कलाकार नवराज गिरीको व्यस्तता

पोखरा । कोरोना महामारीको कारण धेरैको जनजीवनमा प्रभाव पारेको छ । कतीजनाले यस अगाडि गर्दै आएका कामलाई निरन्तरता दिन सकेनन् । केहीले निरन्तरता दिने प्रयास गरेका छन् । यहीं समयको सदुपयोग गर्दै आफ्नो कर्ममा व्यस्त बनिरहेका व्यक्ति हुनुहुन्छ नवराज गिरी ।

लकडाउनको समयमा सर्ट मुभी र कोरोना सम्बन्धी जनचेतनामुलक भिडियोमा उहाँले काम गर्नुभयो । ‘दशा’ आरन, अन्योल, सही हो, यो हो नि तरीका, ओहो, जातको कथा, मिसन उहाँले काम गरेका सर्ट मुभी हुन् । तीज गीतको भिडियोमा समेत हालै उहाँले अभिनय गर्नुभयो ।

‘लकडाउनमा समेत व्यस्त भए । आर्थिक रूपमा भन्दापनि आफुलाई यो समयमा काममानै व्यस्त हुन पाउँदा खुशी छु.। हुन त कहिलेकाही डर लाग्छ, भिडभाडमा सुटिङ हँुदा’ उहाँले भन्नुभयो ।यतिबेला कलाकारदेखी व्यवसायी सबै क्षेत्र धरापमा परेकोमा उहाँलार्ई चिन्ता लागेको छ । त्यसैले आफ्नो अहिलेको पहिलो अपेक्षा कोरोनामुक्ती भएको उहाँ बताउनुहुन्छ ।

यो अवस्थाबाट पार पाउन थिएटर सहितका कलाकारिता क्षेत्रमा राज्यको सर्पोट हुनुपर्नेमा उहाँको जोड छ । ‘राज्यले सबै ठाउँमा साथ दिनुपर्छ. । थियटर संस्कृति जगेर्नाको पाटो भएकोले धरासायी हुन नदिन सरकारको आर्थिक सहयोगको खाचो छ । अहिले अनलाईन कक्षा त भएको छ । तर आर्थिक पाटो सबल छैन गाह्रो छ’ उहाँले भन्नुभयो ।

११ वर्ष जापान बसेर नेपाल फर्कनुभएको गिरी नेपाल फर्किएपछि कलाकारिता क्षेत्रमा पुनः सक्रिय हुनुभएको हो । गिरीले २०६१ सालमा ‘थाङ्ला’ नाटकमा अभिनय गरे पश्चात उहाँलाई धेरैले चिने । हुनत त्यभन्दा अगाडि नै ५, ६ वटा सडक नाटक मार्फतमा काम गरेर आफ्नो अभिनय कला उहाँले देखाउनुभएको थियो । त्यस्ता सडक नाटक गाउँ–गाउँमा पुगेर देखाइन्थ्यो । त्यसपछाडि केही स्थानीय नाटकमा उहाँले अभिनय गर्नुभयो ।

नाटक पश्चात उहाँको रुचि विस्तारै मोडलिङ तर्फ बढ्यो । किनकी सो समयमा म्युजिक भिडियो र त्यसमा अभिनय गर्ने कलाकारको क्रेज थियो । उहाँलाई म्युजिक भिडियोमा अभिनयका अवसर प्राप्त भए । रामभक्त्त जोजिजु, विनित जोजिजु, जसवन्तदेव श्रेष्ठ लगायतका गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभयो । भिडियो फिल्म ‘रोजाई’ उहाँले अभिनय गर्ने अवसर पाउनुभयो । यो चलचित्रले उहाँलाई अगाडि बढ्न हौसायो । राजु गिरीको चलचित्रको आइटम गीतमा अभिनय गर्नुभयो ।

उहाँको अभिनयको ‘टर्निङ पोइन्ट’ टेलिचलचित्र ‘दलन’मा अभिनय गरेपछि भएको हो । दलनमा बाबुसाहेबको भूमिकामा अभिनय गरेपछि उहाँ धेरै माझ चिनिन उहाँ सफल बन्नु भएको थियो । टेलिचलचित्र दलनमा अडिसन मार्फत छानिनु भएको थियो । तर सोही समयमा जापान हानीने निर्णयमा पुगेपछि अफर आउँदा आउँदै अन्य चलचित्र र टेलिचलचित्रमा काम गर्न उहाँले सक्नुभएन ।

जापानमा बस्दा बेलाबेलामा कलाकारिता तर्फको भुतले मनमा सताउथ्यो । जापानमा रहँदा ‘साकुरा फेरि फूल्छ’ चलचत्रिमा उहाँले अभिनय गर्नुभयो । करियर बनाएर नेपाल फर्कने सोच बनाउनु भएका उहाँ जापानबाट नेपाल फर्किएपछि कलाकारिता क्षेत्रमानै व्यस्त हुन थाल्नुभएको हो ।

नेपाल फर्किएपछि उहाँले तिर्खा, निरमाया, एकचिहान, बाकस आदि नाटकमा अभिनय गर्नुुभयो । पानी फोटो, चचहुई, जात्रैजात्रा आदि चलचित्रमा अभिनय गर्न भ्याउनुभयो । ‘म थियटर आर्टिस्ट भएको कारणले नेपाल आएपछि पोखरा थियटरमार्फत पोखरामा नाटकको माहोल बनाउन काम गरे, दर्शकको माया हामीले पाउदैँ थियौ, अहिले कोरोनाले यसमा प्रभाव पारेको छ, आशा छ छिट्टै पहिलेकै जोशकासाथ अगाडि बढ्न पाउने छौँ’ उहाँले भन्नुभयो ।

पोखराको सिर्जनाचोकमा जन्मिनुभएका गिरीले अब कलाकारिता क्षेत्रमा निरन्तर अगाडि बढ्ने योजना बनाउनुभएको छ । कलाकारिता क्षेत्रमानै आफ्नो भविष्य देख्नुभएका उहाँले आफुमा निखारता थप्न मेहनत गरिरहनु भएको छ । राम्रो नाटक गर्ने योजनामा हुँदाहुँदै यो अवस्था आएको उहाँले बताउनुभयो । ‘कोरोना महामारीको कारण देशमा लकडाउन हुनुभन्दा अगाडि पोखरामा नाट्य गतिविधि भैरहेका थिए । नयाँ नाटक मञ्चनको तयारी हुँदै थिए । वरिष्ठ रंगकर्मी अनुप बरालको सहजीकरणमा कार्यशाला भइरहेको थियो’ उहाँले थप्नुभयो ।

उहाँले पोखरामा अन्तराष्ट्रिय नाटक महोत्सव हुँदा संयोजक भएर काम गर्नुभयो । अबको उहाँको योजना आफ्नै व्यवसाय गर्ने र कलाकारिता लाई निरन्तरता दिने रहेको छ । नयाँ पुस्तालाई उत्पेरित गर्दै पोखराको रंगमञ्चलाई क्रियाशील बनाउन खोज्दा नयाँ पुस्ताको साथ मिलिरहेको उहाँ बताउनुहुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button