तनहुँका युवाहरू मिलेर आइसोलेसनमा दूध सहयोग

तनहुँ। सदरमुकाम दमौली बजारका चार युवा मिलेर सोमबार आइसोलेसनमा बसेकाहरुका लागि दैनिक २० लिटरसम्म दूध व्यवस्थापन गरेका छन् ।

दमौलीका दुई स्थानमा स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका व्यक्तिको पौष्टिक आहारमा वृद्धि गराउने उद्देश्यले युवाहरूले एक महिनासम्म दूध उपलब्ध गराउने गरी व्यवस्थापन गरेका हुन् ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–३ स्थित व्यासगुफा नजिक स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका व्यक्तिका लागि दूध व्यवस्थापन गरिएको हो ।

आइसोलेसन कक्षमा रहेका व्यक्तिलाई उपचारका क्रममा पौष्टिक आहारको कमी नहोस् भनी असार १५ देखि साउन १५ सम्म एक महिनाका लागि चार युवाले दूध व्यवस्थापन गरेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

उक्त सहयोगका लागि नेपाली काँग्रेस तनहुँका सदस्य एवं खनाल कन्स्ट्रक्शनका सञ्चालक लक्ष्मीभक्त खनाल, नेविसङ्घ तनहुँका पूर्वअध्यक्ष वसन्तबहादुर आले र सुगम पेट्रोलपम्पका सञ्चालक महेश बताससहितले करिब रु दुई लाख बराबरको दुग्ध व्यवस्थापन गरेको उनले बताए। राज्यले तोकेको र दिँदै गरेको सुविधाभित्र दूध नपरेको देखेपछि चार युवा मिलेर सहयोग योजनाअनुरुप दूध व्यवस्थापन गरिएको युवानेता लक्ष्मीभक्त खनालले जानकारी दिए ।

जिल्लाभित्र स्थापना गरिएका आइसोलेसन तथा क्वारेन्टिनमा रहेका व्यक्तिलाई आवश्यकतानुरुप मास्क, खाजा, पानी र पौष्टिक आहारलगायतका आवश्यक वस्तु सहयोग गर्दै आएको उनले बताए।

आइसोलेसन कक्षमा रहेर उपचार गराउँदै आएका व्यक्तिको रोगसँग लड्न सक्ने क्षमता वृद्धि गराउन युवाहरुले गरेको सहयोग समाजका लागि उदाहरणीय रहेको आइसोलेसन कक्षका अहेब महेन्द्र गौतमले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button