पोखरामा भारतीय गाडीलाई रोक!

दीननाथ बराल, पोखरा न्यूज-०८ पुष । पोखराका पर्यटकीय गन्तव्यमा भारतीय पर्यटक गाडीहरुलाई आवत-जावत गर्न रोक लगाइएको छ । पोखराको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी हाल पोखरा आउने भारतीय सार्वजनिक सवारी साधनहरुलाई पोखराका पर्यटकीय गन्तव्यहरुमा आवत-जावत गर्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

भारतीय पर्यटक गाडीका कारण पोखराका पर्यटकीय स्थलमा सडक दुर्घटना हुने गरेको, भारतीय चालकलाई पोखराका पर्यटकीय स्थलको सडकको अवस्थाको बारेमा पूर्व जानकारी नभएको र स्थानिय व्यवसायीहरुलाई भारतीय गाडीको कारण प्रभाव पर्ने भएकोले गर्दा हाल ट्राफिक व्यवस्थापन गर्ने उद्धेश्यले भारतीय गाडीलाई पर्यटकीय गन्तव्यमा आवत-जावत गर्न रोक लगाउने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

उनले भने “भारतिय सार्वजनिक गाडी निश्चित गन्तव्यमा आएपछि उनीहरुलाई स्थानिय व्यवसायीहरुसंगको सहकार्यमा आफ्नो पर्यटकीय स्थलहरुमा घुमघाम गर्नुपर्ने छ । ” निश्चित ठाउँमा भारतिय गाडी पार्किङ गर्ने गराउने भन्ने बिषयमा ट्राफिक र यातायात व्यावसायीसंग निर्देशन समेत दिएको प्रजिअ केसीले जनाए । नेपाल भ्रमण बर्षको अवसरमा पोखरामा धेरै पर्यटक आगमन हुने हुँदा  हाल पोखराको ट्राफिक व्यवस्थापनलाई सहज पार्ने पहिलो प्रयास स्वरुप यो अभियान शुरु गर्न लागेको उनले जनाए ।

पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले केही समय अघि पोखरामा ट्राफिक जाम तथा सडक दुर्घटना न्यूनिकरण गर्ने भन्दै कास्की प्रशासनलाई भारतिय गाडीहरुलाई पोखराका पर्यटकीय गन्तव्यमा जान रोक लगाउन माग गरेको थियो । भारतीय गाडीका कारण पोखरामा केही समय अघि सडक दुर्घटना त एउटा भारतीय गाडी माथि आगजनी समेत भएको थियो ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पोखराको सवारी साधनलाई व्यवस्थित पार्ने र सडक दुर्घटनालाई न्यूनिकरण गर्न तर्फ सबैसंग समन्वय गरी अघि बढ्नुपर्ने प्रजिअ केसीले जनाए । पोखरामा यातायातको धेरै समस्या रहेको उनले जनाए ।

पोखरा क्षेत्रको बाटो साँघुरो भएको हुँदा भारतीय गाडीहरुलाई यहाँको बाटो अनुसार चालकलाई सवारी हाक्न कठिन हुने र केही सडक जाम तथा दुर्घटना हुने हुँदा त्यसलाई न्यूनिकरण गर्न पोखराका पर्यटकीय गन्तव्यमा भारतीय गाडीहरु जानको लागि रोक लगाउनु उचित निर्णय भएको नाट्टा संघ गण्डकी प्रदेशका अध्यक्ष सन्तोस पोख्रेलले बताए ।

उनले भने “ भारतीय गाडीहरु सिधै पोखरा र पोखराका पर्यटकीय गन्तव्यमा जाने आउने गर्दा स्थानिय व्यवसायीहरुलाई समेत प्रभाव पर्ने अर्को तर्फ सडकमा हुने जोखिम पनि उत्तिकै हुने हुँदा निश्चित ठाउँ भन्दा अन्य ठाउँमा भारतीय गाडीलाई संचालन गर्न दिन हुदैन्।”

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक जितजंग कार्कीले प्रशासनबाट कार्यालयमा पत्र आएकोले पत्र अनुसार कान्वयन गर्ने तर्फ आफुहरु लाग्ने बताए ।

केही बर्ष अघि सामुदायिक सेवा केन्द्र बैदामले पोखराको लेकसाईड क्षेत्रमा रातिको समयमा कुनै पनि यात्रु बाहक बस तथा सवारी साधनहरु जथभावी पार्किङ गर्न नपाउने गरी निणर्य गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button