पोखरामा २० रोपनी जग्गा भाडामा लिई डेढ करोड लगानीमा हाँस पालन

पोखरा । पोखराका दुई युवा व्यवसायीले लकडाउनको समयको सदुपयोग गर्दै व्यावसायिक रूपमा हाँस पालन शुरु गरेका छन् । पोखराको लेखनाथका ३८ वर्षीय विष्णुहरी न्यौपाने र ३८ वर्ष कै पोखरा १० शिव चोकका गुरु प्रसाद पौडेलले पोखरा २४ स्थित लौरुकमा डेढ करोडको लगानीमा व्यावसायिक हाँस पालन शुरु गरेका हुन् । शुभम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका न्यौपाने र पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष पौडेलले लकडाउनको समयमै संरचना समेत तयार पारेर वि जी एग्रो एण्ड ब्रिडिङ फार्म प्रालिको नामबाट व्यवसाय शुरु गरेका हुन् ।

कोरोनाका कारण सिर्जित लकडाउनमा साइक्लिङ गरेर लौरुक पुगेका न्यौपानेलाई उक्त स्थान मन् परेपछि पौडेललाई साथ् लिएर तत्काल संरचना निर्माण गरेर हाँसका चल्ला पालेको बताउँछन्। तीन महिना अघि प्रारम्भिक चरणमा एक हजार पाँच सय हाँसका चल्ला राखेर व्यवसाय शुरु गरेका उनीहरूले यो अवधि मै केही हाँस बिक्रीका लागि तयार समेत पारेका छन् । बिक्रीका लागि तयार भएका हाँस अहिले उनीहरूले फार्म र व्यक्तिगत सम्पर्कबाट आउनेलाई प्रति गोटा भाले हाँस दुई हजार पाँच सय र पोथी हाँस एक हजार पाँच सयका दरले बिक्री गरेका छन् भने फ्रेस हाउसलाई प्रति केजी जिउँदो सात सय पचासमा बिक्री गर्न थालेका छन् ।

“हामीले देशका विभिन्न स्थानमा पुगेर पन्ध्र सय हाँसका चल्ला सङ्कलन गरी पालेकोमा एक/दुई महिने ठुला सात सय चल्ला बिक्रीका लागि तयार भएका छन्,” सञ्चालक मध्येका न्यौपानेले भने, “पोखराका मुख्य बजार क्षेत्रका फ्रेस हाउसबाट तिनको बिक्रीको तयारी गर्दछौ।” उनले कुखुरा र खसीको मासुको तुलनामा हाँसको मासु स्वास्थ्यका लागि धेरै फाइदाजनक रहेको र हाँसको मासुले धेरै रोगलाई औषधिको काम गर्ने दाबी समेत गरे । हाँसको मासुले मुटु रोग, ढाडको समस्या, बिर्सने समस्या लगायतका रोगलाई औषधिको काम गर्ने बताउँदै न्यौपानेले हाँसको अण्डा बच्चा तथा वृद्धको लागि निकै उपयोगी हुने बताए ।

लौरुक बजार क्षेत्र नजिकैको २० रोपनी जग्गा १२ वर्षका लागि भाडामा लिएर हाँसका चल्ला पालिरहेका उनीहरूले ह्याचरी मार्फत चल्ला उत्पादनको तयारी समेत गरिरहेका छन् । एक दशक अघिदेखि कुखुरा पालन तथा पोल्ट्री व्यवसायमा सक्रिय रहेका उनीहरूले पोखरामा व्यावसायिक हाँस पालन सँगै व्यावसायिक रूपमै हाँसको चल्ला र दाना उत्पादन गर्ने तयारी गरेका हुन् ।

“पोखरामा हाँसको मासुको अभाव देखेर नै हामीले व्यावसायिक रूपमै हाँस पालन थालेका हौ,” न्यौपानेले भने, “पोखरामा व्यावसायिक हाँस पालनलाई वृद्धि गर्न हाँसको चल्ला र दाना उत्पादन गर्ने तयारी गरेका छौ।” कुखुराको तुलनामा हाँसले दुई तिहाइ दाना कम खाने भएकाले हाँस पालन गर्दा अन्न समेत बचत हुने उनले बताए । “हाँसले ७५ प्रतिशत आहारा आफैँ खोजेर खान्छ २५ प्रतिशत मात्र दानाको प्रयोग हुन्छ ,” न्यौपानेले भने, “ हाँसको दानामा मकै, पिना, बदामको धुलो जस्ता अर्ग्यानिक तत्त्व मात्र प्रयोग हुने र अन्य दानामा जस्तो यान्टिबायोटिक प्रयोग नहुने हुँदा मासु समेत स्वास्थ्यकर हुन्छ ।”

कोरोना कहरका बिच आफूहरूले व्यावसायिक हाँस पालन गरेको बताउँदै अर्का सञ्चालक पौडेलले उत्पादन पछिको प्रारम्भिक प्रतिक्रियाले सन्तुष्ट मिलेको बताए । “ हामीले देशमै तेस्रो लटको रूपमा पोखरामा मस्कोभि (चाइनिज पेकिङ हाँस पालन थालेका हौ,” पौडेलले भने, “ यसको मासु खाने उपभोक्ता सबैले खसीको मासु भन्दा बढी स्वादिलो भनेर प्रतिक्रिया दिनुभएको छ, हामी खुसी छौँ ।” हाँसको मासु स्वास्थ्यकर र स्वादिलो दुवै भएकाले बजार पाउन सहज हुने उनको तर्क छ ।

हाँसको अण्डा प्रति गोटा पचास रुपैयाँका दरले बजारमा बिक्री भइरहेको जनाउँदै पौडेलले हाँसको मासु फ्रेस हाउसलाई जिउँदो सात सय पचास प्रति केजीमा दिइएको र फ्रेस हाउसले आफ्नो सामान्य चार्ज जोडेर उपभोक्तालाई बिक्री गर्ने जनाए । यदि कसैले हाँस किन्न चाहेको खण्डमा ९८५६०३०८०० मा सम्पर्क गरेमा होम डेलिभरी समेत दिन सकिने उनले बताए । यो हाँस अन्य लोकल प्रजातिको भन्दा राम्रो र धेरै महिना पाल्नुपर्ने हुँदा उत्पादन लागत समेत बढी हुने भएकाले केही महँगो पर्ने र अण्डा पनि कम मात्र पार्ने भएकाले केही महँगो रहेको पौडेलको जनाए ।

फार्ममा अहिले लगानीकर्ता सँगै अन्य तीन जना कामदार खटिएका छन् । उनीहरूले दैनिक रूपमा फार्मका करिब १ हजार ५ सय हाँसलाई दानापानी राख्ने, चराउने र हाँसले पारेका अण्डा सङ्कलन गर्ने काम गरिरहेका छन् । फार्म मार्फत पाँच करोड लगानीमा थप बिस जनालाई रोजगार दिई दश हजार हाँस नियमित पाल्ने र दाना चल्लाको उत्पादनलाई निरन्तरता दिने सञ्चालक द्वयको लक्ष्य रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button