केही सातामा रत्न मन्दिर र हिमागृह खुल्ला हुन्छ : मन्त्री लम्साल

पोखरा न्यूज – १५, पुष । नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले केही साता भित्रै सर्वसाधारण र पर्यटकका लागि रत्न मन्दिर र हिमागृह खुल्ला हुने बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लम्सालले भ्रमण बर्षको अवसरमा रत्न मन्दिर र हिमागृह खुल्ला गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै नेपाल ट्रस्टले केही हप्तामा खुल्ला गराउने जनाए । उनले भने “ हामीले रत्न मन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी खुल्ला गराएरै छाड्छौं, यसको लागि संघिय सरकार र नेपाल ट्रस्टसंग कुराकानी भइ सकेको छ । ” नेपाल भ्रमण बर्षको अवसरमा उक्त रत्न मन्दिर र हिमागृह खुल्ला गरी आम सर्वसाधारण जनता सहित पर्यटकहरुको लागि खुल्ला गर्न खोजे पनि प्राविधिक कारणले हाल स्थगित भएको मन्त्री लम्सालले बताए ।

गण्डकी प्रदेशको राजधानि पोखराबाट पनि नेपाल भ्रमण बर्षको भव्य रुपमा शुभारम्भ गर्ने गरी तयारी गरिएको पनि लम्सालले बताए । उनले भने “ हाम्रो प्रदेशले सन २०१९ लाई प्रदेशको आन्तरिक भ्रमण बर्षको घोषणा गरेका थियौं, त्यसको समिक्षा हुदै नेपाल भ्रमण बर्षलाई प्रदेशबाट कसरी सहयोग पुर्याउन सकिन्छ त्यसको बारेमा चर्चा गरिन्छ । ” प्रदेशका पर्यटकीय गतिविधि सहित यहाँको कला संस्कृतिलाई समेटेर नेपाली, अगेंजी र चाइनिज भाषामा पुस्तक समेत प्रकासनको तयारी गरिएको मन्त्री लम्सालले जनाए ।

यसैबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि नेपाल भ्रमण वर्षको उद्घाटन हुने भएको छ । संघिय सरकारको निर्देशन बमोजिम गण्डकी प्रदेशमा पनि जनवरी एक तारिख अर्थात भोलि बुधबार पोखरामा विभिन्न जनजातिको झाँकी सहित पोखराको लेकसाइड स्थित बाराहीघाटमा एक समारोहका बीच उद्घाटन गर्ने तयारी गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

प्रदेशका अधिकांश जिल्लाको प्रतिनिधित्व हुने गरी विभिन्न जनजातिको कला संस्कृति झल्कने गरी कार्यक्रमको औपचारिक उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङबाट हुने भएको छ । दिउँसो २ बजे पछि पोखराको फिस्टेल गेट देखि शुरु भएको पन्चेबाजामा झाँकी सहितको र्याली गौरीघाट हुदै बाराहीघाटमा पुगेर उद्घाटन सत्रमा समापन हुने भएको छ ।

पोखरा महानगरपालिकाका ३३ वटै वडाबाट समेत नेपाल भ्रमण बर्षको अवसरमा भिजिट नेपाल २०२० लेखिएको लोगो अंकिल बेलुन उडाउने कार्यक्रम राखिएको नेपाल भ्रमण बर्ष २०२० गण्डकीका सहसंयोजक अग्नी कंडेलले बताए । प्रदेशका नयाँ पर्यटकीय पदमार्गको खोजी र पुराना पदमार्गको मर्मत संहारमा गर्नुपर्ने अबस्था रहेको उनले जनाए । पोखराका फेवा, बेगनास, रुपा लगायतका ९ वटा तालको संरक्षण र तालमा जान आउनको लागि यातायाताको कनेक्टिङ गर्ने सहसंयोजक कंडेलले जनाए ।

उक्त उद्घाटनको अवसरमा पन्चे बाजा सहित लिम्बु, पुन, गुरुङ, मगर लगायतका समुदायको नृत्यको साथमा कौडा, घाँटु, थाल, लठ्ठी, कृष्ण चरित्र, तायाः मचा नृत्य प्रस्तुत गरिने भएको सांस्कृतिक संयोजक गणेश भट्टराइले बताए ।  जनवरि एक तारिख (बुधबार) काठमाण्डौंको दशरथ रंगशालामा भव्य कार्यक्रमका बिच राष्ट्रपति बिद्या देखि भण्डारीले भ्रमण बर्षको उद्घाटन गरेसंगै हरेक प्रदेशमा पनि बुधबार नै प्रदेशबाट भ्रमण बर्षको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button