पोखरामा यौन व्यवसाय : न रोकियो, न व्यवस्थित हुन सक्यो

पोखरा न्यूज । पोखरामा यौन व्यवसाय भइरहेको छ । पोखरामा यतिजना यौन व्यवसायी छन् भन्ने आधिकारीक तथ्याकं भने छैन । कहिलेकाँही यसरी व्यापार गर्नेलाई पक्राउ गरिएपनि अधिकांशले सेटिङ मिलाएरनै यसबाट फाइदा लुटिरहेका छन् । कानूनी रुपमा नेपालमा यौन व्यापार गर्न वर्जित छ ।

यो पेशा अगाल्ने एउटै प्रकृतिका व्यक्ति भने छैनन् । आर्थिक अवस्था मजबुत नभएको कारण यो पेशा अगाल्न बाध्य भएकाहरु समस्यामा छन् । न यो पेशाबाट बाहिर जान उनीहरुले सक्छन्, न उनीहरुले मनग्गै आम्दानी गर्न सकेका छन् । उनीहरुलाई देखाएर रकम कमाउनेहरुले गगनचुम्बी महल ठड्याइसके । तर उनीहरुको अवस्था जीउँकातिउँ छ ।

अस्मिता (नाम परिवर्तन)लाई श्रीमानले हेला गर्नुभयो । श्रीमानसँग बस्न सक्नुभएन । माइतीमा बस्न थाल्नुभयो । उहाँको बच्चा थियो । माइतीमा उहाँको बुबा हुँदासम्म त ठिकै थियो । बुबालेनै सबैको रेखदेख पालनपोषण गर्नुहुन्थ्यो । दुर्घटना परेर कमाउने बुबा थला पर्नुभयो । बुबा थला परेपछि बाबुको समेत रेखदेख गर्ने जिम्मा अस्मिताकोमा आइपुग्यो । कमाउने जिम्मेवारी आयो । उहाँले खर्च धान्न अरुकोमा लुगा धुन थाल्नुभयो । दिनभरि लुगा धुँदा जम्मा एक सय रुपैयाँ पाउनुहुन्थ्यो । पकाउने स्टोपमा तेल हाल्न पैसा पुग्थेन । अनि चामल चपाएर बच्चालाई खुवाउन समेत बाध्य हुनुभयो । सोही क्रममा एकजना चिन जान भएको साथीले ‘त्यहाँ गयो भने पाँच सय रुपैयाँ पाइन्छ’ भनेर सुझाइन् । यसरी पाँच सयबाट सुरु गर्नुभएको उहाँपछि पेसेवर बन्नुभयो । उहाँ सूरुवातमा आर्थिक अवस्था कमजोर भएकै कारण यस्तो गर्न बाध्य हुनुभएको हो । ग्राहकसँग चर्को शुल्क साहुले असुल्ने तर आफूहरुको भागमा थोरै मात्र हात पर्ने उहाँ सुनाउनुहुन्छ ।

सीता (नाम परिवर्तन) उहाँको आर्थिक अवस्था कमजोर थियो । छोरी बिरामी परिन् । अप्रेशन गर्नुपर्ने भयो । परिवारबाट सहयोग थिएन । पैसा कमाउनको लागि स्पाःमा काम गर्न थाल्नुभयो । पैसाको लोभमा उहाँले यौनसम्बन्ध राख्न थाल्नुभयो । अनि पेशेवर बन्न बाध्य हुनुभयो । ग्राहकले दिएको रकम मध्ये साहुले धेरै रकम राखेर थोरै मात्र दिने गरेको उहाँको गुनासो छ । उहाँ रहरले हैन बाध्यताले यो पेशामा आएको बताउनुहुन्छ ।

हिरा (नाम परिवर्तन) विवाहिता हुनुहुन्छ । उहाँको बच्चा समेत छ । उहाँलाई घरयासी हिंस्सा भयो । अप्ठ्यारो प¥यो । पेशा व्यवसाय केही पनि भएन । अनि साथीको संगतमा लागेर यो व्यवसायमा छिर्नुपरेको उहाँ सुनाउनुहुन्छ । ज्योति (नाम परिवर्तन) ११ कक्षामा अध्ययनरत हुनुहुन्थ्यो । उहाँको अन्टि पर्ने यस्तै व्यवसायमा लाग्नु भएको थियोे । अन्टिले ज्योतिलाई लाहुरेसँग विवाह गर्न पाइन्छ भन्ने प्रलोभन देखाउनुभयो । लाहुरेसँग विवाह गर्न पाउने आशामा लाहुरेसँग ज्योतीले सम्वन्ध राख्न थाल्नुभयो । पछि लाहुरेले त्यसै छोडेर गयो । अनि बाध्य भएर उहाँ यहीं पेशामा लाग्न विवश बन्नुभयो ।सीता, अस्मिता, हिरा र ज्योति जस्ता धेरै आर्थिक अवस्था कमजोर बनेर वा विभिन्न प्रलोभनमा परेर यो व्यवसायमा आएका छन् ।

