तनहुँमा बाढीपहिराबाट कृषिमा ९ करोडको क्षति

तनहुँ । गत असार २९ गतेदेखि निरन्तर परेको वर्षापछि आएको बाढीपहिराले तनहुँको कृषि क्षेत्रमा करीब रु नौ करोड बराबरको क्षति भएको छ । वर्षा पछिको बाढीपहिराले जिल्लाका विभिन्न भागमा छ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाइएको धान खेतीमा बढी पुगेको छ । त्यस्तै व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि बाढीपहिराले क्षति पुगेको केन्द्रले जनाएको छ । खोलाले कटान गरेको र बगरले पुरेर करीब रु नौ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

बाढीले बगाएको कतिपय स्थानमा किसानले बाढी पन्छाएर पुनः रोपाइँ शुरु गरेका छन् । रोपाइँमा ढिला हुँदा उत्पादन घट्ने निश्चित छ । ढिलै भए पनि छिटो पाक्ने जातका धान रोपाइँ गर्न कृषकलाई सुझाव दिइएको छ । स्थानीय सरकारले बालीनालीमा हुने क्षति व्यहोर्नलाई बजेट विनियोजन गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताए । प्रदेश र सङ्घीय सरकारले भन्दा स्थानीय सरकारले तत्काल राहत दिन सक्ने उनले बताए ।

स्थानीय तहले बाढीपहिराबाट किसानलाई भएको क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढी र पहिराका कारण बगरमा परिणत भएका खेतलाई बन्दीपुर गाउँपालिकाले भने प्रतिरोपनी रु दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बाढीले बगर भएका खेतलाई अनुगमन गरेपछि क्षतिपूर्ति दिइने जानकारी दिए ।

म्याग्दे गाउँपालिका–६ छिर्दीबेंसीका हरिबहादुर थापाले वर्षभरलाई खान पुग्ने गरी रोपेको धान बाढीले बगाएको बताए । “सगोलमा बसेका चार भाइ मिलेर करीब २५ रोपनी खेतमा रोपेको धान असार अन्तिम साता परेको अविरल वर्षासँगै म्याग्दे र छिर्दीखोलामा आएको बाढीपहिराले बगाइदियो”, उनले गुनासो गरे ।

उनका अनुसार १५ रोपनी खेत पुरेको छ । १० रोपनी जतिमा खोलाले कटान गरेको छ । “हिलोले पुरेको खेतमा खनजोत गरेर फेरि रोप्यौं  । बगरले पुरेको खेत यसपालि रोप्ने सम्भावना छैन्”, उनले भने । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ओमबहादुर केसीले साढे दुई रोपनी खेतमा रोपेको धान बाढीले बगाएको जानकारी दिए। “खेतमा अझै पनि खोला बगिरहेको छ, बराहाखोला पसेर साढे दुई रोपनी खेतमा रोपेको धानको रोपो नै बगायो,” उनले भने । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button