म्याग्दीमा सङ्कटको बेला जनप्रतिनिधिको उदाहरणीय काम

गलेश्वर । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले देशैभरि लागू हुने गरी लकडाउन गरेपछि ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न तथा मजदूर वर्गलाई बिहान–बेलुकी खानेकुराको समेत समस्या हुन थालेको छ ।

गरिब र मजदूरको यही पीडालाई बुझेर म्याग्दीको एक गाउँपालिकाका वडाध्यक्षले गाउँकै हुनेखानेसँग चन्दा उठाएर रु एक लाखको खाद्यान्न खरिद गरी गरिब तथा मजदूरका परिवारलाई वितरण गर्ने अभियान शुरु गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमका वडाअध्यक्ष रेशम जुग्जाली (सबिन) ले आफ्नो वडामा रहेका कर्मचारी, शिक्षक र हुनेखाने परिवारका व्यक्तिसँग चन्दा सङ्कलन गरी गरिब तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेका छन ।

वडा कार्यालयको संयोजकत्वमा वडाध्यक्ष जुग्जाली (सुविन), स्थानीय पाँच युवा क्लब, समाजसेवी तथा विभिन्न स्थानीय सङ्घसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण देशमा गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री तथा हात धुने साबुन वितरण गरिएको हो ।

“कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको लकडाउनबाट प्रभावित वडाभित्रका अतिविपन्न दलित परिवार, बेसहारा गरिब वृद्धवद्धा र बालबालिका तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आइरहेका मजदुर परिवार गरी करिब ४५ घरधुरीलाई वडा कार्यालयको संयोजकत्व र स्थानीय युवा क्लब, समाजसेवी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा दैनिक उपभोग्य खाद्य सामग्री र हात धुने साबुन वितरण गरिएको छ”, वडाध्यक्ष जुग्जालीले भने ।

करिब ४५ घरधुरीलाई आगामी २५ गतेसम्म पुग्ने दैनिक उपभोग्य खाद्य सामाग्री सहयोग गरिएको सहयोगी संस्था हिराजित स्मृति युवा क्लबका अध्यक्ष प्रेमबहादुर जुग्जालीले जानकारी दिए । उनका अनुसार राहत सामग्री घरदैलोमै गएर वडाध्यक्षको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

अपरिचितलाई प्रवेश र गाउँलेलाई बाहिर जान निषेध

कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि लकडाउनको समयावधिभर बिममा अन्य गाउँबाट आउनेलाई गाउँमा प्रवेश निषेध गरिएको छ । त्यसैगरी अत्यन्त जरुरी कामबाहेक सामान्य कामका लागि गाउँलेलाई आफ्नो गाउँबाट बाहिर जानसमेत निषेध गरिएको छ । अध्यक्ष जुग्जालीले सावधानी र सतर्कता अपनाउन र लकडाउनको पूर्णपालना गर्न समेत सबैमा आग्रह गरेका छन ।

यी हुन् मनकारी व्यक्ति र सङ्घसंस्था

वडा कार्यालयको संयोजकत्वमा चलाइएको आर्थिक सहयोग सङ्कलन अभियानमा हीराजित स्मृति युवा क्लबले १५ हजार, हिमाली युवा क्लबले १५ हजार, बिमबाङ युवा क्लबले १५ हजार, जन्मभूमि युवा क्लबले १० हजार र ढुनोट युवा क्लबले रु पाँच हजार सहयोग गरेका छन् ।

यसैगरी वडाध्यक्ष जुग्जालीले रु पाँच हजार, समाजसेवी एवं मोना हङकङका पूर्वअध्यक्ष मनोज शेरपुञ्जाले रु १९ हजार र वडा सदस्य, किसानी माविका प्रअ, शिक्षक, तल्लो गाउँटोल सुधार समितिका अध्यक्ष, वडासचिवलगायतको सहयोग गरी करिब रु एक लाख बराबरको खाद्य सामग्री खरिद गरी वितरण गरिएको अध्यक्ष जुग्जालीले बताए  । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button