दमौली-डुम्रे खण्ड दुईतर्फी सञ्चालनमा

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ । अविरल परेको वर्षासँगै यही साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेर पुरानै अवस्थामा फर्काएपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो ।

उक्त खण्ड शनिबार रातिदेखि एकतर्फी सञ्चालन भएको थियो । सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइए पनिसवारी साधन फस्न थालेका थिए । वैकल्पिक मार्गमै पटकपटक सवारी साधन फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग बन्द गरेर मर्मत शुरु गरिएको थियो ।

दुर्घटनामा कमी

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रे–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७६/७७ का अवधिमा जिल्लामा ४४ जनाले सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

गत आव ०७५/७६ मा जिल्लामा सवारी दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो आवका तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उनका अनुसार गतभन्दा अघिल्लो आवमा १०६ सवारी दुर्घटना भएको थियो भने गत आवमा ८८ सवारी दुर्घटना भएका छन् ।

त्यस्तै आव ०७४/७५ मा ११२ दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका थिए । ट्राफिक प्रहरीको तथ्याङ्कले पछिल्लो तीन वर्षका अवधिमा सवारी दुर्घटनामा कमी आएको देखिएको छ । आव ०७६/७७ मा ३० पुरुष, ११ महिला, दुई बालक र एक बालकले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा परी ६७ जना गम्भीर घाइते र ८९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका क्रममा आठ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत चैतदेखि असार मसान्तसम्म मात्रै १० सवारीसाधन दुर्घटना भएकामा सात पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी प्रमुख रानाभाटका अनुसार चैतमा चार, वैशाखमा एक, जेठमा तीन र असारमा एक जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै गत वर्ष साउन, भदौ, असोज र कात्तिकमा पाँचपाँच, मङ्सिरमा एक, पुसमा सात, माघमा तीन र फागुनमा चार जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । कार्यालयका अनुसार ३१ मोटरसाइकल, १२ ट्रक, दुई टिप्पर, १६ बस, एक माइक्रो, १५ जिप र १० ट्याक्टर दुर्घटनामा परेका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख रानाभाटले बताए ।

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड र कन्भेक्स ऐना राखेको छ । तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाही जस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

रु एक करोड ३४ लाख राजश्व

कार्यालयले सोही अवधिमा सवारी कारवाहीबाट रु एक करोड ३४ लाख ५१ हजार राजश्व सङ्कलन गरेको छ । नियम उल्लङ्घन गरी चलाइएका २१ हजार १५० सवारीसाधनलाई कारवाहीस्वरुप उक्त राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । छ हजार ३५२ मोटरसाइकल/स्कूटर कारवाहीबाट रु ४६ लाख चार हजार, पाँच हजार दुई सय ६१ ट्रक/टिप्पर कारवाहीबाट रु ३१ लाख १९ हजार, चार हजार ४११ बस कारवाहीबाट रु २६ लाख २७ हजार, चार हजार २१८ कार जीप कारवाहीबाट रु २५ लाख ७९ हजार पाँच सय तथा आठ सय आठ ट्रयाक्टर कारवाहीबाट रु पाँच लाख आठ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।

कार्यालयले गत आव ०७५/७६ मा रु एक करोड ६६ लाख ९४ हजार पाँच सय र आव ०७४/७५ मा रु एक करोड ६९ लाख २६ हजार पाँच सय राजश्व सङ्कलन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button