गण्डकी प्रदेश तेक्वान्दो संघ द्वारा खेलाडीलाई राहत वितरण

पोखरा । गण्डकी प्रदेश तेक्वान्दो संघले गण्डकी प्रदेशका ३८ जना खेलाडीलाई एक कार्यक्रमका विच राहत वितरण गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा संघले कोभिड १९ का कारण समस्यामा परेका खेलाडीलाई राहत वितरण गरेको हो । संघले ५ जिल्लाका ३८ जनालाई रु ३ हजारका दरले कुल १ लाख १४ हजार नगद प्रदान गरेको संघका अध्यक्ष जगन गुरुङले जानकारी दिएका छन ।

अमेरिका स्थित ‘इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनशिप’ (आइ.ओ.एफ.टि.सी) को ८० हजार सहयोग र कार्यसमितीका पदाधिकारीबाट संकलित रकमबाट खेलाडीलाई राहत वितरण गर्न सहज भएको अध्यक्ष गुरुङले बताए । उनले भने–“कोभिड १९ का कारण खेलाडी मात्रै नभई धेरै तेक्वान्दोका डोजाङ र प्रशिक्षकहरुलाई समेत समस्यामा छन, यो सानो सहयोगले खेलाडीलाई राहत पुग्नेमा विश्वास लिएका छौं ।”

खेलाडीलाई राहत वितरण गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नर देवी पुन मगरले यति वेला कोभिड १९ का कारण मन्त्रालयले सबै क्षेत्रमा ध्यान पुर्याउन नसकेको बताउँदै भनिन–“स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने भएकोले खेलकुदमा ध्यान पुग्न सकेको छैन, तर पनि हामी खेलकुद विकास विधेयक ल्याएर प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन प्रयास गर्दैछौ ।”

गण्डकी प्रदेश सभाको यहि अधिवेशनबाट प्रदेशको खेलकुद विकास विधेयक ल्याउनका लागि अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री पुनले प्रदेशको खेलकुद समिती गठन भए संगै प्रदेशको खेलकुद गतिविधिहरु रफ्तारका साथ अघि बढ्ने बताइन । “खेलकुद विधेयक आए संगै गण्डकी प्रदेशले देशकै खेलकुदको नेतृत्व गर्ने गरि अघि बढ्नेछ”, उनले भनिन ।

कार्यक्रममा मन्त्रालयका सचिब डा.राम प्रसाद घिमिरे समस्याका बेला वितरण हुने यस्ता राहतहरुले खेलाडीमा उत्साह जगाउने बताउँदै भने–“खेलकुद पदक जित्नका लागि मात्रै नभई अनुशासित र स्वस्थ्य जिवनका लागि पनि उत्तिकै महत्वपुर्ण छ ।”

सोअवसरमा संघका महासचिब रमेश पौडेल र कोषाध्यक्ष माइकल कर्माचार्यले समेत आइओएफटिसीलाई आभार व्यक्त गर्दै समस्यामा रहेका खेलाडी र प्रशिक्षकहरुलाई आगामी दिनमा पनि सहयोग जारि रहने बताए ।

स्मरणिय के छ भने कास्की जिल्ला तेक्वान्दो संघले हालै पोखरामा रहेका २३ वटा डोजाङका प्रशिक्षकहरुलाई समेत १०–१० हजारका दरले राहत वितरण गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button