पोखराबाट तानसेन साइकलमा सरर !

दीवस गुरुङ – २० , माघ ।  भनिन्छ, ‘हजार पुस्तकहरुबाट पाइने ज्ञान केवल एक यात्राले दिन सक्छ ।‘ त्यसमाथि, म परे यात्रा गर्न सौखिन मान्छे । मोनोटोनस स्यडुलबाट कहिलेकाहीँ मनलाई राहत दिलाउन म साइकल रै अवसरहरु पनि ।

बाटामा धेरै समस्याहरु आई पर्न सक्छन्यात्रामा निस्कन्छु । फुर्सद हुँदा लामै गन्तव्य तय गर्न रुचाउछु । त्यो पनि एक्लै । एक्लै यात्रामा निस्कदा जति चुनौती छ । उति नै धेरै आनन्द पनि  । हो, मलाई त्यही चुनौतीहरुसगँ जुध्न मन पर्छ । एकाधिकार हुन्छ हरेक निर्णयहरुमा एक्लै यात्रा गर्दा । वास्तवमा आफैँलाई बुझ्ने सुनौलो अवसर हो एकल यात्रा । थकाइ लाग्दा थकान मार्न पाइन्छ, धीतमरुन्जेल कतै घुम्न पाइन्छ ।  वास्तवमा भन्दा छुट्टै स्वतन्त्रता मिल्छ । साथीहरुसगँ कतै घुम्ने योजना बनाएँ, अन्तिम पलमा आएर केही न केही बाहनामा योजना विफल हुन्छ । त्यसैले त म प्राय एक्लै घुम्न रुचाउँछु । यसपालि भने तानसेन बजार, पाल्पासम्म पुग्ने भएँ साइकलमा ।

पोखराबाट करिब १२० कि.मी. को दुरीमा छ तानसेन बजार । जाडो मौसम बिहानै निस्कने भनिए पनि अबेर आठ बजे मात्र म पोखराबाट निस्किएँ । राजमार्गको बाटो साइकलमा बढी नै चुनौती हुन्छ, झन सिदार्थ राजमार्ग बढी नै । घुमाउरो अनि साघुरोँ बाटो, उस्तै जोखिमयुक्त । करिब एघार बजे मात्र पुतली बजार पुगेँ । खाना खाएर साइकलिङ गर्न अफ्ठ्यारो हुने सोचले खाजा खाएर उकालो बाटो लाग्दै वालिङ बजार पुगेँ । चिटिक्क परेको बजार हो, वालिङ बजार । “कल्चर, एडभेन्चर एण्ड नेचर” थिम लिएर ओन्डरफुल वालिङ पर्यटन प्रवद्धनमा लागिरहेको छ ।

प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, र्याफ्टिङ जस्ता एडभेन्चर प्रोडक्टको फरक स्वाद चाख्न वालिङ एक पटक पुग्न जरुरत छ । अर्को पटक वालिङको डाँडाकाडा घुम्ने बाचा गर्दै म भने गल्याङ कटेसगैँ ओरालो बाटो पछ्याउदै राम्दी पुगेँ । स्याङजा र पाल्पाको सिमाना राम्दीबाट पाल्पा सम्म भने करिब १८ कि.मी. पुरै उकालो बाटो । थाकेको ज्यान, कहिले साइकल ठेल्दै त कहिले दो¥याउदै अघि बढ्नुको विकल्प थिएन । जाडो याम पाँच बजे नै अध्यारो हुन लागेको थियो । म भने टर्च बाल्दै अघि बढेँ । पाल्पाबाट विज्ञान दाई बाटो सम्म मलाई लिन आउनु भए पछि भने यात्रा अलि सहज भयो । अबेर आठ बजे तानसेन पुग्दा पनि तानसेन झिलिमिली नै थियो । खाना खाएर कति बेला भुसुक्कै निदाइएछ पत्तै भएन ।

दोस्रो दिन हाम्रो यात्रा लामो थियो । योजना थियो – पाल्पाको रानीमहल, स्याङ्जाको आलमदेवी मन्दिरको दर्शन गरेर गुल्मी रिडी बजार पुग्ने । बजारबाट साइकलमा करिब आधा घण्टा उकालो लागेपछि बतासे डाँडा पुग्यौं । उस्तै चिसो बतास चल्दो रैछ त्यहाँ, नामै बतासे डाँडा । मौसम खुल्दा यहाँबाट देखिने मनोरम दृश्य नियाल्दाँको मज्जा छुट्टै हुन्छ, विज्ञान दाईले बताउनुभयो ।

