पोखरामा नारायण गोपालको ३० औँ स्मृति दिवस मनाइयो

नयाँ पुस्तामा नारायण गोपाल कार्यक्रम सम्पन्न

पोखरा न्यूज । नारायण गोपालको ३० औँ स्मृति दिवस पोखरामा मनाइएको छ । दिवसको अवसरमा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शुक्रबार नयाँ पुस्तामा नारायण गोपाल कार्यक्रम आयोजना गर्यो  ।

अनप्लग्ड, स्रष्टा र समर्पण शीर्षकको कार्यक्रममा रेडियो अन्नपूर्णका संस्थापक स्टेसन म्यानेजर एवं वरिष्ठ साहित्यकार प्रकाश सायमी, गीतकार दिनेश अधिकारी, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्ण मोहन श्रेष्ठ र साङ्गीतिक कलाकार सङ्घ पोखराका अध्यक्ष सुनिल थापाले स्वरसम्राट नारायण गोपाल र उहाँको पोखरा सम्बन्धको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गीतकार दिनेश अधिकारीले नारायण गोपाल गीत गायन कविता सङ्ग्रहको नाम भएको उल्लेख गर्नुभयो । केटाकेटी स्वभावका गोपालले राम्रो गीत लेख्ने बित्तिकै आफूलाई पठाउन आग्रह गरेको स्मरण अधिकारीले गर्नुभयो । नारायण गोपालले आफ्नो सिर्जनामा गाएको अन्तिम गीत बजारमा आउन नसक्दा दुख लागेको अधिकारीको भनाई थियो ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नारायण गोपालले रचनाकारले भन्न खोजेको मर्म र भावना बुझेर गीत गाएको बताउनुभयो । ‘गीतको मर्म नबुझ्दा समस्या आउने गर्दछ, गलाको माध्यमबाट समाजलाई मार्ग दर्शक गर्ने स्वर सम्राट् नारायण गोपाल हाम्रो सामु भौतिक रूपमा नरहे पनि उनको कृति सधैँ अमर रहने छन्’ श्रेष्ठले भन्नुभयो ।

रेडियो अन्नपूर्णका संस्थापक स्टेसन म्यानेजर एवं वरिष्ठ साहित्यकार प्रकाश सायमीले नारायण गोपाल सङ्गीतको सच्चा साधक भएको उल्लेख गर्नुभयो । उहाँले गला र कलाले निखारिएका नारायण गोपाललाई शब्द छनोट ज्ञान भएका कारणले नै सिर्जनाले अमर बनाएको बताउनुभयो । नारायण गोपालले ४ मातृभाषा सहित एक सय ३७ गीतमा स्वर दिएरै नेपालको गायनको क्षेत्रमा चर्चा कमाएको सायमीको भनाई थियो । स्वर सम्राट् नारायण गोपाललाई हामीले गुमाएको दिनलाई मात्र होइन जन्म दिनमा पनि स्मरण गर्नुपर्ने सायमी बताउनुहुन्छ ।

साङ्गीतिक कलाकार सङ्घ पोखराका अध्यक्ष समेत रहनुभएका सङ्गीतकार सुनिल थापाले बाल्यकालमा नारायण गोपालकै गीतबाटै सुनेर आफूहरू आज यहाँ सम्म आएको बताउनुभयो । ‘नेपालको सङ्गीतको क्षेत्रमा उहाँकै गीत सुनेर बाल्यकाल बिताएका धेरै कलाकार छन् । सङ्गीत क्षेत्रको धरोहरका रूपमा नारायण गोपाललाई बुझ्छु’ थापाले भन्नुभयो । अहिले क्षणिक अवधिका लागि गीत गाउने हुटहुटी भएको बताउँदै नारायण गोपाल सङ्गीतको सच्चा साधक भएको उहाँको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका साहित्यकार कृष्ण मोहन श्रेष्ठले नारायण गोपालको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै रेडियो अन्नपूर्णले सह्रानीय काम गरेको उल्लेख गर्नुभयो । समय सान्दर्भिक कार्यक्रमले रेडियो उदाहरणीय बनेको उहाँको बुझाई थियो ।

कार्यक्रममा पोखरेली गायक गायिकाले नारायण गोपालको सम्झनामा उहाँले गाउनुभएका गीत सुनाउनुभएको थियो ।
रामभक्त जोजिजु, इतु जोजिजु, विनोद बानियाँ, अजुदा थापा, कौसल्या गुरुङ, विक्रम बराल, प्रयत्न श्रेष्ठ, सन्तोष बस्याल, ममता गुरुङले नारायण गोपालका अजर अमर गीत आफ्नो आवाजमा प्रस्तुत गर्दै उहाँको स्मरण गर्नुभएको थियो । सङ्गीतकर्मी प्रविन्दर सिंहले उहाँहरूलाई तबलामा साथ दिनुभएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले कोरोना कहरका बेला नारायण गोपालको स्मृतिमा यसरी कार्यक्रम सम्पन्न गर्न पाउनु सुखद रहेको बताउनुभयो । उहाँले नारायण गोपाल सधैँ अमर रहने बताउनुभयो । ‘नारायण गोपालका गीतलाई नसम्झने को होला र ? उनका गीत सुन्दा आफ्नै लागि गाएको हो भन्ने आभास हुन्छ ’ पालिखेले भन्नुभयो । हालका कलाकार भने अझै व्यावसायीक बन्न नसकेको तर्क पालिखेको थियो । कलाकारको संरक्षणमा राज्य स्तरबाटै पहल हुनुपर्नेमा उहाँको जोड थियो । राष्ट्रिय नाचघरको प्रमुख भएका बेला आफूले नारायण गोपाललाई भेट्ने अवसर पाएको उहाँले स्मरण गर्नुभयो ।

बाबु आशा गोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डौंको किलागलमा नारायण गोपालको जन्म भएको थियो । उहाँको निधन ५१ वर्षको उमेरमा २०४७ साल मंसिर १९ गते भएको हो । उहाँको वास्तविक नाम नारायण गोपाल गुरुवाचार्य हो । १९७१ मा पेमला लामासँग वैवाहिक सम्बन्धमा गासीनुभएका नारायण गोपालका बुबा आशा गोपाल गुरुवाचार्य एक कुशल वाद्य वादक हुनुहुन्थ्यो ।

आफ्नो जीवनकालमा १३७ वटा गीतमा स्वर दिएका नारायण गोपालका सङ्कलित नभएका गीतहरू छन् भने पनि को कससँग छन् यकिन भएका छैनन् । सितार, हार्मोनियम र बाँसुरीका प्रिय मान्छे हुनुहुन्थ्यो नारायण गोपाल । उहाँ आधुनिक नेपाली गीत सङ्गीत गायनको स्वर्ण कालका पहिलो पुस्ताका गायकमध्ये एक हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button