म्याग्दीमा कोरोनाको र्‍यापिड टेष्ट शुरु

म्याग्दी। म्याग्दीमा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) शुरु गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिएका देशबाट नेपाल आएका मानिसमा कोरोनाको सङ्क्रमण हुनसक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकामा कोरोनाको र्‍यापिड टेष्ट शुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरी गरिएको र्‍यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । जिल्लाको मालिका, धवलागिरि मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा समेत प्रवासबाट आएकाहरुलाई लक्षित गरी क्रमिकरुपमा र्‍यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । र्‍यापिड  टेष्टमा नेगेटिभ देखिए पनि मन्त्रालयको कार्यविधिबमोजिम नमूनाका रुपमा छ जनाको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश सरकार मातहतको परीक्षण केन्द्रमा पठाइएको छ ।

बेनीमा चैत यता आएकालाई १४ दिन नपुगेसम्मका लागि क्वारेनटाइनसमेतमा राखिएको थियो । क्वारेनटाइनमा बसेकामा स्वास्थ्य समस्या नदेखिए पनि सम्भावित जोखिमलाई आँकलन गरी ढुक्क हुनका लागि र्‍यापिड टेष्ट गरी कोरोना नियन्त्रण तथा रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए । म्याग्दीमा एक महिनामा प्रवासबाट करिब १ सय ४० जना भित्रिएको तथ्याङ्क सङ्कलन भएको छ । मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको टोलीमार्फत र्‍यापिड टेष्ट शुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै र्‍यापिड टेष्ट गर्ने तयारी गरेको छ । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । र्‍यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोनाको सङ्क्रमण भएको छैन । यसअघि बेनी अस्पतालबाट चार जनाको स्वाब परीक्षणका लागि पठाइएको भए पनि सबै जनाको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button