गुल्मीको ऐतिहासिक बम्घाकोट, बस्ने गर्थे भुरे राजा

पोखरा न्यूज – १९ , माघ । गुल्मीमा एउटा ऐतिहासिक कोट छ । बम्घाकोट !  जहाँ बाइसे चौविसे राज्य हुनु भन्दा अघि  भुरे राजाले राज्य गर्ने गरेको स्थानीय बताउँछन् । तर ऐतिहासिक महत्त्वको बम्घाकोटमा अहिलेसम्म पुरातात्विक अध्ययन अनुसन्धान भने हुन सकेको छैन ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको थालनी गर्नु अघिसम्म नेपाल टुक्राटुक्री राज्यमा विभाजित थियो । बाइसे चौविसे राज्यलाई गाँभेर सिंगो नेपाल राज्य बनाउनु अघिसम्म पनि नेपालमा सानाठुला राज्यहरु भएको विज्ञहरु बताउँछन् । तोकिएको भेगमा मालपोत उठाउने, सो भेगलाई सुरक्षा दिने काम भुरे राजाहरुको हुन्थ्यो । तिनताका राजाले प्रयोग गर्ने गरेका बन्दुकको नाल, खुँडा, तरबार उक्त कोटमा अझैसम्म सुरक्षित छ । राजाको दरबार छाउन प्रयोग गरिएका झिँगटीका टुक्राटाक्री पनि सो स्थानमा भेटिन्छ । यस्ले पनि यो प्रष्ट हुन्छ कि सो स्थान ऐतिहासिक महत्वको छ ।

स्थानीय हिरा पल्लिका अनुसार बाइसे चौविसे राज्यभन्दा अघि उक्त कोटमा भुरे राजाले शासन गर्ने गरेको पाइए पनि कुन राजाले शासन गरेका थिए भन्ने पत्तो छैन । ‘हामीले धेरै बुढा पाकाहरुलाई पनि सोध्यौ । भुरे राजाहरुले यो ठाउँमा राज गर्थे भन्ने त सबैबाट आयो,’ उनले भने, ‘शासन गर्ने कुन चाहि राजा थिए पत्ता लगाउन भने सकिएन ।’ प्रदेश नम्बर ५ अन्तर्गतको रुरु गाउँपालिका-६ मा पर्ने बम्घा कोटमा एउटा राज्य थियो भन्ने आधार अरु पनि थुप्रो छन् । गाउँपालिकाका ४, ५ र ६ नम्बर वडाका अधिंकाश नाम पनि शासनसँग सम्बन्धित लाग्छन् ।

जस्तो कि : चौतारा˗प्रधानमन्त्री, सुलीडाडा˗मृत्युदण्ड दिने ठाउँ, बलेटक्सार˗सिक्का काट्ने ठाउँ, धोविघाट˗राजाको कपडा धुने धोवी बस्ने ठाउँ, रानीबास˗रानी बास बसेको ठाउँ आदि ।  दरबारहरु सुरक्षाका लागि पनि अग्लो स्थानमा बनाइन्थे । बम्घाकोट पनि अग्लो स्थानमै छ । यस अर्थमा पनि सो ठाउँमा दरबार थियो भन्ने अड्कल काट्न सकिन्छ । तर, सो स्थानमा राजै थिए भन्ने तथ्य भने फेला परेको छैन ।

सामाजिक खोजकर्ता मीनप्रसाद ज्ञवालीका अनुसार बम्घाकोटमा राज्य हुन सक्ने अनुमान गर्न सकिए पनि सार्वभौम राज्य नै भने थिएन । बाइसे चौविसे राज्य भन्दा अघि यो ठाउँमा खस राज्य थियो । खस राज्यको केन्द्र जुम्ला थियो । उनले अघि सुनाए खस राज्य पूर्वमा नुवाकोट, दक्षिणमा भारतको गंगानदी र उत्तरमा तिब्बतको खाडि प्रदेश पश्चिममा कुमाउ गढवालसम्म फैलिएको थियो । खस राज्यका राजा मल्ल जातिका थिए । खस मल्ल । भुरे राजाहरु पनि यिनै खस राज्य भित्रैका पर्छन् ।

भुरे राजाको अर्थ के हो ? हामीले सोध्यौं । बाइसे चौविसे भन्दा अगाडि ठुला राज्य हुँदाका मालपोत उठाउने अधिकार पाएका अधिकारी नै भुरे राजा हुन् । तिनीहरु वंशानुगत नै थिए उनले अघि थपे, भुरे राजाको अर्थ यही नै हो । भुरे राजाको अधिकार सिमा मालपोत उठाउने मात्र सीमित नभई  न्याय, निसाफ छिन्ने, कतैबाट आक्रमण भए त्यसको प्रतिरोध गर्ने सम्मको हुन्थ्यो । ‘तिनीहरुका लागि निश्चित क्षेत्र तोकिएको थियो, चार किल्लै तोकिएको थियो,’ उनले भने ‘उनीहरु शाह वंशिय राजाहरु जस्तै थिए । एक पछि अर्को गर्दै राजा हुन्थे ।’

बाइसे, चौविसे र भुरे राज्यमा अन्तर रहेको उनले सुनाए । ‘बाइसे चौविसे राज्य स्वतन्त्र राज्य थिए । नेपालभित्रैका राज्य भए पनि आफ्नै हिसाबले काम गर्थे,’ उनले भने । तिन ताका बाइसे चौविसे राज्यमा सबै अधिकार भए पनि सिक्का काट्ने अधिकार भने थिएन । उनले अघि सुनाए सिक्का उपत्यकामा मात्र काटिन्थ्यो । सिक्का मल्लहरुले मात्र काट्थे । तथापि सिक्का काट्ने प्रचलन भने प्राचीनकालदेखि नै सुरु भएको थियो ।

