अमेरिकाको ४६ औं राष्ट्रपति बने जो बाइडेन

पोखरा न्यूज । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।

डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले जित्नका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजको जादुमय नम्बर २७० नघाइ सकेका छन्। र, अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। अमेरिकी राष्ट्रपति छान्ने इलेक्टोरल कलेजमा ५३८ प्रतिनिधि हुन्छन्, जसमध्येबाट जसले २७० प्राप्त गर्छ, उसैले राष्ट्रपतिका रुपमा ह्वाइट हाउसको यात्रा तय गर्छ। शुक्रबार राति पेन्सिलभेनिया राज्यमा जितेपछि बाइडेनले ३२ वर्षदेखियको यो यात्रा सुनिश्चित गरेका हुन्।

विजयी भएपछि जो बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे ।गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौं । एकअर्कालाई सुनौं । आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं ।’ उनले आफूले भोट नदिनेहरुका लागि पनि उत्तिकै मेहनतका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

आशावादी सम्बोधन गरेका उनले सबैलाई साथमा लिएर अघि बढ्ने बताए । रिपब्लिकन र डेमोक्रेटको रुपमा अमेरिका बिभाजित नहुने बताउँदै उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ । सबैलाई साथमा लिएर अघि बढ्ने छु । मैले रातो र नीलो राज्यको रुपमा हेर्दिनँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै मिलेर काम गर्ने छौं ।’

आफूलाई भरोसा गरेर राष्ट्रपतिमा चुनेकोमा उनले मतदाताप्रति आभार र खुसी व्यक्त गरे । आफूले विभाजन नभई एकताको लागि काम गर्ने बताए । उनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने बाचा गर्दछु कि जसले फुटाउने भन्दा जोड्ने काम गर्ने छ, मैले सबैको भरोसा जित्ने कोशिस गर्ने छु ।’बाइडनले पहिलो काम कोरोना महामारी नियन्त्रणको लागि गर्ने योजना पनि सुनाए । उनले भने, ‘सोमबार एक टोली घोषणा गर्ने छु, जसमा कोरोना नियन्त्रणको योजनाका लागि काम गर्ने शीर्ष वैज्ञानिक र विशेषज्ञ हुनेछन् ।’ उनले अमेरिकाले कोसिस गर्दा कुनै कुरामा असफल नभएको पनि बताए ।

अमेरिकाका पचास राज्यमा जनसंख्याका आधारमा इलेक्टोरल कलेजका प्रतिनिधिहरुको संख्या तोकिएको छ। दुईवटा राज्य बाहेक बाँकी अठ्चालिस वटा राज्यमा रिपब्लिकन वा डेमोक्रेट पार्टीका राष्ट्रपतीय उम्मेदवार जसले बढी मत ल्याउँछ, ती राज्यका इलेक्टोरल मत उसैको पोल्टामा जान्छन् ।

ह्वाइट हाउस फेरि परम्परागत राजनीतिमा खारिएका बाइडेनको हातमा परेको छ। भलादमी, अनुभवी, आफ्ना विचार र नीतिहरुमा स्थिर बाइडेन अमेरिकी इतिहासमा अहिले सम्मकै पाको उमेरका राष्ट्रपति हुनेछन्। सन् १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटको सिनेटर भएका थिए। त्यसपछि लगातार सन् २००९ सम्म बाइडेन सिनेटर भए। अमेरिकी इतिहासमा सबैभन्दा लामो समय सिनेटर हुनेहरुको सूचीमा अठारौं नम्बरमा पर्छन् बाइडेन।

बाराक ओबामाको राष्ट्रपतीय कालमा बाइडेन सन् २००९ देखि २०१७ सम्म उपराष्ट्रपति पनि भए। राजनीतिमा बाइडेन धेरै परिपक्व र अनुभवी छन्। अहिलेका राष्ट्रपति ट्रम्पजस्ता उत्ताउला छैनन्। जीवनमा दुईपटक ब्रेनको सर्जरी गरेका बाइडेनले धेरै दुख सुख देखेका छन्। भावनाका उतार चढावहरु बेहोरेका छन्। र, अमेरिकी मुल्यपनि सायद ट्रम्पभन्दा उनले बढी नै बुझेका छन्।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button