नेपालमा वलिउड लेभलको सुविधा सम्पन्न पोष्ट प्रोडक्सन हाउस खोल्ने सपना छ : शाहिल खान

पोखरा न्यूज । ट्रेलर सम्पादकको रुपमा पछिल्लो समयमा चर्चामा रहनुभएको व्यक्ति हुनुुहुन्छ शाहिल खान । उहाँले हालसम्म १ सय ५० भन्दा बढी फिल्मको ट्रेलर सम्पादन गरिसक्नु भएको छ । उहाँले सम्पादन गरेका ट्रेलरलाई दर्शकले रुचाएका छन् । सोही कारण उहाँको चर्चा बढेको हो ।

नेपालमा वलिउड लेभलको सुविधा सम्पन्न पोष्ट प्रोडक्सन हाउस खोल्ने सपना उहाँको छ । ‘जब यो फिल्डमा  लागे । त्यसपछि देखेको सपना नै नेपालमा वलिउड लेभलको सुविधा सम्पन्न पोष्ट प्रोडक्सन हाउस खोलौ भन्ने हो । मानिसहरु स्टुडियोमा छिरेपछि सबै काम त्यही होस् अन्यत्र भौतारिन नपरोस्’ पोखरा न्यूजसँग कुरा गर्दै सम्पादक खानले सुनाउनुभयो ।

अहिले राम्रो ‘वर्कस्टेसन’ बनाउन २० देखि २५ लाख लाग्छ । तर, हामीसँग बजेट हुँदैन । म्युजिक भिडियो एडिटिङ गर्न ५ हजार, १० हजार छुट्याएका हुन्छन् । कप्प्युटर, सफ्टवयरदेखि सबै काम चलाउको लागि मात्र गरिएको छ । हाम्रो समस्या भनेको हामीसँग ‘पर्पर वर्कस्टेसन’ छैन । सबै ‘नर्मल’मा नै काम चलाईरहेका छौँ । सोही कारण सुविधासम्पन्न राम्रो स्टुडियो खोल्ने सपना मैले बुनेको हुँ ।

नेपालमा फिल्म निर्माण गर्दा प्राविधिक कुरामा खासै ध्यान नदिने चलन रहेको उहाँको बुझाई छ । ‘प्रविधिमा हामी पछाडि छौ । विस्तारै आउला होला भन्ने आशा छ । आर्टिस्ट राम्रो राखे मेहनत नगरेपनि फिल्म चल्छ भन्ने भ्रम छ । प्राविधिक रुपमा राम्रो गर्न सके बल्ल फिल्ममा निखारता आउँछ । यो कुरा बुझ्नुपर्छ’ उहाँले भन्नुभयो ।

नेपालमा प्राविधिकको अवस्था ठिकै भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘राम्रो पनि भैन, नराम्रो पनि छैन । ठिकै छ । चलेकालाई ठिक छ । व्यस्त भएकालाई राम्रो छ । व्यस्त नहुनेलाई जीवन धान्न गाह्रो छ । समग्रमा हेर्दा १० प्रतिशत प्राविधिकको राम्रो छ । ९० प्रतिशत प्रविधिलाई अप्यारो छ । हामी सबै अपडेट हुनुपर्छ । तर नेपाली चलचित्र प्रविधिसँग खासै अपडेट हुन सकिरहेका छैनन् । पहिला जे चलन थियो अहिले पनि त्यही चलन छ । यसले चलचित्रमा गुणस्तरीयता थप्दैन ।’

