार हुन सक्ने उनले जनाए । उनका अनुसार केही व्यत्तिहरु मिलेर टोल टोलमा भैसी तथा राँगो समेत काट्ने गरेका छन्।

अध्यक्ष तिवारीका अनुसार कुखुराको मात्र दशैंको अवसरमा ४० करोड भन्दा बढीको कारोवार हुने गर्छ । पोखरामा अन्य महिनामा खसि बोका ३ हजार ५ सय देखि ४ हजार सम्म खपत हुने गरेको छ भने दैनिक कुखुराको खपत भने ४० देखि ४५ हजार किलो कुखुराको खपत हुने गरेको छ । पोखरा क्षेत्रमा टर्की, लोक्कल कुखुरा तथा अन्य एवं प्याकेजीङ मासुको करिब ५ प्रतिशत जसो दशैंको अवसरमा खपत हुने गरेको अध्यक्ष तिवारीले जनाए ।

पोखरा क्षेत्रमा भेडा–च्याङ्ग्राको मात्र करिब ५० करोडको कारोबार हुने गरेको छ । यस वर्ष पोखरामा करिब २० हजार भेडा च्याङ्ग्रा भित्रिदैछन् । प्रतिभेडा च्याङ्ग्राको मुल्य २० हजारदेखि ३० हजारसम्म पर्ने गरेको छ । व्यवसायीहरूले च्याङ्ग्राको तयारी मासु प्रतिकेजी १ हजार ५ सय रुपैयाँले बिक्र गर्ने गरेका छन् ।

पोखरा खसीबोका व्यवसायी समितिले यस वर्षको दसैंलाई लक्षित गरी पोखरामा ११ हजार खसीबोका बिक्री गर्ने तयारी गरेको छ । दसैं पर्वमा पोखरा क्षेत्रमा करिब २० करोड रुपैयाँ भन्दा बढीको खसी तथा बोकाको खपत हुने भएको पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । उनका अनुसार पोखराको चाउथे स्थित खासि वोका बजारबाट मात्रै उक्त कारोवार भए पनि दशैंको अवसरमा करिब ६० प्रतिशत जसो पोखराका गल्ली र चोकै पिछे खसि बोकाको कारोवार हुने गरेको छ ।

त्यसैगरी पोखराको मियापाटन क्षेत्रमा दसैं पर्वलाई लक्षित गरी हाल ५ सयभन्दा बढी भैंसी तथा राँगा बिक्री हुने व्यवसायीहरूले बताए । प्रतिभैंसी तथा राँगाको ३० हजारदेखि ६२ हजारसम्म पर्ने गरेको व्यवसायी महमद ईसुफले बताए । जिउँदो खसीको प्रतिकेजी ५ सय ८० देखि ६ सय १० रुपैयाँसम्म पर्ने भएको छ । गत बर्ष प्रति केजी खसीको ४ सय ६० देखि ४ सय ८० रुपैयाँसम्म परेको थियो । खसीको तयारी मासु बजारमा प्रतिकेजी ११ सय पर्ने गरेको छ गत बर्ष ९ सय पर्थो । पोखरामा करिब ५ करोड रुपैयाँभन्दा बढीको भैंसी तथा राँगाको मासुको कारोबार हुने गरेको छ ।

पोखरा क्षेत्रमा यस वर्षको दसैंको अवसरमा करिब १० लाख किलो कुखुराको मासुको खपत हुने भएको छ । पोखरा क्षेत्रमा दशैैं पर्वको अवसरमा दैनिक जसो ५० हजार किलो कुखुराको मासुको खपत हुने गरेको पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले बताए । करिब ६५ वटा पोल्ट्री व्यवसायीबाट कुखुरा उत्पादन हुने गरेको उनले जनाए । सामान्यतया प्रति पोल्ट्री व्यवसायीबाट करिब ४ देखि ७८ क्विन्टल सम्म पोखरा क्षेत्रमा कुखुराको मासु उत्पादन हुने गरेको अध्यक्ष पौडेलले बताए ।

यसरी हेर्दा दशैंको अवसरमा १५ दिनको तथ्याङक हेर्दा करिब ४० करोडको कुखुराको खपत पोखरा क्षेत्रमा हुने गरेको देखिन्छ । कास्कीमा खपत हुने कुखुरा कास्कीका करिब ५ हजार जना किसानको खोरबाट आउने गर्दछ भने खसि वोका कास्की सहित छिमेकी जिल्ला स्याङजा, तनहुँ, पर्वत र पाल्पाबाट समेत आउने गरेको व्यवसायीहरुले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button