बतासे डाँडाबाट रानी महल सम्मको करिब तेह्र कि.मी. पुरै ओरालो बाटो । दुई वर्ष अघि लुम्बिनी मेडिकलका साथीहरुसगँ कच्ची बाटो पछ्याउदैँ पैदल रानी महल पुगेको सम्झना ताजै थियो । अहिले त करिब छ कि.मी बाटो पिच र बाकीँ ग्राभेल भइसकेको रहेछ । करिब १ घण्टाको ओरालो राइडको मज्जा लिदैँ हामी रानीमहल पुग्दाँ त्यहाँ विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । साइकललाई महलसम्म उचालेर दुई चार फोटो खिच्यौं ।

चट्टानै चट्टानले निमित्त पहाडको काखमा उत्तरवाहिनी कालीगण्डकी नदीको किनारमा अवस्थित दरबारले करिब एक सय छबीस वर्षको इतिहास मात्र बोकेको छैन । यसले त्यति बेलाको युयानी शैली र कलाकृतिलाई पनि अहिलेसम्म जीवन्त बनाएर राखेको छ । सच्चा प्रेमको प्रतीक मानिने रानीमहल वि.सं. १९५० मा पाल्पा गौडाका प्रधान सेनापति खड्ग शमशेरले आफ्नो दिवंगत रानी तेजकुमारीको सम्झनामा बेलायती इन्जिनियर झिकाएर बनाएका थिए ।

नेपालको ताज महलको उपनामले प्रसिद्ध यस दरबार क्षेत्रभित्र पानीपोखरी, कलश, बगैँचा, पार्क अनि शिवलिंग रहेका छन् । कोही बाल्कोनीमा सेल्फीमा मस्त थिए त कोही सामुहिक तस्वीरमा । १९६० ताका खड्गशमशेरले श्री ३ पद कब्जा गर्ने षडयन्त्र गर्यो भन्ने कुरा थाहा पाएपछि श्री ३ चन्द्रशमशेरले पाल्पामा उनलाई सिध्याउन सेना पठाएका थिए । उनी त्यहाँबाट भागेर भारत पुगेपछि रानी महलको अवस्था जीर्ण अवस्थामा पुगेको थियो । पछि नेपाल सरकारले यसको रङरोगन गर्नुका साथै संरक्षणको कदम चालेको थियो । तर दरबार बाहिरी रुपमा जति आर्कषित छ, त्यति नै भित्री आवरण शुन्य र खल्लो लाग्न सक्छ ।

भित्री आवरण सजिसझावटमा पनि जोड दिने हो भने यो सायद प्रेमील जोडीहरुको लागि नेपालकै एक प्रसिद्ध गन्तव्य बन्छ भन्नेमा दुई मत छैन । खड्ग शमशेर र यस महल पछिको इतिहास बारे पर्याप्त फोटो सहितको जानकारी, सम्भव भए भिडियो प्रर्दशनी र प्राचीन महत्वका वस्तुहरुलाई संरक्षण गरी संग्रहालयका रुपमा पर्यटक माझ पस्काउने, त्यहाँ घुम्न आउनेहरुको लागि पर्याप्त खाना बस्नका लागि सुविधा सम्पन्न होटलको व्यवस्था र नियमित पाल्पादेखि महलसम्मको यातायात व्यवस्था गर्न सकिए पाल्पाको मात्र नभई नेपालकै एक प्रसिद्ध पर्यटकीय बन्न सकिन्छ । यस बारेमा सरोकारवालाको समयमै ध्यान जाओस् ।

करिब एक घण्टा दरबार बारे जानकारी बटुलेर हामी भने कालीगण्डकी माथिको झोलुंगे पुल तरेर स्याङ्जा जिल्ला लाग्यौँ । झोलुंगे पुलबाट देखिएको रानी महलको दृश्य अझ आकर्षक थियो । त्यस पछिको गन्तव्य स्याङ्जाको प्रसिद्ध आलमदेवी मन्दिर । पहिरोले बाटो बगाएकाले साइकल बोकेर गोरेटो बाटो पछ्याउदै अघि बढ्नुको विकल्प हामीसगँ थिएन । सुन्दर गाउँ अनि पहेलैँ झुलेका धानका खेतहरु लोभलाग्दा देखिन्थ्यो । बाटामा भेटिने गाउँलेहरुसगँ गफगाफ गर्दै अघि बढ्नुको मज्जा बेग्लै । बर्खाले गर्दा होला, त्यति प्रयोगमा नआएको जस्तो देखिन्थ्यो त्यहाँको बाटो । उकालो बाटो, थकान मार्दै करिब बाह्र कि.मी को बाटो तय गरेर आलमदेवी मन्दिर पुग्दाँ त्यहाँ छुट्टै रौनक थियो ।