चलचित्रमा मात्र हैन म्युजिक भिडियोमा समेत त्यस्तै रहेको उहाँले खुलाउनुभयो । एक त म्युजिक भिडियोमा खासै बजेट हुँदैन । बजेट नभएपछि एकदिनमानै सकाउनुपर्ने हुन्छ । हतार–हतारमा सकाइहाल्दा क्रियटिभीटी देखाउन पाइन्न । हाम्रोमा अडियन्सको दर कम छ तर आर्टिस्टको पारिश्रमिक बढी छ । कलाकारले मिलाएर गर्ने हो भने टेक्निकल पार्टमा समेत खर्च गर्न सकिन्छ । त्यसलाई व्यालेन्स गरेर लान सक्नुपर्छ । अनि पो बल्ल टिक्छ । म्युजिक भिडियोको बजेट ३ लाख हुन्छ । आर्टिस्टले नै डेढ लाख भन्छन् । अनि बाँकी कता– कता खर्च गर्ने । नत्र प्रर्याप्त समय दिएर खिच्न सकिन्थ्यो । काम गर्न सकिन्थ्यो । उहाँले भन्नुभयो ।

हुनत शाहिलको जन्म कपिलवस्तु जिल्लाको रंगपुरमा भएको हो । अध्ययन कृष्णनगरमा गर्नुभयो । उहाँलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्न परिवारको ठूलो साथ रह्यो । उहाँका बुबा नेपाल विद्युत प्राधिकरणमा इञ्जिनियर हुनुहुन्थ्यो । विद्युत प्राधिकरणको इञ्जिनियर भएको कारण बुबा काठमाण्डौ गइराख्नुपर्ने । काठमाण्डौमा जाँदा ताल म्युजिक प्रालिको तत्कालीन सञ्चालक मध्येका एक अस्लमसँग बुबाको भेट भयो । उहाँले भाईलाई काठमाण्डौ ल्याउनु । यहाँ भिडियोको एडिटिङको स्कोप राम्रो छ भनेर भन्नुभएछ । त्यतिबेला शाहिल कपिलवस्तुमानै ११ कक्षामा पढ्दैहुनुहुन्थो ।

बुबा काठमाण्डौबाट फर्किएपछि शाहिललाई सबै कुरा भन्नुभयो । शाहिललाई बच्चैदेखि फिल्म तथा भिडियो तर्फ रुचि थियो । बुबाले यस्तो अफर आएको छ के गर्छस् भनेर सोध्ने वित्तिकै उहाँले जान्छु भन्ने जवाफ दिनुभयो । अनि ११ कक्षा को परिक्षा सिध्याएर १७ वर्षको कलिलो उमेरमा काठमाण्डौ हानिनुभयो । १२ कक्षा प्राइभेट पढ्नुभयो ।

काठमाण्डौ गएपछि जमलमा रहेको एरिना मल्टिमिडिया दूईवर्ष उहाँले अध्ययन गर्नुभयो । पढ्दापढ्दै ताल म्युजिकमा काम गर्ने गर्नुहुन्थ्यो । काम गर्दै पढ्दै गर्न थाल्नुभयो । त्यतिबेला उहाँले काम गरेको भिडियो टेलिभिजनमा प्रसारण भइरहेका हुन्थे । यसले उहाँमा थप जोश बढाउथ्यो । दुई वर्षको अध्ययन पुरा भएपछि उहाँले ताल म्युजिकमा काम गर्न छोड्नुभयो । त्यहाँ खटपट भयो ।

ताल म्युजिक छोडेपछि बल्ल उहाँका स्ट्रगलका दिन सुरु भए । झण्डै डेढ वर्ष स्ट्रगल गर्नुप¥यो । सो समयमा फिल्म लाइन तिरको केही थाहा थिएन । म्युजिक भिडियो तर्फ भने अलि–अलि चिनजान थियो । उहाँले म्युजिक फिलमा भिडियो एडिटिङको कामको लागि प्रयास गर्नुभयो । तर ती प्रयास उहाँका लागि उपयोगी बनेनन् । त्यतिबेला चिनेका, चर्चामा रहेका, स्थापित भइसेकका धेरैसँग काम माग्नुभयोे । तर उहाँले काम पाउनुभएन । कसैले पत्याएनन् । सोही समयमा उहाँ बिरामी पर्नुभयो । काम पनि नपाएको समय, अनि विरामी परेर थला परेपछि निरास हुँदै जन्मठाउँ कपिलवस्तुनै फर्कनुभयो ।

