चैत ९ देखि नेपाल भित्रने अन्तर्राष्ट्रिय हवाई उडान स्थगित

काठमाण्डौ । सरकारले  चैत ९ गतेदेखि १८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाउने भएको छ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि १८  गतेसम्म नेपाल भित्रने अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरिएको जनाएका हुन् ।

प्रधानमन्त्री  ओलीले  सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान समेत गरेका छन्  ।

प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत  यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने समेत जनाएका छन्  ।

प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका छन्  ।यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने समेत  प्रधानमन्त्री ओलीले जानकारी दिए  ।

यस अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन प्रधानमन्त्री ओलीले आह्वान गरे  ।

बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button