आगामी आवमा अध्यापन शुरु गर्ने गरी गण्डकी विश्वविद्यालयलाई ४२ करोड ७५ लाख

पोखरा । आगामी आर्थिक वर्षमा अध्ययन/अध्यापन शुरु गर्ने गरी गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको लागि  ४२ करोड ७५ लाख रुपैया विनियोजन गरेको छ ।

सोमबार गण्डकी प्रदेशको  बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी विश्वविद्यालय अन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आर्थिक वर्षमा शुरु गर्ने गरी ४२ करोड ७५ लाख रुपैया विनियोजन गरिएको बताए ।

मन्त्री गुरुङले गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको पूर्वाधार विकास र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरे । सरकारले प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन शैक्षिक तालिम केन्द्रको लागी ७ करोड ९५ लाख रुपैया छुट्टयाएको उनले बताए ।

प्रदेश सरकारले  गुरुकुल, गुम्बा, मदरसा, भाषिक पाठशाला जस्ता वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा समेत  बजेट विनियोजन गरेको छ।

उच्च शिक्षा अध्ययनरत दलित, अल्पसंख्यक तथा गरिब विद्यार्थीलाई प्रदेश सरकारको आवश्यकताका क्षेत्रमा अनुसन्धान गर्न शोधवृत्तिको व्यवस्था गर्नुका साथै त्यस्ता विद्यार्थीलाई थप प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता  समेत दिएको छ ।

गण्डकी प्रदेश सरकारले न्यासिक परिषद्अन्तर्गत कुलपति रहने गरी गण्डकी विश्वविद्यालय गठन गरेको थियो । विश्वविद्यालय स्थापनाका निम्ति चालु आवमा  ९ करोड रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले प्राध्यापक गणेशमान गुरुङलाई कुलपति नियुक्ति गरिसकेको भएतापनि हालसम्म विश्वविद्यालय रहने  जग्गाको समेत टुंगो लागिसकेको छैन ।

नवनियुक्त कुलपति गुरुङले विश्वविद्यालय स्थापनाका निम्ति पोखरा–३२ स्थित  स्यालटारमा ७ सय ५० रोपनी र तनहुँको बेलचौतारामा ८ सय रोपनी जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको बताउदै आएका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button