भिटेनले आफ्नो नयाँ र्‍याप गीत ‘पारा’ संशोधन गरेर पुनः सार्वजनिक गर्ने

पोखरा न्यूज । चर्चित नेपाली र्‍यापर समीर घिसिङ भिटेनले आफ्नो नयाँ र्‍याप गीत ‘पारा’ संशोधन गरेर पुनः सार्वजनिक गर्ने भएका छन् ।

शनिवार एक विज्ञप्ति प्रकाशित गरेर गीतमा समावेश आपत्तिजनक शब्दहरूको संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने जनाएका छन् ।

भिटेनको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भएको विज्ञप्तिमा नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिएको खुलाइएको छ ।

विज्ञप्तिमा गीतको भिडियोले कतिपय निकायप्रति ठेस पुर्‍याएको गुनासो आउने वित्तिकै अफिसियल युट्युब च्यानलबाट कार्तिक १३ गते नै गीत हटाइएको उल्लेख गरिएको छ । आपत्तिजनक ठानिएका शब्दहरू संशोधन गरिसकेको जनाउँदै संशोधित भिडियो भिटेन म्युजिक अफिसियल युट्युब च्यानलबाट प्रकाशन गरिने जनाइएको छ ।

सम्बन्धित निकायहरू तथा महानुभावहरूलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरूबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमा याचना गर्दै उक्त म्युजिक भिडियोलाई अनधिकृत रूपमा कुनै पनि माध्यमबाट अपलोड नगर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

यसअघि पारा गीतमा अश्लील शब्द प्रयोग गरिएको भनी प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन तथा गुनासो समितिमा उजुरी परेको थियो । उजुरी परेपछि भिटेनलाई पक्राउ गरी अनुसन्धान सहित कारबाही प्रक्रिया अगाडि बढाउन साइबर ब्युरोलाई निर्देशन दिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button