भुरे राजाहरु मल्ल राजाहरुले काटेकै सिक्का प्रयोग गर्थे ।  भुुरे राजाका छुट्टै सैन्य शक्ति भने हुदैन्थ्यो । उनले सुनाए परि आएको खण्डमा स्थानीयहरु नै सैन्य शक्तिको रुपमा प्रयोग हुन्थे । पुरातात्विक महत्वको सो ठाउँमा (बम्घाकोट) अहिले भने विभिन्न कम्पनीका टेलिफोन टावर छन् । करिब २० वर्ष अघि बनाइएका टावरले पनि दरबारका अवशेषहरु पनि नष्ट भएको ज्ञवालीले बताए ।

‘रानीले काटेको ढुंगा !’ बन्न सक्छ पर्यटकिय गन्तव्य

कोटको दक्षिण पश्चिममा एउटा ढुंगा छ । रानीले काटेको ढुंगा । झट्ट हेर्दा ढुंगा काटेकै जस्तो देखिन्छ । ढुंगाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा चिरिएको छ । स्थानीय किंवदत्ति अनुसार सो ढुंगा रानीले काटेकी थिइन । ‘राजा लडाईमा मारिए पछि रानीले धेरै बेरसम्म राजालाई कुरिछन्,’ स्थानीय हिरा पल्लिले भने, ‘कुर्दा कुर्दा अबेरसम्म पनि राजा आएनन् । बरु राजा नै मारिएको खबर आयो । राजा मारिएको रिसमा रानीले सिपाहीले बोकि राखेको तरबार झिकिछन्, ढुंगामाथि प्रहार गर्दा त ढुंगा नै काटिए छ ।’

पछि रानी सो स्थान छोडेर हिडिन् । अहिलेको रानीबास भन्ने ठाउँमा पुगेर बास बसिन् । कालान्तरमा सो ठाउँको नाम पनि रानीले बास बसेको हुनाले रानीबास रहन गएको उनले सुनाए ।

तर, प्रकृतिको उत्पति हुँदा त्यसरी नै भएको अनुमान गर्न सकिन्छ । सामाजिक खोजकर्ता ज्ञवाली भने प्रकृतिको उत्पति हुँदा त्यसरी नै उत्पति भएको हो । उनले अघि सुनाए युुट्युवमा अहिले पनि सर्च गर्दा ‘सेभेन्टिन मस्ट अनरियल रक फर्मेसन्स’ भन्ने टाइटलमा भिडियो देख्न सकिन्छ । जहाँ संसारका १७ वटा अनौठा चट्टानको बनौट देखाइएको छ ।
सोही रानीले काँटेको ढुंगा पनि संसारकै अचम्म लाग्ने १७ चट्टान मध्येमा केही कम्ति छैन । रानीले काटेको ढुंगा पनि त्यही चट्टान मध्येमा पर्न सक्छ । यस्ले पर्यटन प्रबर्द्धनमा थप टेवा पुर्याउन सक्छ ।

उक्त रानीले काटेको ढुंगाभन्दा केही तल पट्टि अर्को पनि ढुंगा छ । झट्ट हेर्दा सोही ढुंगाको आकार कुर्चिजस्तो पनि देखिन्छ । सोही ढुंगामा राजा बस्ने गरेको किंवदन्ती पनि छ । ढुंगालाई अहिले राजा बस्ने कुर्चिको नाम दिइएको छ । उक्त कुर्चि भन्दा तल पट्टि केही खालि जग्गा छ । सो जग्गामा भुरे राजाका सिपाहीहरुले सैन्य अभ्यास गर्ने गरेको जनविश्वास छ ।

करिब दुई दशक अघि अहिलेको शिला देवि मन्दिर भएको ठाउँमा दाहिने शंख भेटिएको थियो । दाहिने शंख स्थानीयले डरले यतिकै राखेका थिए । ‘केही हुने हो कि भनेर पनि चलाइएन, यसमा भगवानको अलौकिक शक्ति पो छ कि भनेर यत्तिकै छाडियो,’ स्थानीय राम पल्लिले भने । असली दाहिने शंख अहिले छैन । अरु नै कसैले चोरि सकेको छ । उनका अनुसार चोरले दाहिने शंख चोरेर अर्कै शंख राखिदिएछ । उनले अघि थपे कसले लग्यो थाहा भएन पछि जान्ने मान्छेसँग सोध्दा दाहिने शंख चोरेर गंगा शंख राखिदिए छन् ।

पाँच नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा

उक्त स्थानमा अहिले फुट ट्र्याक बनाउने काम भई रहेको छ । यस आर्थिक वर्षमा प्रदेश सरकारको ५० लाख सहयोगमा रानीले काटेको ढुंगा वरिपरी बार लगाउने र फुट ट्र्याक बनाउने काम भई रहेको रुरु गाउँपालिका ६ की वडाध्यक्ष बुद्धिमोती लामिछानेले जानकारी दिइन् ।

उक्त बम्घाकोटमा नवमी, पुर्णिमामा, चैते दसैंमा बलि दिइन्छ । अरु समयमा पनि पुजा पाठ भई रहन्छ । कोटको मुख्य मन्दिर भँगेर देवताको छ । भैरव मन्दिर र शिलादेवि गरि कोटमा जम्मा ४ मन्दिर छन् ।  कोटमा पुरातत्व विभागलाई बोलाएर अनुसन्धान गरेर उक्त स्थानलाई पर्यटकीय गन्तव्य बनाउनतर्फ लाग्ने वडाध्यक्ष लामिछानेले सुनाइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button