पोखरा उपत्यका छिर्ने मुख्य नाकामा कडाइ

पोखरा । पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ ।

वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे र कास्कीकै रुपा गाउँपालिकाका विभिन्न नाकामा नागरिकस्तरमा विशेष निगरानीका साथ लकडाउनलाई प्रभावकारी बनाउँदै विपन्न एवं असहायलाई राहत वितरण गरेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालनमा कठिनाइमा परेको परिवारलाई दैनिक जीविकोपार्जनमा परेको समस्यालाई दृष्टिगत गरी वडाले एक हजार ४ सय४६ परिवारलाई राहत वितरण गर्न लागेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार राहत वितरणका लागि वडाका मजुवा, लामेआहाल, नयाँबस्ती खहरेखोला, छुची, ठूलापाटन, गढी, लामपाटन, स्कूलटोल, खुदीखोला, राजाका चौतारा मालमुल, स्यानघारी, खोलाको छेउ, सातमुहाने, मालेपाटन, ढोडबेँसी र देउराली फेदीका विभिन्न स्थानमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थासँग सहकार्य एवं समन्वय गरिएको छ ।

प्रत्येक दुई परिवारका लागि २५ किलोग्राम चामल, दुई किलो दाल, एक–एक किलो केराउ र नुन, एक लिटर तेलको दरले राहत वितरण गरिएको उनले जानकारी दिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button