तीन महिना उपचार गरेपछि उहाँ तग्रनुभयो । उहाँमा पुनः काठमाण्डौ फर्किएर सर्घष गर्ने हुटहुटी रह्यो । अझै स्ट्रगल गर्छु कसो काम नपाइएला भन्ने मनमा सोच्दै काठमाण्डौ लाग्नुभयो । विरामी भएर कपिलवस्तु जानुभन्दा अगाडि थापागाउँमा रहेको एएनएस क्रियसनमा विजय चौधरीलाई शाहिलले आफ्नो वायोडाटा छोडेर जानुभएको थियो । अनि विजय चौधरीलाई पछ्याउनुभयो । शाहिलको वायोडाटा विजयले सुशील श्रेष्ठलाई दिनुभएको रहेछ । त्यतिबेला श्रेष्ठको अनामनगरमा अफिस थियो । श्रेष्ठलाई भेट्दा विपिन मल्लको नम्बर दिनुभयो । अनि शाहिलले विपिन मल्ललाई फोन गर्नुभयो । फोनमा विपिनले म विजि छु मलाई हप्ता दिनपछि कल गर्नु भनेर राखिदिनुभयो । एक हप्तासम्म कुरेर फेरी विपिनलाई फोन गर्नुभयो । विपिनले आउनत भेटम् भनेर पुतलीसडकमा बोलाउनु्भयो ।

विहान ८ बजेबाट ११ बजेसम्म सिडिमा बसेर विपिनलाई कुर्नुभयो । त्यतिबेला १९ वर्षमा टेकेका शाहिलमा काम गर्ने जोश थियो । विपिनले माथी स्टुडियोमा बोलाएपछि शाहिल स्टुडियो तर्फ जानुभयो । विपिन मल्ल त्यतिबेला मिस्टर मंगले भन्ने फिल्मको एडिटिङको काममा व्यस्त हुनुपर्ने भएकोल प्राइम स्टुडियो तर्फ जानुभयो । शाहिललाई ३० सेकेण्डको एउटा ट्रेलर बनाउन भनेर छोडेर जानुभयो । ट्रेलर ‘डर’ फिल्मको थियो । विपिन मल्लको स्टुडियोमा छिर्दासम्म आफू कुन लाईनमा छिरे भन्ने शाहिललाई थाहा थिएन । काम गरेपछि बल्ल थाहा पाउनुभयो । म त फिल्म लाइनमा पो छिरेछु भनेर ।

दुई घण्टापछि विपिनले फोन गर्नुभयो । भाई के गरिराखेका छौँ । अनि शाहिलले मैले हजुरले दिएको काम सकाए भनेर जवाफ फर्काउनुभयो । शाहिल त्यही बस्नुभयो । विपिन बेलुका आउनुभयो । ट्रेलर हेर्नुभयो । शाहिलमा ट्रेलर मन पर्ने हो की हैन भन्ने चिन्ता थियो । हेरेपछि विपिनलाई काम मनप¥यो । अनि कुराकानी गरौँ न भनेर शाहिललाई भन्नुभयो । त्यतिबेला उहाँले पनि भर्खर–भर्खरै प्रोडक्सन हाउस सुरु गर्नुभएको थियो । शाहिलले आफ्नौ सबैकुरा विपिनसँग भन्नुभयो । तिमीलाई महिनाको तीन हजार दिन्छु काम गर्छौ भनेर विपिनले सोध्नुभयो । शाहिलले हुन्छ भन्नुभयो । किनकी त्यतिबेला शाहिललाई पैसा भन्दा काम गर्नु थियो । आफ्नो प्यासनलाई पुरा गर्नुपर्ने थियो । सोही कारण पैसाको मुख नहेरिकन काम सुरु गर्नुभयो । त्यतिबेला उहाँको मासिक खर्च कम्तिमा ८ हजार रुपैया हुन्थ्यो । खर्च घरबाट बुबाले पठाइदिनुहुन्थ्यो । किनकी परिवारबाट शाहिललाई एकदम सर्पोट थियो ।

