हिमाल नियाल्न तनहुँको मानहुँकोट जाने कि ?

पोखरा न्यूज- १६, पुष । हिमालको मनोरम दृश्यावलोकनका लागि दमौलीवासीलाई पोखरा वा अन्यत्र धाउनुपर्दैन । तनहुँको सदरमुकाम दमौलीबाट नजीकै रहेको मानहुँकोटबाट आँखै अघि पाँच हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट हिमालको मनोरम शृङ्खला देखिने भएकाले भ्रमण वर्षमा हिमाल हेर्नका लागि मानहुँकोट उपयुक्त गन्तव्य हुने देखिएको छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

जाडो मौसम भएको र मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै मानहुँकोट पुग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । “दमौली बजारमा दिउँसो १२ बजेसम्म घाम लाग्दैन तर मानहुँकोटमा बिहान ७ बजे नै घाम लागिसक्छ,” उनले भने, “बिहानै हिमाल पनि खुल्ने भएकाले हिमालको दृश्यावलोकनका लागि पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।”

वडाध्यक्ष श्रेष्ठका अनुसार भ्रमण वर्षलाई लक्ष्य गरी वडाले ‘हिमाल हेर्न मानहुँकोट जाऔं’ अभियान सञ्चालन गरेको छ । भ्रमण वर्ष सफल पार्नु सबैको दायित्व भएकाले वडाले पनि यस अभियानलाई सफल पार्न धेरैभन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए ।

मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । मानहुँकोट खाजाघरकी सञ्चालिका रेवती आलेले शुक्रबार र शनिबारबाहेक दिनमा मात्रै मानहुँकोटमा दैनिक दुइतीन सय आन्तरिक पर्यटक आउने गरेको जानकारी दिइन  । उनका अनुसार शुक्रबार, शनिबार र बिदाका दिन मानहुँकोटमा दैनिक पाँच/छ सय पर्यटक पुग्ने गरेका छन् ।

मानहुँकोटबाट दमौली बजारलगायत आसपासका क्षेत्र छर्लङ्ग देखिन्छ । जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने व्यास नगरपालिका–३ का विनय शाहले बताए  । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि शुरु भइसकेको छ । सङ्घ सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै शुरु हुने बताइएको छ । सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे ६ किमी बाटो कालोपत्रेका लागि काठमाडौं स्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button