बादल भित्र लुकामारी खेल्दै गरेका हिमश्रृंखलाहरु, वरिपरिका सुन्दर गाउँहरु नियाल्दा थकान बिर्सेको अनुभुति भएको थियो । त्यस दिन पन्चौली पुजा भएकाले नजिक गाउँका मानिसहरुको घुइचो थियो त्यहाँ । धार्मिक र पर्यटकीय महत्व बोकेको यस मन्दिरलाई नेपाल एकीकरण पश्चात शाहंवशीय तत्कालीन राजपरिवारले कूलदेवीका रुपमा पूजा गर्दै आएको कुरा त्यहाँका स्थानीयले बताए । आलमदेवीको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहँदै आएको छ ।

पछिल्लो समय पूर्व राजकुमारी हिमानी शाहले आलमदेवीको दर्शन गरेकी थिइन्, आलमदेवी मन्दिर व्यवस्थापना समितिका सचिब चमनसिहं थापाले बताए । पर्याप्त प्रचारप्रसार र संरक्षण गर्न सकिए स्थानीय क्षेत्रको चौतर्फी विकासमा टेवा पु¥याउने कुरामा उनले जोड दिए । मन्दिर बारे जानकारी लिदैँ गर्दा हाम्रो खाजा तयार भइसकेछ । खाजा खाएर ओरालो बाटो पछ्याउदै हामी गुल्मीको रिडी बजार लाग्यौं ।

कालीगण्डकी तिरमा अवस्थित सुन्दर ठाउँ होे रिडी बजार । रिडी बजार अघाँखाची, तम्घास (गुल्मी सदरमुकाम), बुर्तिबाङ (बाग्लुङ) र पाल्पा जाने चौराहा हो । बस्न, खानाको लागि साना ठुला होटलहरु छन् यहाँ । बजार मास्तिर गलफुले ओडार भएको ठाउँमा रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले देवदत्त पार्क बनाएको छ । विज्ञान दाईको पछि लाग्दै म पनि साइकलमा उकालो लागेँ । ऋषि देवदत्त, रुरु कन्या र मृगहरुको प्रतिमा बनाइको त्यस क्षेत्र जति शान्त र शालिन थियो, त्यति नै सफा । ओडार पनि आकर्षक रहेछ त्यहाँको । झम्के साझ परिसकेको थियो । त्यसैले नेपालकै प्रसिद्ध धाम रुरु क्षेत्र घुम्ने योजनालाई भोलि थाति राख्दै हामी नजिकैको होटलमा बास बस्यौं ।

तेस्रो दिन बिहानै हामी खाजा खाएर त्यहाँबाट निस्कियौं । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थलमा अवस्थित छ रुरु क्षेत्र । युनेस्कोले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव गरिसकेको छ । नेपालबाट मात्र नभई भारतबाट पनि यस क्षेत्रमा पूजा – पाठ गर्न दर्शानार्थीहरु आउदाँ रहेछन् । विशेषता कात्तिक एकादशी, द्धादशी र माघे संक्रान्तिमा यहाँ ठुलो मेला नै लाग्दो रहेछ । उस्तै भक्तजनहरुको भीड हुदोँ रहेछ । यस क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व बारेमा त्यहाँका पीठाधिशसगँ जानकारी पनि लिने अवसर मिल्यो ।

त्यही नजिकैको कालीगण्डकी र रिडी नदीको संगम स्थलमा स्नान गरिए पाप पखालिन्छ भन्ने जनविश्वास रहेको छ ।
त्यसपछिको पुरै उकालो बाटो । उस्तै थकान अनि भोक । करिब बीस कि.मी. को उकालो बाटो करिब दुई घण्टामा हामीले छिचोल्यौँ अनि आइपुग्यौं भैरव मन्दिर । काल भैरवको दर्शन मात्र गरेनौं, त्यहाँ अवस्थित संसारकै ठूलो त्रिशुल अवलोकन गर्यौं । त्यहाँ आगोमा पकाइने विशेष प्रकारको रोटीले भोकाएको पेटलाई केही राहत दिलायो । सधैँ तीर्थालुहरुको भीड हुने यस मन्दिरमा मंगलबार र शनिबारमा विशेष पूजाहरु हुन्छन् ।

