पोखरामा ८ करोड लगानीमा बञ्जी जम्प तयार, तिहार लगत्तै सञ्चालनमा आउने (भिडियोसहित)

पोखरा न्यूज । पोखरामा झन्डै डेढ वर्ष अघिबाट निर्माण कार्य थालनी गरिएको बञ्जी जम्प र टावर क्लाइम्ब २ महिना भित्रमा सञ्चालनमा आउने भएको छ ।

बञ्जी नेपाल एडभेन्चर प्रालिले करिब ८ करोडको लागतमा पोखरा १७ स्थित रातो पहिरामा निर्माण गरेको बञ्जी जम्प र टावर क्लाइम्बको निर्माण कार्य सम्पन्न भएको र अबको २ महिना भित्रमा पूर्ण रूपमा सञ्चालनमा आउने प्रालिका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

“अहिले बञ्जी जम्प सँगै टावर क्लाइम्बको पनि निर्माण कार्य सकिएको छ, अव बञ्जी जम्पबाट हाम फालेका पर्यटकलाई पुनः डोरीको सहायताले माथि तान्ने विनचिङ मेसिन र डोरी राख्ने काम वाकी रहेको छ त्यसका लागि जापानी प्राविधिक आउँदै हुनुहुन्छ,” भट्टराईले भन्नुभयो । नयाँ वर्ष देखि नै बञ्जी सञ्चालन गर्ने लक्ष्य रहेको भएता पनि कोरोना प्रभावका कारण पछि धकेलिएको बताउँदै भट्टराईले अहिले मलमास रहेको र कार्तिक महिना राम्रो महिना नमानिने हुँदा तिहार लगतै मङ्सिरको पहिलो साताबाट बञ्जी जम्प र टावर क्लाइम्ब सञ्चालन गरिने बताउनुभयो ।

५५ मिटर लामो क्यान्टिलिभर पुल मार्फत स्टेसनको १ सय २१ र १ सय २५ मिटर गरी २ उचाइ बाट जम्प गर्न मिल्ने र छेउको ३५ मिटर उचाइको भ्यु टावर क्लाइम्ब गर्न सकिने भट्टराईले बताउनुभयो । सेती गण्डकीको पानीको दृश्य र सुसावट सँगै उत्तर तिर फर्किएर माछापुच्छ्रे र अन्नपूर्ण सहितका हिमश्रृखला हेर्दै गण्डकी माथि हाम फालेर बञ्जी जम्प गर्न सकिने भट्टराईले बताउनुभयो “नेपालमा हाल अघि र पछि फर्केर गरिने मात्र बञ्जी छन्, हामीले प्रकृतिको मनोरम छटाले भरपुर युक्त स्थानमा राउन्ड, रनिङ लगायतका फिचर थप गरेर बञ्जी सञ्चालन गर्दैछौं,” उहाँले भन्नुभयो । भट्टराईले भ्यालेन्टाइन डे जस्ता विशेष अवसरहरू पारेर कपल बञ्जी जम्प पनि सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

भट्टराईले तिहार लगत्तै टावर क्लाइम्ब पनि सञ्चालन गरिने बताउँदै एकल वा सामूहिक रूपमा टावर क्लाइम्ब गर्न सकिने बताउनुभयो । पैँतिस मिटर उचाइको टावरको माथि १० देखि १५ जना सम्म अट्ने स्पेस तयार गरिएको त्यहाँ बसेर पोखराका मनोरम दृश्य नियाल्दै बर्थ डे पार्टी, म्यारिज एनीभर्सरी आदि मनाउन सकिने पनि भट्टराईले बताउनुभयो । भट्टराईले उक्त स्थानमा बञ्जी जम्प तथा टावर क्लाइम्ब गर्न आउने पर्यटक तथा हेर्न आउने पर्यटकको लागि लक्षित गर्दै ५० सिट क्षमताको रेस्टुरेन्ट र २६ सिटर कफी शप समेत सञ्चालन गर्न लागिएको बताउनुभयो । सुरुवाती चरणमा ८ करोडको लगानी गरिएता पनि रेस्टुरेन्ट लगायतका केही ठाउँलाई आकर्षण तरिकाले पुन: निर्माण गरिएको र कोरोनाको प्रभावका कारण लगानी केही थपिन गएको उहाँले बताउनुभयो ।

लकडाउन पूर्व बञ्जी जम्पको रेट ५ हजार ५ सय नेपाली रुपैयाँ कायम गरिएको जानकारी दिँदै भट्टराईले अब पुन बिचार गरेर बञ्जी जम्पको नयाँ रेट र टावर क्लाइम्बको रेटको बारेमा निर्णय गरिने जनाउनुभयो । नेपालभरका ३ सय ३२ भन्दा धेरै ट्राभल एजेन्सीसँग प्रालिले सहकार्य गर्न लागेको जानकारी दिँदै भट्टराईले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई मूल्यमा एकरूपता कायम हुने बताउनुभयो ।

पोखराको लेकसाइडबाट जम्मा २.५ किमीको दुरी तथा चर्चित पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको २ सय ५० मिटरको दुरीमा रहेको बञ्जी जम्प स्टेसनमा पुग्नको लागि सार्वजनिक सवारीसाधन पनि चल्ने जानकारी दिँदै उहाँले यदि कसैले पोखराको कुनै पनि स्थानबाट बञ्जी जम्प तथा टावर क्लाइम्बको लागि आउन चाहेमा नि शूल्क ल्याउने लैजाने सेवा प्रदान गरिने बताउनुभयो ।

एक दशक भन्दा लामो समय विश्वका विभिन्न मुलुकमा बञ्जी सम्बन्धी कामको अनुभव सम्हालेका तनहुँ राईपुरका भट्टराईसहित पोखराका भूपाल बहादुर बराल क्षेत्री, शान्ति लम्साल भट्टराई, राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, बुद्धिनाथ बराल र अशोक गुरुङ गरी ९ जना युवा तथा व्यवसायीको को संयुक्त लगानी रहेको छ ।

पोखराको हेम्जामा यसअघि नै अर्को एक बञ्जीजम्प सञ्चालनमा आइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button