ह्यागाबिस आँधीको टोकियोमा ताण्डव, १८ को मृत्यु, १ सय ४० भन्दा बढी घाइते

पोखरा न्यूज – २६, असोज । ६० वर्ष यताकै भीषण ह्यागाबिस टाइफुनले जापानको राजधानी टोकियोको जीवन अस्तव्यस्त पारेको छ । आँधीले गर्दा हालसम्म १८ जनाको मृत्यु भएको छ भने १ सय ४० भन्दा बढी घाइते भएका छन् ।

शनिबार बिहान देखि टोकियोको जमिन भुभागमा प्रवेश गरेको आँधीले नेपाली समय अनुसार दिउँसो सवा तीन बजे ल्यान्डफल गरेको थियो । त्यसपछि आएको भीषण आँधीबेरीले सार्वजनिक जीवन अस्तव्यस्त पारेको हो । आँधीलाई मध्यनजर गर्दै जापान मौसम विज्ञान एजेन्सीले टोकियो आसपासका १२ प्रिफेक्चरमा “आकस्मिक मौसम चेतावनी लेभल ५” जारी गरेको थियो । त्यस्तै ८ प्रिफेक्चरका ९ लाख भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि अपिल गरिएको थियो ।

आँधीका कारण लगभग चार लाख परिवार विद्युत उर्जाबाट वञ्चित भएका छन् भने टोकियोमा सधैं व्यस्त रहने सडक र बजार बन्दप्राय छन् । ८ सय भन्दा बढी हवाई उडान रद्द गरिएका छन् भने बुलेट ट्रेनहरु सुचारु भइसकेका छैनन् । टोक्यो मोनोरेल र केइक्यु रेलवे भने सुचारु भएको छ । सहर आसपास बग्ने ९ नदी मध्ये ६ नदी खतराको सुची भन्दा माथि बगेका छन् । नदीमा अत्यधिक पानी बगेपछि बाढीबाट रोक्न ३ बाँंध खोलिएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले आँधी प्रभावितलाई सहयोग गर्न सरकारले आकस्मिक टास्कफोर्स खडा गर्न लागेको जनाएका छन् । उनले आइतबार बिहान विपतसँग सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरेका छन् भने प्रहरी, कोस्ट गार्डका अधिकारीसहित २७ हजार सेल्फ डिफेन्स फोर्सका जवानहरु खोजी र राहतका लागि खटाइएको पनि जनाएका छन् ।

आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ । नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरुले बताएका छन् ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसहरुले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button