त्यसपछि हामी लाग्यौं श्री नगर डाँडातिर । मर्निङ वाक गर्नको लागि उपयुक्त रहेछ यो डाँडा । गर्मीयाममा त झन गर्मी छल्न यहाँ मानिसहरुको भीड नै हुदोँ रहेछ । सल्लाघारीको सुसेलीमा मन्त्रमुग्ध मात्र हुदैँनन्, आकाश खुल्दा लमतन्न हिमश्रृंखलासगैँ सुर्योदय अवलोकन गर्न बिहानै डाँडा उक्लदाँ रहेछन् घुम्न आउनेहरु । पोहोर सालमात्र यहाँ डाउनहिल साइकलिङ च्यामपियन आयोजना भएको थियो । यसै डाँडामा सिद्धीविनायक गणेशको मन्दिर रहेको छ । छेवैमा अग्लो बुद्धको मुत्ति पनि रहेको छ । भ्यु टावरबाट प्रष्ट देखिने तानसेन बजार, कुहिरोले ताल जस्तै देखिने माडी फाँट अनि वरपरको गाउँहरु पर्यटकहरु धीतमरुन्जेल नियाल्छन् । कोही क्यामरामा फोटो कैद गर्नमा व्यस्त थिए त कोही हृदयको अन्तरकुनामा । अझ पिकनिक सिजनमा त यहाँ मानिसहरुको भीड नै लाग्छ, टिकट काउन्टरका भाईले बताएँ । भ्यु टावर सगैँको पार्कलाई अझै व्यवस्थित गर्न जरुरत देखिन्छ । त्यहीँ केही क्षण सुन्दरतालाई नियाल्ने रहर हुदाँ हुदैँ पनि हामी भने तानसेन बजार फक्र्यौँ । बजार वरपर घुम्नलाई धेरै ठाउँहरु रहेको विज्ञान दाईले बताएसगैँ खाना खाएर हामी बजार घुम्न निस्कियौं ।

पृथ्वी नारायण शाहले नेपालको एकीकरण गर्नुपूर्व पाल्पा जिल्ला बाइसे चौबीसे राज्य मध्ये एक शक्तिशाली राज्य थियो । सेनवंशी र मगराँती पृष्ठभूमि बोकेको यस जिल्ला नेपालको एकीकरण पछि पनि प्रशासनिक, शैक्षिक र पर्यटन क्षेत्रमा अग्रगामी स्थानमै रहेको छ । हो, यसै जिल्लाको सदरमुकाम हो तानसेन बजार । करुवाको लागि प्रसिद्ध जिल्ला पाल्पा, नगरपालिकाको प्राङ्गणमा रहेको बडेमानको करुवा देख्दा जो कोही आश्चर्यमा पर्छन् । नजिकै टुँडिखेल, तानसेन खेल मैदान पनि रहेको छ यहाँ ।

प्रसिद्ध पाल्पा दरबार छुटाउने कुरै भएन । वि.सं. १९८४ सालमा प्रताप शम्शेरले निमार्ण गरेको यस दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएपछि २०७१ सालमा ६ करोड ३१ साल रुपैयाँको लागतमा पुनःनिमार्ण गरिएको थियो । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस दरबारलाई भने २०७३ सालमा संग्रहालय घोषणा गरेर सर्वसाधारणलाई खुला गरिएको थियो । रातो र सेतो रङले पोतिएको भवन बाहिरी रुपमा जति आकर्षक छ, भित्र पुग्दा घुम्न आउनेहरुले खल्लो महसुस गर्छन् । अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाले घिउ तताउन प्रयोग गरेको ठूलो कराही, परम्परागत हलो, भोटेताल्चा, खुर्पेटी, मुङग्रो लगायतका सामग्री राखिए पनि ऐतिहासिक र पुरातात्विक महत्व भएका सामग्रीहरुलाई यहाँ संरक्षण गरेर राख्न सकेको छैन ।

