अनलाइन टेलिभिजनमा आर्कषण बढ्दा स्थानीय टेलिभिजन छायाँमा पर्ने खतरा

प्रविधिको विकाससँगै टेलिभिजनको दायरा फराकिलो हुँदै 

पोखरा न्यूज । आज विश्व टेलिभिजन दिवस । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय पश्चात यो दिवस हरेक वर्ष २१ नोभेम्बरका दिन मनाइन्छ ।

त्यसो त विश्वमा टेलिभिजनले लामो इतिहास बनाइसकेको छ । वैज्ञानिक जेएल बेयर्डको नेतृत्वमा टेलिभिजन आविष्कार तथा प्रसारण गर्न खटिएको टोलीले सन् १९२६ मा पहिलो सफलतापूर्वक टेलिभिजन प्रसारणको सफल परीक्षण ग¥यो । त्यसको एक दशकपछि सन् १९३६ मा बेलायतमा नियमित प्रसारण सुरु भएको हो । सन् १९५० को दशकबाट रङ्गीन टेलिभिजनको विकास भएपछि झनै व्यापक हुनपुग्यो ।

टेलिभिजन प्रसारण सुरु भएर आजसम्म आइपुग्दा विभिन्न उतारचढाव विश्वको टेलिभिजन क्षेत्रमा देखियो । प्रविधिको विकाससँगै अहिले टेलिभिजनको दायरा फराकिलो हँुदै गएको छ । एउटा देश, एउटा ठाउँ, एउटा भूगोलमात्र नभएर विश्वभर फैलन सक्ने अवस्थाको सिर्जना अहिले छ ।

विश्वमा टेलिभिजन शुरु हुँदा केही सीमितता थिए जस्तैः दर्शकको सीमितता, प्रविधिको सीमितता, पहुँचको सीमितता । टेलिभिजन सेटको मूल्य समेत अहिले जस्तो आवश्यकता अनुसारको किन्न सक्ने थिएन, महँगो थियो । त्यतिबेला श्यामश्वेत टिभी स्क्रिनहरु प्रयोग हुन्थे । त्यसैले टेलिभिजन विस्तार हुन समय लाग्यो । विश्वमा टेलिभिजनको प्रयोग भएको लामो समयपछि मात्र नेपालमा टेलिभिजन प्रयोगमा आएको हो ।

२०३० को दशकमा काठमाडांै लगायत मुलुकका प्रमुख शहरी क्षेत्रमा भिडियो हेर्नका लागि टेलिभिजनको प्रयोग भइसकेको थियो । नेपालमा वि.सं. २०३८ सालमा श्री ५ बाट तत्कालीन राष्ट्रिय पञ्चायतमा सम्बोधन गर्दा नेपालमा टेलिभिजनको आवश्यकता र स्थापना गर्ने तर्फ पहल गर्ने कुरा सम्बोधन भएको थियो । पाँचौं पञ्चवर्षीय योजनाले विकासका लागि सञ्चार भन्ने मूलभूत योजना अगाडि सा¥यो ।

अमेरिकी टेलिभिजन विज्ञ तिमोथी ब्रेवरको टोलीले समेत २०४० सालमा टेलिभिजनको सम्भाव्यता अध्ययन गरेको थियो । त्यसैबेला जापानी टेलिभिजन एनएचकेले पनि नेपालमा टेलिभिजनको सम्भावनाबारे अध्ययन ग¥यो । जापानीहरु नेपालमा शैक्षिक च्यानल चलाउन उपयुक्त हुन्छ भन्ने पक्षमा थिए ।

नेपालमा टेलिभिजनको विकास हुन समय लाग्यो । विदेशी टेलिभिजनको प्रभाव बढ्दै गएपछि आफ्नै टेलिभिजन हुनुपर्ने आवश्यकताको बोध भयो । विदेशी टेलिभिजनहरुले नेपालको संस्कृतिमा पार्न सक्ने अतिक्रमण रोक्ने उद्देश्यका साथ २०४१ माघ १७ गते नेपाल टेलिभिजन परियोजना सुरु भयो । परियोजनाको उद्देश्य थियो–‘राष्ट्रिय एकता, अखण्डता र सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी कार्यक्रम बनाउने र प्रसारण गर्ने ।’

वि.सं. २०४२ पुस १२ देखि तत्कालीन सरकारले सञ्चार ऐनअन्तर्गत नेपाल टेलिभिजनलाई संस्थानमा परिणत ग¥यो । त्यस लगत्तै पुस १४ गतेदेखि २ घन्टे नियमित प्रसारण शुरु गरियो । टेलिभिजनको स्थापनासँगै यसको क्रेज बढ्न थाल्यो । सरकारद्वारा सञ्चालित टेलिभिजन भएको कारण आमदर्शकले अपनत्व पाउन भने सकेनन् । २०४९ सालमा राष्ट्रिय प्रसारण ऐन बनेपछि मात्र नेपालमा प्रसारण माध्ययमा नयाँ सम्भावना थपियो । विस्तारै निजी तथा सामुदायिक क्षेत्रबाट टेलिभिजन सञ्चालन हुने वातावरण बन्न थाल्यो ।

