कोभिड-१९ को विपदमा तनहुँका राजनीतिक दलको साथ

कृष्ण न्यौपाने। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि तनहुँ जिल्लाका स्थानीय तहले शुरु गरेको अभियानमा  मुख्य राजनीतिक दलले साथ दिएका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि स्थानीय तहले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक सहयोग गर्दै स्थानीय तहको अभियानमा साथ दिएका हुन् ।

यसैक्रममा आँबुखैरेनी गाउँपालिकाले खडा गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा नेकपा गाउँ कमिटीले शुक्रबार रु एक लाख १७ हजार ७ सय १७ सहयोग गरेको छ । गाउँ कमिटी अध्यक्ष प्रेम तमुले उक्त रकम गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई हस्तान्तरण गर्दै विपद्को अवस्थामा नेकपा सधैँ जनताको साथमा रहेको बताए । गाउँपालिकाको प्रकोप कोषमा हालसम्म सबैभन्दा बढी सहयोग रकम नेकपाबाट प्राप्त भएको छ । “विपद्को अहिलेको अवस्थामा सबै राजनीतिक दल एकजुट हुनुपर्छ”, तमुले भने, “नेकपा सधै जनताको साथमा छ ।”

शुक्रबार नै गाउँपालिकालाई काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एक थान स्मार्ट इन्फ्रारेड इलेक्ट्रिक थर्मोमिटर प्रदान गरेका छन। यसअघि गाउँपालिकालाई काँग्रेसको भातृ संस्था नेपाल तरुण दल आँबुखैरेनी गाउँ समितिले रु एक लाख ११ हजार १ सय ११ सहयोग गरेको थियो । गाउँपालिकाका अध्यक्ष थापाले विपद्को परिस्थितिमा गाउँपालिकाभित्रका सम्पूर्ण वित्तीय सङ्घसंस्था, उद्योग, व्यवसायी तथा इच्छुक व्यक्तिलाई कोषमा सहयोग गर्न आग्रह गरे । गाउँपालिकाको प्रकोप कोषमा हालसम्म रु ४२ लाख ५० हजार ८ सय ९९ सहयोग सङ्कलन भएको छ ।

म्याग्दे गाउँपालिकाले खडा गरेको प्रकोप कोषमा नेकपा म्याग्दे गाउँ कमिटीले रु एक लाख ३९ हजार ६ सय ५५ सहयोग गरेको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष डिलबहादुर नेपालीले विपद्को अवस्थामा सहयोग गरेर पार्टीले संस्थागतरूपमा सामाजिक उत्तरदायित्व बहन गरेको नेपालीले बताए । उनका अनुसार उक्त रकम गाउँपालिकाका सातवटै वडाका पार्टी कमिटीमार्फत सङ्कलन गरिएको हो । उक्त कोषमा नेपाली काँग्रेस म्याग्दे गाउँ समितिले रु एक लाख ११ हजार ३ सय १६ सहयोग गरेको छ ।

यस्तै व्यास नगरपालिकाको प्रकोप कोषमा काँग्रेस व्यास नगर समितिले रु पाँच लाख सहयोग गरेको छ । काँग्रेस नगर समितिले १४ वटै वडाका क्रियाशील सदस्य, शुभेच्छुक, व्यक्ति, सङ्घसंस्थाबाट सङ्कलन गरेको उक्त रकम नगरपालिकालाई सहयोग गरेको नगर सभापति शान्तिरमण वाग्लेले जानकारी दिए। “काँग्रेस सुखदुःखमा सधैँ जनताको साथमा छ भन्ने सन्देश दिन र विपद्सँग जुध्नका लागि स्थानीय तहलाई सहयोग गरेका हौँ”, वाग्लेले भने ।

प्रविधिको प्रयोग गरेर नतिजा प्रकाशन

तनहुँको म्याग्दे गाउँपालिकाले प्रविधिको प्रयोग गरेर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको कक्षा ८ को परीक्षा गाउँपालिकाले प्रविधिको प्रयोग गरेर प्रकाशन गर्न लागेको हो ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि नतिजा प्रकाशनका लागि बाधा पुगेकाले वैशाख २४ गतेभित्र नतिजा प्रकाशन गर्ने गरी काम अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार लामो समयसम्म नतिजा प्रकाशित नहुँदा विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएकाले नतिजा प्रकाशन गर्न लागिएको हो । कक्षा ८ मा ३८२ विद्यार्थीले परीक्षा दिएका थिए ।

गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयलाई पनि कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न अनुरोध गरिएको छ । नागिलाका अनुसार सरकारले घोषणा गरेको बन्दाबन्दीको विधि र प्रक्रियालाई पूर्णरूपमा पालना गर्दै प्रविधिको माध्यमबाट नतिजा प्रकाशन गरी विद्यार्थीसमक्ष पुर्याउन आग्रह गरिएको छ ।

“बन्दाबन्दी अझै कति दिनसम्म रहन्छ भन्ने निश्चित छैन, लामो समयसम्म नतिजा प्रकाशन नहुँदा विद्यार्थी पनि अन्योल अवस्थामा छन्”, उनले भने, “सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई पत्राचार गरिसकेका छौँ ।” गाउँपालिकाअन्तर्गत ३५ विद्यालय छन् । जसमध्ये नौ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र २२ प्राथमिक विद्यालय छन् । “नतिजा प्रकाशन भएपछि विद्यालयले विद्यार्थी तथा अभिभावकलाई इमेल, इन्टरनेट, मोबाइलमार्फत नतिजाको जानकारी दिनेछन्”, उनले भने ।  -रास

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button