तनहुँको पर्यटकीय गन्तव्य मानहुँकोटमा जग्गा विकास कार्यक्रम

कृष्ण न्यौपाने, पोखरा न्यूज -०७, मंसिर । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ । मानहुँमा रहेका जग्गालाई एकीकृत गरी व्यवस्थितरुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा विकास कार्यक्रमलाई अगाडि बढाएको हो ।

मानहुँको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागू गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए  । मानहुँमा बाहिरका व्यक्तिले जग्गा किनेर आफ्नो ढङ्गले व्यवस्थापन गर्न लागेपछि नगरपालिकाले नै व्यवस्थित ढङ्गबाट जग्गाको विकास गर्न आवश्यकता खड्किएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

“मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किन्ने क्रम बढ्दै गइरहेको छ”, नगरप्रमुख न्यौपानेले भने, “त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गालाई व्यवस्थापन गर्न खोजेका हौँ ।” नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भएपनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकाले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताए  ।

नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यास नगरपालिका–५ पतेनीटार, व्यास नगरपालिका–६ शिशाघाट, व्यास नगरपालिका–७ नरङ्गा फाँट र व्यास नगरपालिका–१० बैरेनी क्षेत्रमा विस्तार गर्ने जनाएको थियो । सोहीबमोजिम बैरेनी र शिशाघाटमा जग्गा विकास कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समिति गठन भइसकेको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए ।

जग्गा विकास कार्यक्रम लागू भएपछि व्यक्तिका सबै जग्गाको लालपूर्जा सरकारलाई बुझाउने र नयाँ नापीअनुसार जग्गा वितरण गरिनेछ । जग्गा विकास कार्यक्रमका लागि नगरपालिकाले आफ्नै एकाइ बनाएको छ ।

धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकाले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङसँग जोड्न प्रत्येक वर्ष म्याराथन प्रतियोगितासमेत हुँदै आएको छ ।

केही वर्षसम्म उजाड रहेको मानहुँकोट अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेकोले यहाँ जग्गा विकास कार्यक्रम लागू गर्न खोजेर नगरपालिकाले राम्रो कामको शुरुआत गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए  । “जग्गा विकास कार्यक्रमले मानहुँकोटको थप विकास हुने हो, यसका लागि स्थानीयवासी जागरुक बन्नुपर्छ”, वाग्लेले भने ।

गत वर्ष व्यास नगरपालिका–११ रानीगाउँमा जग्गा विकास कार्यक्रमका लागि प्रकृया प्रारम्भ गरेपनि स्थानीयवासीको विरोध पछि उक्त कार्यक्रम त्यहाँ स्थगित भएको थियो । स्थानीयवासीलाई कार्यक्रम बारे बुझाउन कठिनाइ भएको नगरपालिकाले जनाएको छ । जग्गा विकास कार्यक्रमका लागि उक्त ठाउँमा प्रारम्भिक अध्ययन समेत भइसकेको छ ।

जग्गा विकास कार्यक्रम सञ्चालनका लागि वडाध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा स्थानीयवासी, जग्गाधनी, टोल विकास संस्थाका पदाधिकारी सदस्य छन् ।

समितिमा सुरबहादुर थापा, केशरी थापा, मानध्वज थापा, शङ्कर थापा, डिल्लीराज थापा, झुलबहादुर थापा, देवकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, प्रेम राउत, विश्वराज खनाल, दुर्गाराज थापा, रेवती आले र कृष्ण न्यौपाने सदस्यको रुपमा रहनुभएको छ । पदाधिकारी भने समितिको बैठकले टुङ्गो लगाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button