मिनी ट्रक दुर्घटना हुँदा २ को घटनास्थलमै मृत्यु, ६ घाइते

पोखरा न्यूज – ०६, पुष । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर मिनीट्रक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए ।

मृत्यु हुनेमा सुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए  ।

घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले  बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button