पोखरामा प्याराग्लाइडिङको सोलो उडान शुरु हुने

पोखरा । साहसिक खेलकुदको गन्तव्य पोखरा कोभिड–१९ को कहर पछि ठप्प छ । पोखराको सराङकोटबाट दैनिक हुने सोलो र टेन्डमका प्याराग्लाइडिङका उडान ठप्प भएपछि यसमा आश्रित ठुलो जनसंख्या यति बेला घरमा नै बस्न बाध्य भएका छन् ।

“कोभिड १९ का कारण ३ सय भन्दा बढी पाइलट र पोखरामा रहेका ६५ भन्दा बढी व्यवसायिक कम्पनीहरु बन्द छन्” नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले भने–“पर्यटकको एकदमै पिक आवरमा व्यवसाय बन्द संगै पाइलटहरु घरमा बस्न बाध्य भए ।” “पोखराको प्याराग्लाइडिङ इतिहासमा यति लामो समय बन्द भएको यो पहिलो पटक नै हो, यसबाट भएको क्षति पुरा गर्न हामीले निकै सचेतता अपनाउँदै अघि बढ्न पर्छ”, उनले भने ।

नेपाल सरकारले बुधबारबाट लक डाउन खुलाए संगै प्याराग्लाइडिङका पाइलट र कम्पनीहरु विस्तारै जुर्मुराउन थालेका छन । अव प्याराग्लाइडिङ खोल्न के गर्नुहुन्छ त भन्ने प्रश्नमा अध्यक्ष भण्डारी भन्छन- “यो चार महिना हामी मात्रै नभई संसारका लागि कहर नै भयो, अब बिस्तारै सोलो उडानबाट प्याराग्लाइडिङलाई गति दिने सोच बनाउँदै छौं ।” तर टेन्डम उडानका लागि भने कस्तो प्रकारको सुरक्षात्मक उपाय गर्ने बारे मन्त्रालय, पाइलट र व्यवसायीहरु संग सोधेर अगाडी बढाउने उनले बताए ।

“टेन्डममा दुई जना संगै उड्दा पक्कै पनि समस्या हुन सक्छ भन्ने विचार हो, तर यसका पनि सुरक्षाका उपाय हुन सक्छन्”, अध्यक्ष भण्डारी भन्छन्–“तर खुल्ने वित्तिकै पनि पर्यटकको आगमन कस्तो रहन्छ त्यसमा पनि निर्भर हुन्छ, तर खेलका गतिविधि बन्द नहोस भन्नका लागि सोलो उडानलाई नियमित गर्ने पक्षमा छौं ।” पोखराको हवाई खेलकुदलाई सुरक्षित र स्थायित्व प्रदान गर्न नाले लामो समय देखि प्रयास गर्दै आइरहेको र यसले पाइलट तथा व्यवसायीको हितमा सदैव ध्यान दिने उनले बताए ।

हवाई खेलकुदको अनुगमन संगै शुरक्षित उडानका लागि ना ले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्राधिकारिक संस्थाको रुपमा कार्य गरिरहेकोले पनि वार्षिक हवाई उडान शुल्कमा समेत ५० प्रतिशत छुट दिने मन्त्रालयले निर्णय गरेको ना का सल्लाहाकार समेत रहेका शैलेन्द्र राउतले बताए । “मन्त्रालयले गरेको यो निर्णय सकारात्मक छ” उनले भने–“अहिले समय निकै कठिन समय हो राज्यले हामीलाई पनि सम्झिएको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button