नेपालको सामुदायिक टेलिभिजनको इतिहास पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट सुरु हुन्छ । सन् १९९० मा पारिवारिक व्यवसायको रुपमा विद्युतीय उपकरण मर्मत गर्ने र स्थानीय बजारमा केबल टेलिभिजन सेवा प्रदायकको रुपमा स्थापित रत्न केबल टेलिभिजनले नै सामुदायिक टेलिभिजनको अभ्यास शुरु गरेको हो । दर्ता भएर नै निजी टेलिभिजनको स्थापना हुन नेपाल टेलिभिजनको स्थापना पश्चात झण्डै १८ वर्ष कुर्नुप¥यो । बैङ्ककबाट ‘स्याटेलाइट अपलिङ्क’ गरी ०५८ सालदेखि सञ्चालित च्यानल नेपालले २०६० सालमा नेपालबाटै प्रसारण अनुमति पायो । २०६० असोजमा नेपाल टेलिभिजनको दोस्रो च्यानलका रुपमा ‘एनटिभी टु’ स्थापना भयो ।

विस्तारै नेपाल टेलिभिजनको एकाधीपत्यबाट दर्शकले विकल्पको रुपमा निजी टेलिभिजनलाई पाउने अवस्था सिर्जना भयो । यो दर्शकका लागि नौलो कुरा पनि थियो ।२०६० असार २९ गते एकैदिन इमेज च्यानल र कान्तिपुर टेलिभिजनले प्रसारण सुरु गरे । इमेज च्यानलले २०५३ साल माघदेखि नै नेपाल टेलिभिजनको बिहानी प्रसारणको ९० मिनेट समय भाडामा लिई सांगीतिक कुराकानी र अन्य सामग्री समेत प्रसारण गर्दै आएको थियो ।

जनआन्दोलन २ पछि विस्तारै राजधानीबाट मोफसलतर्फ टेलिभिजन खुल्ने क्रम बढ्न थाल्यो । आन्दोलनलाई सफलता प्रदान गर्न मिडियाले पु¥याएको योगदानका कारण समेत मोफसलमा टेलिभिजनको विस्तार हुन थाल्यो । केन्द्रमा समेत टेलिभिजन खुल्ने क्रम बढ्यो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेभसाइटमा जनाइएअनुसार नेपालमा हाल केन्द्र र मोफसलमा गरी नेपालमा १ सय १६ वटा टेलिभिजनले इजाजत पाएका छन् ।

यता गण्डकी प्रदेशको राजधानी पोखरामा स्थानीय टेलिभिजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट इजाजत प्राप्त गरी प्रसारण सुरु गरेको झण्डै ७ वर्ष भयो । तर यहाँ केबुलमार्फत समय किनेर टेलिभिजन सञ्चालन हुन थालेको भने २०५९ सालबाटै हो । हाल पोखरामा चार वटा टेलिभिजन सञ्चालनमा छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेवसाइटमा उल्लेखित रेकर्डअनुसार २०७० बैशाख २५ गते इजाजतपत्र प्राप्त गरेको गोल्डेन आर्ई टेलिभिजन, सोही दिन इजाजत प्राप्त गरेको गण्डकी टेलिभिजन, २०७० माघ ८ गते इजाजत प्राप्त गरेको पोखरा टेलिभिजन, २०७१ साउन १८ गते इजाजत प्राप्त गरेको फेवा टेलिभिजन यहाँबाट सञ्चालित टेलिभिजन हुन् ।

पोखरामा टेलिभिजन हेर्ने क्रमको शुरुवात केबुलबाट भयो । हरिशरण श्रेष्ठले २०४४ साल जेठ ७ गते बिहीबार पहिलो केबल सेवाको रुपमा पोखराको इन्डियन पेन्सन क्याम्पमा श्याम कम्पनीको तयारी डिस जडान गरी केम्पभित्रको २०–२५ घरमा केबल मार्फत टेलिभिजन हेर्ने व्यवस्था गरिएको थियो । त्यतिबेला पोखरा बजारमा पनि डिस जडान गरी केबुल टेलिभिजन सेवा शुरु भएको थियो ।

नेपालमा क्षेत्रीय टेलिभिजन प्रसारणको अवधारणाको अभ्यास नेपाल टेलिभिजनले नै गरेको हो । २०४५ चैत १७ गते नेपाल टेलिभिजन सञ्चालक समितिको निर्णय अनुसार विराटनगरमा क्षेत्रीय प्रसारण केन्द्र स्थापना गरियो । पछि २०४६ सालमा माइक्रोवेभ लिंकद्वारा यो केन्द्रलाई केन्द्रीय प्रसारणमा जोडिएको थियो । त्यसैगरी पोखरामा २०४६ पुसमा क्षेत्रीय प्रसारण केन्द्र स्थापना गरिएको थियो । सो प्रसारणलाई २०४९ सालमा केन्द्रीय प्रसारणमा जोडियो । बाँकेको कोहलपुरमा क्षेत्रीय प्रसारण केन्द्र २०५३ सालमा स्थापना गरी स्थानीय कार्यक्रमलाई प्रसारण गर्न थालिएको हो । स्थानीय कार्यक्रम र समाचार उत्पादन एवं प्रसारण गर्दै आएको कोहलपुर केन्द्रलाई पछि २०५७ असार २५ गतेदेखि केन्द्रीय प्रसारणसँग माइक्रोवेभ लिंकद्वारा जोडियो ।