धनाड्य देखि क्याम्पसका प्रोफेसरसम्म व्यवसायमा सम्लग्न अधिवक्ता एवं पूर्व महिला विकास अधिकृत लक्ष्मी जिसी आर्थिक अवस्था मजबुत नहुँदा यो काम गर्नेहरु बढी पीडित भएको बताउनुहुन्छ । ‘हामीले रेकर्ड नै राख्दा पोखरामा ९ सय ८४ जना यौन व्यवसायी थिए’ उहाँले भन्नुभयो । अनुगमनका क्रममा यौन व्यवसाय गरेपनि पारिश्रमिक राम्रो नपाउने अधिकांशको समस्या आफूहरूले पाएको उहाँले बताउनुभयो । विभिन्न कारणले यो व्यवसाय गर्न बाध्य भएकाहरुलाई यौन शोषण, श्रम शोषण गर्नुभन्दा रेड लाइट एरिया नै तोकेर उनीहरुलाई राख्न सके उनीहरु पारिश्रमिकमा ठगिनुपर्ने थिएन । यसो गर्दा सामाजिक सुरक्षाका हुन्छ । यो एरिया यस्तो हो भनेपछि सबैलाई थाहा हुन्छ । त्यहाँ जाने मानिस होसियार बन्थे । पोखरामा मै हुँ भन्ने धनाड्यदेखि क्याम्पसका प्रोफेसरहरु, पत्याउनै नसक्ने मानिस यौन व्यवसायमा सम्लग्न रहेको भेटिएको अनुभव उहाँले सुनाउनुभयो । घरमा सौतेनी आमा भएका, आमा नभएका, काका भएका, आर्थिक अवस्था कमजोर भएका महिला बढी सम्लग्न छन् ।

कार्यस्थलमा हुने यौन दुव्र्यवहारको चपेटामा पर्ने १२ वर्षदेखि माथि २० वर्षभन्दा मुनि उमेर समुहका बालिकाहरूको संख्या बढी हुन्छ । पछि गएर उनीहरुनै बाध्य भएर यो पेशामा लाग्ने गरेको समेत देखिन्छ । पोखरामा पुरुषहरु समेत यौन व्यवसायमा सम्लग्न रहेका छन् ।

ठाउँ परिवर्तन

एक समय पोखराको बाग्लुङ वसपार्कलाई अघोशित रेड लाइट एरियाको रूपमा चिनिन्थ्यो । पछि प्रहरीको सक्रियतामा त्यसलाई तहाँबाट हटाइयो । केही यौन व्यवसायी र यौनकर्मी विस्थापित समेत भए । तर पूर्ण रूपमा यो व्यवसाय निमिट्यान्न हुन सकेन । बाग्लुङ बसपार्कबाट विस्थापित भएको व्यवसायी र यौनकर्मीको धन्दा पोखराका घर, होटल, फ्ल्याट मात्र नभएर पोखरा आसपासका खुल्ला एरियातर्फ समेत स¥यो ।

पोखरामा बेला–बेलामा यौन व्यवसयाका बारेमा बहस, छलफल र भनाईहरु बाहिर आउने गरेको छ । एकथरीको भनाई यौन व्यवसायलाई पूर्ण रूपमा बन्द गरिनुपर्छ भन्ने छ । अर्को थरीको भनाई व्यवस्थित गरेर यसलाई सञ्चालन गर्न दिनुपर्छ भन्ने छ । यसरी भनाइ आइरहँदा न त पूर्ण रुपमा बन्द हुन सक्यो, न त व्यवस्थित नै । झन् भित्र–भित्रै यसले विकराल रूप लिन थाल्यो । अव्यवस्थित रूपमा लुकीछिपी हुने यस्ता क्रियाकलापका कारण डरलाग्दा रोगहरु समेत फैलने खतरा अझै जीउँका तिउँ छ ।
हुन त प्रमुख आयस्रोत नै यौन बजार भएका देश विश्वमा छन् । जहाँ कानूनी मान्यता दिएरनै ‘रेड लाइट’ एरिया निर्धारण गरी यौन व्यवसायलाई व्यवस्थित गरिन्छ । यसको उदाहरणमा थाइल्याण्ड, स्पेन, ब्राजिल, केन्या जस्ता मुलुक रहेका छन् ।