दरबार छेवैको ऐतिहासिक महत्व बोकेको रणउजेश्वरी भगवती मन्दिरले पनि छुट्टै महत्व बोकेको छ । उजीरसिंह थापाले बनाएको यस मन्दिर वि.सं. १९९० सालको भुकम्पले भत्काए पश्चात पुर्नःनिमार्ण गरिएको थियो । आफ्नो फौजले तत्कालीन समयमा जीतगढीमा अङ्ग्रेज फौजलाई हराउन सके यस मन्दिरको निमार्ण गर्ने भाकल पूरा भएपछि उनले यस मन्दिर बनाएका थिए । यसैको सम्झना स्वरुप हरेक वर्ष भाद्र कृष्ण नवमीको दिनमा भगवती जात्रा सगैँ विशाल रथयात्रा निकालेर बजार परिक्रमा गरिन्छ ।

अर्को आकर्षणको केन्द्र भनेकै नारायण स्थानमा अवस्थित अमरनारायण मन्दिर । सुन्दर बगैँचा र प्राचीन पानीको मुहान नजिकै रहेको यस मन्दिर वि.सं. १८६३ मा अमरसिहं थापाले निमार्ण गरेको कलात्मक विम्व हो । प्यागोडा शैलीमा निर्मित यस मन्दिरमा प्रयोग गरिएका काठहरुमा विभिन्न मुद्रामा कामक्रीडा तस्वीरहरु अंकित गरिएका छन् ।

तानसेन पुगेर छुटाउनै नहुने तानसेनको मुल ढोका । पाल्पा दरबारको उत्तरपट्टि अवस्थित यस ढोका नेपालकै सबैभन्दा ठूलो बग्गी ढोका रहेको मानिन्छ । त्यहाँ पुग्दा जो कोही अचम्ममा पर्छन् बडेमानको ढोका देख्दा । ढोकाको अगाडि उभिदाँ हामी त कमिला जस्ता देखिने । दुई चार फोटो खिचेर छेवैमा अवस्थित शितलपाटी (गोलघर) पुग्यौं । अष्ठभुज आकारको मुगल शैलीमा बनाइएको यस पौवालाई जंगबहादुर राणाले करिब एघार वर्ष आफ्नो कार्यलयका रुपमा प्रयोग गरिएको थियो भन्ने बुझिन्छ । अहिले आएर मानिसहरुको जमघट र स्थानिय कार्यक्रम हुने थलोको रुपमा यस ठाउँ प्रसिद्ध छ ।

पाल्पा आएर चुकौनी र बटुक नचाखेँ सम्म यात्रा अपुरै रहला । हामी साइकलमा ओरालो लागेर बर्तुङ पुग्यौं । अमिलो चुकौनी अनि बटुक चाखेर सिद्धाथ राजमार्ग पछ्याउदैँ प्रभास पुग्यौं । प्रभास ताल पौराणिक महत्व भएपनि जीर्ण अवस्थामा देख्दा मन कताकता अमिलो भयो । कमलका फूलहरु फुल्ने हुँदा यसलाई कमलपोखरी पनि भनिदोँ रहेछ । यही मेसोमा ताल छेवैमा अवस्थित लुम्बिनी मेडिकलमा अध्ययरनरत साथीहरुलाई पनि भेट्ने अवसर मिल्यो । लुम्बिनी मेडिकल कलेज, पाल्पा जिल्ला अस्पताल अनि युनाइटेड मिसन अस्पतालले यहाँ राम्रो स्वास्थ्य उपचार दिइरहेको छ ।

पाल्पा धीत मरुन्जेल घुम्ने सपना अधुरै रह्यो यसपालि पनि । पूर्वी पाल्पाको ताहूमा रहेको रम्भादेवी मन्दिर, रामपुरको तालपोखरा, तानसेन देखि ३० कि.मी. दक्षिणमा अवस्थित सत्यवती ताल, माण्डब मन्दिर माडी, सिद्धपानी गुफा, सिद्धेश्वर गुफा, भुत खोलाको आर्कषक झरना जस्ता महत्वपूर्ण गन्तव्यहरु अर्को पल्ट घुम्ने बाचा गरेर म अर्को दिन पोखरा फर्के ।

जय साइकल । जय पर्यटन ।

नोट : युवा साइकल यात्री गुरुङ समसामयिक विबयवस्तुमाथि कलम पनि चलाउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button