नेपाल टेलिभिजनले क्षेत्रीय अवधारणाको सुरुवात गरेपछि विस्तारै मोफसलमा समेत टेलिभिजको क्रेज सुरु हुन थाल्यो । सीमित स्रोत, साधन र ऐन नियमको अभावमा निजी क्षेत्रले टेलिभिजन सञ्चालन गर्ने अवस्था थिएन । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की पोखरामा टेलिभिजनको इतिहास नेपाल टेलिभिजनको स्थापना पश्चात राजाको क्षेत्रीय भम्रण हुँदाको समयबाट सुरु भएको बताउनुहुन्छ । तत्कालीन राजाको क्षेत्रीय भम्रण हुन्थ्यो । क्षेत्रीय भम्रणताका नै नेपाल टेलिभिजनले सुरुवात गरेको हो । त्यतिबेला टेलिभिजनको क्रेज बेग्लै थियो । रेडियो र पत्रिकाभन्दा अनुहारसहित आउँदा अर्कै क्रेज हुन्थ्यो । बगाले टोलमा क्षेत्रीय स्टुडियो नै थियो । केही वर्ष चल्यो । राजाको क्षेत्रीय भ्रमण हुँदा आफ्नो प्रचारप्रसारको लागि खोलिएको हो । लामो समय चलेन । उहाँले भन्नुभयो ।

२०४९ मा राष्ट्रिय सञ्चार नीति र राष्ट्रिय प्रसारण ऐन बनेपछि मात्र निजी लगानीमा विद्युतीय सञ्चार (रेडियो र टेलिभिजन) स्थापनाका निमित्त कानूनी बाटो खुला भयो । फलस्वरुप निजी क्षेत्रका एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चालनमा आउन थाले । सीमित स्रोतसाधन बीच पोखराका स्थानीय टेलिभिजनले गरिरहेको प्रयास सकारात्मक देखिन्छ । तर यसमा सन्तुष्ट हुने अवस्था भने छैन । एनलग प्रविधिबाट, डिजटल हुँदै एचडी प्रविधिमा गए पनि उनीहरुले प्रयोग गरेको प्रविधिलाई दर्शकले पूर्ण रुपमा महशुस गर्न सकेका छैनन् । कार्यरत जनशक्ति लामो समयसम्म नटिक्ने समस्या पोखराका स्थानीय टेलिभिजनमा छ । यसको मूख्य कारण उनीहरुले प्राप्त गर्ने सेवासुविधा तथा स्थानीय टेलिभिजनलाई भ¥याङ्गको रुपमा प्रयोग गरी अन्यत्र जाने सोचका विकास हुनु रहेको छ ।

यहाँका टेलिभिजनले विभिन्न कार्यक्रममार्फत सामाजिक कार्यमा जोडिएका छन् । तरपनि सीमित स्रोतसाधन र आम्दानीको कारण दर्शकको अपेक्षा र माग अनुसार अगाडि बढ्न नसकेको देखिन्छ । सोही कारण परिवर्तित समय र दर्शकको अपेक्षा अनुसार टेलिभिजनलाई परिमार्जन गर्दै लैजानुपर्ने अवस्था देखिन्छ । स्थानीय टेलिभिजनले प्रसारण गरिरहेका केही सामग्रीले दर्शकको माया पाइरहेको देखिएकोले प्रसारण गर्ने सबै सामग्रीमा अझै मेहनत गर्दै दर्शकको रुचि, माग समेतलाई ध्यान दिनुपर्ने आवश्यकता छ ।

पछिल्लो क्रममा अनलाइन टेलिभिजन खुल्ने क्रम समेत बढ्दै गएको छ । प्रविधिको कारण अनलाइन टेलिभिजनतर्फको आर्कषण पछिल्ला दिनमा बढ्न थालेको छ । समय अनुसार परिमार्जित हुन नसक्ने हो भने स्थानिय टेलिभिजनलाई अनलाइन टेलिभिजनले पछाडि पार्ने सम्भावना उतिकै देखिएको छ । अनलाइन टेलिभिजन प्रति आकर्षण बढ्दा स्थानीय टेलिभिजन छायाँमा पर्ने खतरा बढेको छ । फलस्वरुप स्थानीय टेलिभिजनले समेत अनलाइन मार्फत सामाग्री पस्कने क्रममा तीव्रता दिएका छन् । पोखरा गण्डकी प्रदेशको राजधानी भएकोले प्रदेशका ११ जिल्ला समेट्नेखालका स्याट्लाइट टेलिभिजनको आवश्यकता यहाँ रहेको छ भन्ने आवाज बेला–बेलामा उठ्ने गर्दछ । कोरोना महामारीका कारण आम्दानी घट्दा टेलिभिजन सञ्चालनमा झनै ठूलो चुनौती अहिले थपिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button