पोखरा लगायत गण्डकीका अस्पताले दिएको सेवाको दिनहुँ अभिलेख राख्दै अफिन

पोखरा । निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी प्रदेशले यस क्षेत्रका निजी अस्पतालले लकडाउनका समयमा दिएको सेवाको बारेमा निरन्तर रेकर्ड राखिरहेको छ ।

चैत्र  २६ गतेबाट अफिन गण्डकी प्रदेशले आफू मातहातका  निजी अस्पतालहरुले गरेको उपचार र सेवाको दिनहुँ  तथ्यांक राखेर गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय तथा प्रदेश स्वास्थ्य निर्देशनालय अभिलेख पठाउने गरेको अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

अध्यक्ष पालिखेले भने – “लकडाउन सुरु भएपछि चैत्र ११ गते देखि २५ गतेसम्म सम्बन्धित अस्पताल आफैले रेकर्ड राखेकोमा उपचार नगरेको भन्ने हल्ला चलेपछि २६ गतेबाट दिनहुँ अस्पतालहरुले प्रदान गरेको सेवाको बारेमा तथ्यांक राखेर अभिलेख मन्त्रालय तथा निर्देशनालयलाई पठाइरहेका छौं ।”

यस क्षेत्रका अस्पतालले चैत २६ देखि वैशाख २० गतेसम्म इमर्जेन्सीमा ३ हजार ४ सय ७५ जनालाई, ओपीडीमा ५ हजार ५ सय २४ जनालाई सेवा प्रदान गरेको पालिखेले जनाए । त्यसैगरी फिभर क्लिनिक सहित ल्याव तथा अन्य परीक्षणमा ५ हजार ९ सय ४१ जनालाई, १ हजार ८ सय ७६ भर्ना भएका बिरामीलाई अस्पतालहरुले सेवा प्रदान गरेको र अत्यावश्यक देखिएका ४ सय २६ जनाको अस्पतालमा  अपरेसन सम्पन्न  भएको  अध्यक्ष पालिखेले बताए ।

सो अवधिमा यहाँका अस्पतालले ७ सय ४९ जनालाई  एम्बुलेन्स सेवा प्रदान गरेको अध्यक्ष पालिखेको भनाइ छ । अध्यक्ष पालिखेले पोखराका २३ वटा निजि अस्पताल र प्रदेशका अन्य जिल्लाका अस्पतालले उक्त सेवा प्रदान गर्दै आएको जनाएका छन् ।

कोरोना संक्रमणका कारण सिर्जित लकडाउन पछी यहाँका अस्पतालहरुले प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध नगराएको भनि गुनासो सार्वजनिक भएपनि  कठिनाइका बीच अस्पतालहरुले नियमित सेवा प्रदान गरिरहेको अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button