यस्तो छ गुरुङ जातिको कला र संस्कृतिले जीवन्त कास्कीको पर्यटकीय गाउँ सिक्लेस

पोखरा न्यूज । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस ।

गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ । वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् ।

स्थानीय समाजसेवी सुरजकुमार गुरुङका अनुसार यो गाउँमा हाल लगभग चार सय कुरिया घरधुरी रहेका छन् । यातायातका साधन हुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवम् छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती देख्न पाइन्छ जसलाई हेरेर पर्यटकले आफ्नो यात्राको थकाइ क्षणभरमै बिर्सने गर्छन् । स्थानीय जनताको जागरुकतासँगै सरसफाईमा यहाँका सर्वसाधारणले निकै ध्यान दिएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको अर्को विशेषता हो ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवम् विदेशी अनुसन्धाता सिक्लेस आउने गरेको सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङले बताउनुभयो । गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण अङ्ग बनेको छ ।

फाइल तस्विर : हिउँ पर्दा देखिएको रमणीय सिक्लेस

सङ्ग्रहालयमा गुरुङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । पर्यावरणीय संरक्षणका लागि गरिएका लाटोकोसेरो महोत्सवजस्ता भिन्न किसिमका महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना भित्रैदेखि जागृत भएको पाउन सकिन्छ ।

सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । यहाँ एक दिन बास बस्न लगभग ५/६ सय रुपैयाँ भए पुग्छ भने दुई सय ५० रुपैयाँसम्म खर्च गर्दा रोजाइ अनुरूपको खानाको स्वाद लिन सकिन्छ । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्नेहरु गाडीबाट पुग्ने गरेका छन् । गाडीबाट काँहुखोला, ढाडबेसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ ।

हिउँमा रमाउदै पर्यटक

नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । हिउँदको समयमा यस क्षेत्रमा हिउँ समेत पर्ने भएकाले धेरै पर्यटक यस क्षेत्रमा हिउँ खेल्न समेत पुग्ने गर्दछन । कला संस्कृति बचाउन यहाँ बेलाबेलामा मेला तथा महोत्सव आयोजना गर्ने गरिन्छ । यस्ता अवसरमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघि सम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको सिक्लेस आमा समूहकी अध्यक्ष नौमाया गुरुङले बताउनुभयो । उहाँका अनुसार सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा अद्यपि कायमै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button