पोखरामा ‘मास्टर्स क्लास विथ अनुप बराल’ मार्फत अभिनय सिक्ने अवसर

राजाराम पौडेल, पोखरा न्यूज – १७, पुष । नेपाली रंगमञ्च र चलचित्रमा स्थापित बनेको व्यक्ति हुन् अनुप बराल । अनुपले आफ्नै जन्म ठाउँ पोखरामा कलाकारिता क्षेत्रमा अगाडी बढ्न चाहनेहरुको लागि अभिनय कला सिकाउँदै छन् । पौष १८ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुरु हुने अभिनय कार्यशाला ३ महिना अवधिको हुनेछ । पोखरामा हुने ‘मास्टर्स क्लास विथ अनुप बराल’को लागि फाराम वितरण भइरहेको छ । फाराम भर्नको लागि पोखरा ग्रैहापाटनमा रहेको पोखरा थिएटरमा सम्पर्क राख्न सकिनेछ ।

पोखराबाट आफ्नो रंगमञ्चको यात्रा अगाडी बढाएका उनले आफ्नो जन्मस्थलमै कलाकारितामा क्षेत्रमा अगाडी बढ्नेहरुको लागि सहजता प्रदान गर्न यो कार्यशाला गर्न लागेका हुन् । भारतको नेशनल स्कुल अफ ड्रामा बाट अध्ययन गरी आफुमा निखारता थपेका अनुपले एक्टर्स स्टुडियो मार्फत काठमाण्डौमा आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका थिए । पोखरामा कार्यशाला हुँदा उनीसँग अभिनय सिक्ने रहर भएकाहरुको काठमाण्डौ जानुपर्ने बाध्यता पनि हटेको छ ।

उनी रंगमञ्च र चलचित्रमा खारिएका व्यक्ति हुन् । अनुपले आफैले निर्देशन गरेका २ घण्टा भन्दा लामा नाटक ३२, ३३ वटा पुगिसके । साना नाटकहरु त्यतिनै संख्यामा गरेका छन् । सडक नाटकहरु त हजारवटा भन्दा बढी गरिसके । त्यतिमा नभएर कलकारिता क्षेत्रमा अगाडि बढ्न खोज्ने धेरै कलाकार उनको सहजिकरणमा जन्मिएका छन् ।

हालसम्म आफुसँग अभिनय सिक्नेहरुले दिने प्रतिक्रिया सकारात्मक भएकाले अगाडी बढ्न जोश थपिएको अनुप बताउँछन् । ‘एकदमै राम्रो छ, पहिला शुरुवातमा पोखराबाटै गर्दा ६, ७ जना मात्र हुन्थे, अहिले अडिसन गरेर छान्नु पर्छ, विद्यार्थीलाई, पहिला पैसा पनि कम थियो । अहिलेमहिनाको ४०, ५० हजार तिर्न पनि गाह्रो छैन, किनकी त्यसको बाटोहरु देखे । एक्टर्स स्टुडियो आउने फ्लो चाहि डरलाग्दो गरी बढकोनै छ ।’ उनले भने ।

अनुपको पोखरामानै आर्ट हब खोज्ने योजना छ । अनुपसँग नेपाली चलचित्रतर्फको समेत अनुभव छ । कार्यशालामा कलाकार दिया मास्केले पनि सहजीकरण गर्नेछन् । कार्यशालालेनै कलाकारमा निखारता थप्ने भएकोले सहभागी बन्न सबैलाई अनुपको आग्रह छ । एक्टर्स स्टुडियो नेपालले काठमाण्डौमानै गर्दै आएको तीन महिना कार्यशालानै यो भएकोले अभिनय सिक्न खोज्ने कलाकारलाई सहज बन्ने उनको बुझाइ छ ।

तीन महिना अवधिभर कार्यशालामा सहभागी हुनेहरुलाई सहजिकरण गर्न अनुप आफै खटिनेछन् ।  अनुपसँग पोखरामानै लामो अवधिको अभिनय कार्याशालामा सहभागी बन्न पाउनु पोखरेलीको लागि अवसर हुने सञ्चारकर्मी तथा प्राध्यापक समेत रहेका कलाकार विष्णु गौतम बताउँछन् । ‘सिकाईले निखारता थप्ने हो, सिक्न छोड्नु हुँदैन, म पनि कार्यशालामा सहभागी बन्छु’ उनले भने ।

रंगकर्मी समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन यो कार्यशालालले कलाकारमा निखारता थप्न महत्वपुर्ण भुमिका खेल्ने बताउँछन् । ‘सिकाईले नै कलाकारलाई सही मार्गमा डोर्याउँछ, कार्यशाला पाखरेलीका लागि अवसर हो’ उनले भने । रंगमञ्च तथा कलाकारिता क्षेत्रमा लाग्न चाहने र लागिरहेका दुवैलाई यो कार्यशाला उपयोगी बन्ने उनको विश्वास छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button