५० प्रतिशत छुटको व्यवस्था गरेपछि पोखरामा प्याराग्लाइडिङ गर्नेको संख्या बढ्दो

प्याराग्लाइडिङ गर्ने आन्तरीक पर्यटक हालसम्मकै उच्च

पोखरा न्यूज संवाददाता । सरकारले कोभिड -१९ संक्रमणको जोखिमका कारण गरेको लकडाउन पश्चात ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । पर्यटन क्षेत्र सुचारू भएसँगै नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि पर्यटकीय गतिविधिहरु सञ्चालन हुन थालेका छन् ।

लकडाउनपछिको लामो समय पश्चात पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराको आकाशमा दैनिक ५ सय देखि ६ सय जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।

सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न ५० प्रतिशत छुटको व्यवस्था गरिएपछि प्याराग्लाइडिङ उडान गर्नेहरुको संख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्य बताउनुहुन्छ । ‘प्याराग्लाइडिङ उडानको पुरानो मुल्यमा अहिले ५० प्रतिशत छुट दिएर ३ हजार ५ सय कायम गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ,’ आचार्यले भन्नुभयो । अहिले  प्रकृतिसँग रमाउन चाहनेहरुका लागि राम्रो माहोल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उहाँले बताउनुभयो ।

महासचिव आचार्यले दशैँ तिहारको अवधिमा पोखरामा प्याराग्लाइडिङ उडान गर्नेहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको जनाउदै यो समयमा पोखराको इतिहासमा हालसम्म कै धेरै आन्तरीक पर्यटकले प्याराग्लाइडिङ उडान गरेको बताउनुभयो ।

अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ । समय तालिका मिलाएर उडानको अनुमति दिइएको उहाँले बताउनुभयो । एकैसमयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्यण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो ।

पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button