पोखरामा बजार अनुगमन : खाद्य बस्तुको मूल्य बृद्धि भएको छैन-थोक व्यापारी

पोखरा । पोखराका थोक बिक्रेताले खाद्य सामग्रीको मूल्य वृद्धि नभई पहिलेको तुलनामा केही प्रतिशत घटेको बताएका छन् । तर पोखरेली उपभोत्ताले भने पहिलेको तुलनामा मंहगोमा खाद्य सामाग्री खरिद गर्नुपरेको गुनासो गर्दै आएका छन् ।

प्रदेश बजार अनुगमन टोलीले विहीबार पोखराका केही थोक बिक्रेताको पसलमा अनुगमन गर्दा ती व्यापारीले खाद्य सामाग्रीको मूल्य वृद्धि नभई केही दिनयता मूल्य घटेको बताएका छन् । पोखरा पस्र्याङ स्थित शिवशक्ति घिउ उद्योग प्रालिका संचालक बसन्त चौधरीले एक दुई दिन भित्र नै खाने तेलको मूल्यमा प्रति कार्टुन ५० रुपैयाँ अर्थात प्रति लिटरमा पाँच रुपैयाँ मूल्य घट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो चामल, चिनी, दाल र घिउको मूल्य समेत घटेको छ, पोखरामा दुई महिनालाई पुग्ने खाद्य सामाग्री स्टक छ, त्यो छट पर्वपछिसम्म पुग्छ, खाद्य सामाग्रीको कुनै अभाव हुदैन, गोदाममा मौज्दात छ, उहाँले भन्नुभयो– खुद्रा व्यापारीले विभिन्न बहानामा खाद्य बस्तुमा चर्को मुल्य लिन सक्छन त्यसतर्फ अनुगमन टोलीको ध्यान जान जरुरी छ ।

चौधरीले आफ्नो उद्योगमा गुणस्तर र नापतौलका यन्त्रहरु नराखेका कारण ७ दिनभित्र खरिद गरी अनुमति पत्र र व्यवसायको बोर्ड तीन दिनभित्र राख्न अनुगमन टोलीले निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश कार्यालयका निर्देशक गोकुल शर्मा पौडेलले थोक बिक्रेताले मूल्य वृद्धि नगरेको तर खुद्रा व्यापारीले मुल्य वृद्धि गरेको पाइएकाले उनीहरु लक्षित अनुगमन वढाइने बताउनुभयो ।

नारायणी मोर्डन पल्सेस एवं नारायणी आयल रिफाइनरी उद्योग पस्र्याङका मोहनलाल अग्रवालले कुनैपनि उद्योगले खाद्य वस्तुको मूल्य वृद्धि नगरेको अवस्थामा उपभोक्ताले वढी मूल्य तिर्न नपर्ने बताउनुभयो ।

अनुगमनकै क्रममा शिव शिखर एग्रो प्रालि पोखरा–५ पस्र्याङका व्यवस्थापक विष्णुप्रसाद भुसालको गोदाममा उपकार ब्राण्डको लङ्रेञ्च बासमति चामलका दुई दर्जन बोरा फूटाएको अवस्थामा फेला परेको थियो । साथै उहाँको गोदाम फोहोर भएको पाइएको छ । उपभोग्य मिति नै नभएको दुई वटा उपकार इलाम घिउ बरामद गरिनुको साथै सात दिनभित्र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले विभिन्न बहानामा कुनै पनि व्यापारीले उपभोक्तलाई वढी मूल्य लिएर ठग्ने, कृत्रिम अभाव देखाउने, गुणस्तरहिन र उपभोग्य मिति सकिएका खाद्य सामाग्री बिक्री गर्न नपाइने बताउनुभयो ।

नेपालीहरुले पुरा मूल्य तिरेपछि स्वच्छ खाद्य पदार्थ उपभोग गर्न पाउनु पर्छ यदि कसैले मिसावट गर्ने अखाद्य वस्तु बिक्री गर्न नपाइने यदि त्यस्तो थाहा पाएमा वा उजुरी आएका उपभोक्ता हित संरक्षण ऐन अनुसार कडा कारवाही गर्ने बताउनुभयो ।

दशै र तिहार जस्ता ठूला चार्डसँगै अनुगमनलाई अगाडि वढाइने र यदि कसैले गुणस्तर हिन, विभिन्न फ्लेवर प्रयोग गरेर खाद्य सामाग्री बिक्री गर्छ भने त्यस्ता व्यापारीलाई कारवाहीको दायरामा ल्याउन बाध्य हुने खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक शिवजी बरालले बताउनुभयो । कालोबजारी, कृत्रिम अभाव गर्दै वढी मूल्य असुल्ने भने अव छाड्ने पक्षमा छैनौ जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत इन्द्र शर्मा पौडेलले बताउनुभयो । अनुगमनमा विभिन्न कार्यालयका आठ जनाको सहभागिता रहेको थियो ।

साथै निर्देशनालयले हरेक बस्तुको दर्ता प्रमाणपत्र, अनुज्ञा पत्र, साईनबोर्ड तथा मूल्य सूची बिक्री स्थलमा सवैले देख्ने गरी अनिवार्य राख्नुपर्ने, मिसावट, गुणस्तरहिन वस्तु वा सेवाको उत्पादन वा व्यापार गरेको पाइएकोमा निर्देशनालयमा र घरेलु कार्यालयमा सूचना गर्न आग्रह गरिएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button