देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँड्ने काम गरे

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँडने काम गरेको भन्दै विरोध जनाएका छन । वरिष्ठ नेता पौडेलले बिहीबार सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताए । तर पनि सभापति देउवाले आफुहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता नजनाएको पौडेलले बताए । उनले पारदर्शि ढंगले क्रियाशिल सदस्यको वितरण र नविकरण हुनुपर्नेमा केन्द्रबाट वडावडामा दवाव दिने काम भएको बताए।

फोरम लोकतान्त्रिकलाई पार्टीले नै निर्णय गरेर प्रवेश गराइएको तर पछिल्लो समय व्यक्तिगत प्रवेशलाई लिएर क्रियाशिल सदस्य बाँडने काम सभापति देउवाले गरेको पौडेलले बताए । विदेश स्थित जनसम्पर्क समिति देखि विभिन्न भातृसंगठनमा पद वितरण गर्ने काम गरिनु महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि भएकोले आफुहरुको आपत्ति रहेको पौडेलले बताए ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले गल्ति गर्दै जाँदा आफुहरुले सशक्त दबाब दिदै जाने समेत बताए । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि ६ महिना भित्रमा सबै विभागलाई पूर्णता दिनुपर्नेमा १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभागहरु थप्ने र पद बाँडने काम भएको उनले बताए । विधान विपरित भएका सबै क्रियाकलापलाई महाधिवेशनमा एजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह गरे  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button