साधारण देखि उच्च तहसम्मका यौनकर्मी पोखरामासाधारण देखि उच्च तहसम्मका यौनकर्मी महिला पोखरामा रहेका छन् । साधारण युवती पोखरामा सजिलै पाइन्छन् । पोखराका केही रेष्टुरेन्टमा पाइने यस्ता युवतीले एकपटक यौन सम्पर्क गरेको १ हजार ५ सय रुपैयाँसम्म लिने गर्छन् । एक रातको ३ हजार रुपैयाँसम्म लिने यिनीहरुको रेट विदेशीको हकमा बढी हुन्छ । सधै एउटै ठाउँमा यिनीहरुलाई राखिदैन । व्यवसायीले सेटिङमा एक वर्षको हारहारीमा मात्र एउटा शहरमा राख्छन् ।

पोखरामा फोन सम्पर्क गरेर सम्पर्कमा आइ सेवा दिने युवतीहरुपनि छन् । खुलेर आफूलाई यौन व्यवसायी भन्न नमानेपनि आपसी सहमतीमा सेवा दिदैँ रकम असुल्छन् । यिनीहरुको यतिनै भन्ने रेट नभएपनि व्यक्ति हेरेर रकम लिन्छन् । उनीहरूले ग्राहककै खर्चमा स्तरीय होटलमानै पुगेर सेवा दिन्छन् । यसरी सेवा दिनेहरू जिल्ला भित्रकाभन्दा बाहिरका बढी हुन्छन् । रमाइलोको लागि यसरी हिड्नेहरु पनि छन् । पोखरामा कलेज पढ्दै गरेका युवतीहरू समेत यस्तो कार्यमा लाग्ने गरेको पाइन्छ । जसमा बाहिरबाट पोखरा आउने बढी हुन्छन् । बाहिरभन्दा आफ्नै डेरामा सेवा दिन यिनीहरु रुचाउँछन् ।

होटलमा काम गर्ने तथा दिउँसोको समयमा अन्यत्र काम गर्ने केही युवतीहरुले समेत आम्दानीको मुख्य पाटो यसलाई बनाउने गरेका छन् । उनीहरु पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रातिको समयमा भेटिन्छन् । उनीहरुको मुख्य लक्षित ग्राहक विदेशी हुन्छन् । अव्यवस्थित रूपमा यसरी हुने क्रियाकलापका कारण विभिन्न यौन रोग फैलने सक्ने खतरा समेत बढेको छ । पोखरामा महिलासँगै पुरुष यौनकर्मी समेत रहेका छन् । यसको नियन्त्रणको लागि बेला–बेलामा प्रयास गरिने गरे पनि पछिल्लो समयमा भित्रभित्रै यो डरलाग्दो गरी फैलदै गएको छ ।

कोही आर्थिक कारणले त कोही रमाइलो गर्ने सोखको कारणले यौन व्यवसायमा लाग्ने गरेका छन् । यस्तो कार्यमा लाग्नेहरु मुभेवल हुन्छन् । यदि वैधानिक रुपमा निश्चित एरिया तोकेर यो कार्य गर्न दिने हो भने पछिल्लो समयमा विकराल रूपमा फैलदै गएको बालकदेखि वृद्धसम्म बलात्कृत हुने गरेको परिपाठी घट्न सक्छ भन्ने तर्क गर्नेहरु समाजमा छन् ।

राम्रो आम्दानी हुने र पैसावाला मान्छेसँग समेत सम्पर्क हुने भएकोले यो कार्यमा लागेकाहरू सितिमित जागिर खान खाज्दैनन् । विलासी जीवन विताउन खोज्नेहरू समेत यसतर्फ आर्कषित भएका छन् ।

यौन व्यवसायी महिलाको अवस्था नाजुक

गैह्र सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल यौन व्यवसायी महिलाको अवस्था एकदमै नाजुक रहेको बताउनुहुन्छ् । यौन व्यवसाय गर्ने ठाउँहरुमा सुरक्षित यौन सम्पर्कको लागि सुरक्षित सामाग्रीको अभाव छ । यौन रोग लाग्ने, एकबाट अर्कोमा सर्ने खतरा पोखरामा छ । यौन कार्यमा लागेका महिलाको कामलाई मान्यता दिएको छैन । उनीहरुको पारिश्रमिक कति हो, भन्ने एकीन छैन । साहु तथा प्रहरीलाई सन्तुष्ट पार्न सके सुरक्षित हुने नत्र समातेर लाने गरेको देखिन्छ । यसरी समाउदा पुरुषलाई भन्दा महिलालाई दुःख दिने गरेको पीडितको गुनासो छ ।