काम गर्दागर्दै साढे ४ वर्ष त्यही काम गर्नुभयो । विस्तारै चिनजान बढ्यो । शाहिलपनि निखारिदै जानुभयो । अनि आफैलेनै केही गर्ने आँट आयो । अनि तहाँ काम छोडेर अनामनगरमा मुभी फ्याक्टी प्रालि उहाँले खोल्नुभयो । उहाँले अहिलेसम्म निरन्तर सोही ठाउँबाट काम गरिरहनुभएको छ ।

आफूलाई फिल्मको ट्रेलरले जति नाम ख्याति र पैसा दियो त्यसबाट आफू एकदम सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । मासिक ३ हजार रुपैयाँ बाट काम सुरु गर्नुभएका शाहिलले पछि आफैले प्रोडक्सन हाउस खोलेपछि एउटा टे«लरको ५ हजार, १० हजार, १५ हजार, २५ हजार , ३० हजार हुँदै अहिले ८० हजार लिनुहुन्छ ।

सम्पादन मात्र नभएर उहाँले म्युजिक भिडियोमा अभिनय समेत गर्नुभएको छ । अञ्जु पन्तको गीत र दीपक लिम्बुको गीतको गरेर दूईवटा म्युजिक भिडियोमा उहाँले अभिनय गर्नुभयो । यसैगरी नेपाली फिल्म च्याम्पियन र रामकहानीमा अभिनय गरिसक्नु भएको छ । अभिनय तर्फ एक्टरनै बन्छु भनेर नसोचेपनि कुनै अफर आयो भने रहरको रुपमा काम गर्ने उहाँको योजना छ । हालै उहाँले ‘डार्लिङ तिमी’ गीतबाट म्युजिक भिडियो निर्देशनमा डेब्यु गर्नुभयो । यसैगरी रामजी ज्ञवाली निर्देशनमा सर्ट मुभीमा मुख्य भूमिकामा अभिनय गर्नुभएको छ ।

कोरोनाका कारण उहाँलाई अलिकति अप्ठ्यारो भयो । ६, ७ महिना काम विहीन हुनुप¥यो । लकडाउन हुनुभन्दा अगाडि ५, ६ वटा फिल्मको ट्रेलर बनाउनुपर्ने थियो । त्यो सबै पेन्डिङ छ । एउटा भोजपुरी फिल्मको ट्रेलर अहिले सकाउनुभयो । हल नखुलेसम्म एडिटिङ र म्युजिक भिडियोतिर फोकस गर्ने योजना रहेको छ । उहाँले हालसम्म झmण्डै डेढ दर्जन म्युजिक भिडियोमा सम्पादनको जिम्मा पुरा गरे । शाहिलले फिल्म सम्पादनको को १ लाखदेखि ३ लाख सम्म लिने गर्नुभएको छ । हालसम्म उहाँले सम्पादन गरेका फिल्मको संख्या एक दर्जन नाघ्यो । आफ्नो अबको योजना पनि गरिरहेको काममा फोकस गर्ने रहेको उहाँले बताउनुभयो ।

उहाँ नेपाल चलचित्र प्राविधिक संघ कार्यसमितिमा हुनुहुन्छ । नेपाल चलचित्र प्राविधिक संघमा दर्ता भएका १ हजार ४ सय प्राविधिक छन् । नविकरण भएका ६ सय मात्र रहेको उहाँले खुलाउनुभयो ।

प्राविधिक–प्राविधिक बीचमा समेत अस्वस्थ प्रतिष्पर्धा हुँदा यसको फाइदा अरुले लिएको उहाँको गुनासो छ । ‘एकजनाले लिइसकेको प्रोजेक्ट अर्काले त्यो भन्दा थोरै रकममा गर्न खोसीदिने गरेका छन् । एउटाले गरिरहेको काम अर्कोले खोस्ने । त्यो भन्दा सस्तोमा म गर्दिन्छु भन्ने खालको समस्या प्राविधिक प्राविधिक बीचमा छ । फिक्स रेट नुहँदा यो समस्या देखिएको हो । यसको लागि छलफल भैरहेको छ सायद अब छिट्टै एउटै रेट राख्न निर्णय गर्छौ’उहाँले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button