ढुङ्गाखानीमा पहिरो: एकको मृत्यु, स्काभेटर र टिप्पर पुरिए

मकवानपुर। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका पुरुषको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको र उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक तामाङले बताए । पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको खोजीकार्य बिहीबार बेलुका नै शुरु गरेको भए पनि माथिबाट पहिरो झरिरहेकाले सम्भव भएको थिएन । आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो ।

मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । पहिरो खस्नु अघिसम्म उनी रेखदेखकै काममा खटिरहेको र पहिरो झर्न लागेको भन्दै अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button