यौन व्यवसायमा लागेकाहरू परिवारमा त्यो व्यवसायलाई कसरी लुकाउने भन्ने मानसिक तनाव हुने गर्दछ । यसको फाइदा पुरुषले लिन्छन् । परिवारलाई भन्दिन्छु, तलाई यसो गर्दिन्छु भन्दै उनीहरुले हिँम्सा गर्ने गरेका छन् । यसको सुधारको लागि यो व्यवसाय नै गर्नु हुँदैन भनेर व्यापक सचेतना गराउनुपर्छ । आम्दानीको लागि सुरक्षित रोजगारीको व्यवस्था हुनुपर्छ । होटल व्यवसायीले यस्तो धन्दामा लगाएपनि होटल व्यवसायीलाई नै कारवाही हुने भएमा कमी आउनसक्छ ।

यो व्यवसायमा सम्लग्न १८ वर्ष मुनिका बालिका धेरै छन् । काममा लगाउने साहु र बालिकासँग यौन कार्य गर्न खोज्ने पुरुषलाई कडा कानूनी कारवाही हुनुपर्छ । त्यो व्यवसायमा लाग्छु नै भन्छन् भने राज्यले नीति बनाएर व्यवसाय नै मानेर यो एरियामा बस्ने भनेर छुट्याउनुपर्छ । कि त्यो गर्न नपाउने व्यवस्था राज्यले सिर्जना गरिदिनुपर्छ । नत्र महिलाहरु पीडित भइनै रहन्छन् भन्ने आवाज उठ्ने गरेको छ ।

हुन त महिलाहरुलाई यो क्षेत्रबाट बाहिर निकाल्न विभिन्न एनजिओ, आएनजिओले काम गरेका छन् । उनीहरुले आफ्नो ठाउँमा काम गरिरहेका छन् । तर यो पर्याप्त छैन । किनकी उनीहरुसँग आर्थिक रुपमा प्रशस्त स्रोत हुँदैन । सरकारको सहयोग छैन । यसरी काम गर्ने संस्थालाई चुनौती समेत छ । धेरै संस्था छैनन् । यसमा फँसेकालाई सचेतना जगाउने, परामर्श दिने, सुधारगृहमा पठाउने काम भइहरेका छन् । शशी समुह, बाल तथा महिला शसत्तिकरण समुह, थ्रि एन्जल्स, कोपिला नेपाल, नेपाल हाउस आदिले यस्ता महिलालाई सहयोग गर्ने काम गरिरहेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दूई वर्ष अगाडि यौन व्यवसायलाई व्यवस्थापन गर्ने बारेमा आफ्नो विचार सार्वजनिक गरेपछि एउटा तरंग आयो । त्यतिबेलानै उहाँको विचारको पक्ष तथा विपक्षमा टिकाटिप्पणी हुन थाले । उहाँले स्पष्टसँग आफ्ना भिजन सुनाउदै यसको व्यवस्थापनको बारेमा एउटा निक्र्यौल गर्नुपर्ने तर्क गर्नुभयो । आफूले निष्कर्ष नसुनाएको तर यो विषयमा छलफल सुरु गरौ भनेको उहाँले बताउनुहुन्थ्योे । तर यो विषयमा त्यसपछि छलफल हुन सकेको छैन । स्वंम मुख्यमन्त्री गुरुङले त्यस पछाडि यो विषयको बारेमा छलफल, बहस गर्ने आँट गर्नुभएन । मुख्यमन्त्री कार्यालय श्रोतले बताए अनुसार यो विषयमा मुख्यमन्त्रीले बोलेपछि छलफल भएको छैन ।

यता गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले यौन व्यवसायको बारेमा भने सोच्नै नसकिने बताउनुहुन्छ । ‘हाम्रो समाजले त्यो पचाउँदैन, त्यतातिर नजाउ, टुरिजम भित्रको एउटा पार्ट हुन सक्ला, तर नेपालमा त्यो पच्न सक्दैन’ उहाँले भन्नुभयो । पोखरामा बाहिर देखिनेगरी यौन व्यवसाय नहुने गरेको र लुकिछिपि हुने कुरालाई आफुहरुले नखोतलेको उहाँ बताउनुहुन्छ । यौन व्यवसायमा लगाएर आम्दानी गर्नेलाई नियन्त्रण गर्नुपर्ने मन्त्री लम्सालको भनाई छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. यस्तो Fake News बनाएर पोखराको बदनाम नगर्नुहोला,
    दिनभरी लुगा धोएर जम्मा रु १०० अनि स्टोभमा तेल हाल्ने पैसा नहुने कुरा गर्नु भयो, अहिलेको जमानामा यि कुराहरु बनावटी मात्र हो । दिनभरी रु १०० मा को पागल ले धुन्छ लुगा? अनि आजकल कुन ठाउँमा बल्छ स्टोभ ? बकबास ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button