कास्कीमा ४ महिनामा ३८ सवारीसाधन दुर्घटना, १५ जनाको ज्यान गयो

पोखरा न्यूज – ०४, मंसिर । पोखरा लगायत कास्कीमा पछिल्लो चार महिनाको अवधिमा  ३८ वटा सवारीसाधन दुर्घटनामा  परेका छन् । आर्थिक बर्ष २०७६/०७७ को कार्तिक मसान्तसम्म भएका  सवारी दुर्घटनामा  १५ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक सन्तोष रोक्काका अनुसार उक्त सवारी दुर्घटनामा परी २९ जना गम्भिर घाइते भएका छन् भने ९ जना सामान्य घाइते भएका छन् ।  मादक पदार्थ सेवन गरी सवारी चलाउदा कास्कीमा ९ वटा सवारीसाधन दुर्घटनामा परेका छन्  ।

कार्तिक मसान्तसम्म कास्कीमा ३६ वटा मोटरसाइकल,३ वटा ट्रक-ट्याङकर, २ वटा टिपर, ३ वटा बस, २ वटा माइक्रोबस, १२ वटा जिप-कार, २ वटा साइकल, १ ट्याक्टर दुर्घटनामा परेको कार्यालयले जनाएको छ । यो अवधिमा सवारी दुर्घटनामा  ४ वटा छाडा चौपाया समेत मरेको प्रहरी निरीक्षक रोक्काले बताए ।

कोहलपुर बाँकेबाट हालै सरुवा भई आएका प्रहरी निरीक्षक रोक्काले पोखरासहित कास्कीमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नुपर्ने बताए । यस अघि कास्कीमा रहेका प्रहरी निरीक्षक मुराहरी मिश्र महानगरीय ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका छन्।

आर्थिक बर्ष २०७६/०७७ को पहिलो चौमासिक (कार्तिकसम्म) मा कास्कीमा ट्राफिक नियम उल्लंघन गर्ने २२ हजार ७ सय वटा सवारी साधनहरु कारवाहीमा पर्दा १ करोड ७४ लाख ४६ हजार रुपैया राजश्व संकलन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button