शम्भु थापाको निर्देशनमा फिल्म ‘हुक्का’ बन्दै

वर्षको एउटा फिल्म निर्माण गर्ने टिमको योजना

पोखरा न्यूज । पोखराका शम्भु थापाको निर्देशनमा नेपाली फिल्म ‘हुक्का’ निर्माण हुँदै छ । यो थापाको डेब्यु निर्देशन हो । झन्डै लगानी १ करोडको लगानीमा फिल्म निर्माण गर्न लागिएको निर्माण पक्षको दाबी छ ।

‘हुक्का’ फिल्ममा पोखराका प्रकाश घिमिरेको अभिनय हेर्न पाइनेछ । स्थापित कलाकार घिमिरेको सक्रियता पछिल्ला दिनमा झनै बढ्दै छ । घिमिरे सहित प्रमीला खनाल, तेज गिरी, अस्मिता न्यौपाने, सन्तोष कुमार आत्रेय, कुमार गुरुङ, शम्भु थापा, तलिसा गुरुङ लगायतको अभिनय फिल्ममा रहनेछ ।

प्रमीला खनाल थिएटर कलाकार हुनुहुन्छ । उहाँ फिल्म मार्फत नयाँ तरिकाले अगाडि बढ्न खोज्नुभएको छ । म्युजिक भिडियामा अभिनय गरिसक्नुभएकी खनाल राम्रो डान्सर समेत हुनुहुन्छ । फिल्ममा मुख्य भूमिकामा उहाँले पहिलो पटक अभिनय गर्न लाग्नुभएको हो । सोही कारण उत्साहित हुनुहुन्छ ।अस्मिता न्यौपाने फिल्म क्षेत्रमा अगाडि बढ्न खोज्नुभएको कलाकार हुनुहुन्छ । तेज गिरी काठमाण्डौमा बस्नुहुन्छ । उहाँले केही चलचित्रमा काम गरिसक्नुभएको छ । सिनेमेट्रोग्राफर जिम्मा कृष्ण बहादुर थापालाई दिइएको छ ।

निर सिनेमा र स्पाइनि बेबलर क्रिएसनको संयुक्त प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो ।‘हुक्का’ फिल्मको कार्यकारी निर्मातामा कमल भुजेल, किरण कुमार आत्रेय रहनुभएको छ । निर्माताको रूपमा पार्वती थापा,प्रकाश कार्की, सुयोग आत्रेय गुरुङ, सागर गुरुङ संलग्न हुनुहुन्छ । लाइन प्रोड्युसर कुमार गुरुङ, प्रोडक्सन मेनेजर सोहन थापा, स्क्रिन प्ले सन्तोष कुमार आत्रेय र भगवान् पौडेल, सह निर्मातामा चित्र विक, चिफ असिस्टेन्ट निर्देशक मिठो कम्पन, सह निर्देशन भूपेन्द्र ढकाल, सागर गोदार तथा ड्रेसको जिम्मा भीम श्रेष्ठलाई दिइएको छ ।

फिल्मको लागि वर्कसप गरेर काम सुरु गरिएको निर्देशक थापाले जनाउनुभयो । फिल्मको छायाङ्कन पोखरा आसपासका ग्रामीण भेगमा अहिले भइरहेको छ । कोरोना महामारीले सिर्जित अवस्था कस्तो हुन्छ त्यसले प्रदर्शनको मिति निर्धारण गर्ने निर्माण पक्षको भनाई छ । सम्भव भएमा नेपाली नयाँ वर्षको अवसरमा फिल्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । ‘स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै फिल्मको छायाङ्कन अहिले भइरहेको छ’ निर्देशक थापाले भन्नुभयो ।

निर्देशकको रूपमा काम गर्दा चुनौती र जिम्मेवारी एकदमै ठुलो हुने थापाको अनुभव छ । पोखरा न्यूजसँग कुरा गर्दै निर्देशक थापा भन्नुहुन्छ– ‘फिल्म निर्देशन सजिलो कुरा होइन, एकदम गाह्रो हुन्छ, अझ मैले त बाहिर व्यवस्थापन हेर्नुपर्ने, निर्देशन गर्नुपर्ने, आर्थिक पाटो सहित सबै जिम्मा समेत हुँदा गाह्रो भएको छ । तर तालमेल मिलाइरहेको छु । टिम एकदमै मिलेको छ । त्यसले सहजता भएको छ । किनकि सबै सहयोगी भावनाका छौँ । एक अर्कामा सहयोग गर्छौ । प्राविधिक टिमले राम्रो सहयोग गरिरहनुभएको छ । टिमवर्कले सजिलो भएको छ ।’

फिल्म हुक्का मार्फत गाउँघरमा हुने घटनालाई जस्ताको तस्तै पस्कन खोजेका उहाँको भनाई छ । फिल्ममा दुई वटा गीत समावेश गरिनेछ । ‘हुक्का’ फिल्म सफल बनाउने र पोखराबाटै वर्षको एउटा फिल्म निर्माण गर्ने थापा सहितको टिमको योजना रहेको छ । त्यसो त थापाको सफल निर्माता बन्ने सपना छ । ‘फ्रन्टमा अरूलाई राखेर निर्माताको रूपमा काम गर्ने मेरो रहर हो । बाहिरबाट आफूले सहयोग गर्दा राम्रो हुन्छ भन्ने लाग्छ’ उहाँले भन्नुभयो ।

हुन त शम्भु थापाको कलाकारिता क्षेत्रको यात्रा नाटकबाट भएको हो । ‘मेरो कलाकारिता यात्रा २०५२ सालमा नाटकबाट भएको हो । नाटकको निर्देशन सञ्जय लामाले गर्नु भएको थियो । नाम थियो कठोर । सभागृहमा नाटक मञ्चन गरिएको थियो । म गाउँले पात्रको रूपमा देखिएको थिए’ उहाँले भन्नुभयो ।

उहाँले पोखराको गोल्डेन आई टेलिभिजनबाट प्रसारित टेलिसिरियल ‘कञ्जुस बुढो’मा काम गर्नुभयो । निर्माता र कलाकारको रूपमा । यो टेलिसिरियल एपिसोड गयो । विभिन्न भूमिकामा अभिनय गर्ने क्रम उहाँले निरन्तर गर्नुभयो । विभिन्न वृत्तचित्र निर्माण समेत उहाँको सक्रियता रह्यो । पोखरा भन्दा बाहिरका साथीहरूको काम व्यवस्थापन गरिदिने काम गर्नुभयो । उहाँले निर्देशन गर्नुभएको ‘जीवनको दोबाटो’ टेलिसिरियल गण्डकी टेलिभिजनबाट गरियो । केही म्युजिक भिडियो निर्देशन गर्नुभयो । फिल्म तथा टेलिफिल्ममा कलाकारको रूपमा समेत देखिनुभयो ।

अब यसरी हुँदैन पोखराबाटै केही गर्नुपर्छ भन्ने उहाँको मनमा भयो । काठमाण्डौको भर नपरी पोखरामानै बसेर एउटा राम्रो टिम मार्फत काम गर्ने योजना बन्यो । स्पाइनि बेबलर क्रियसन कम्पनी दर्ता भयो । शम्भु थापा सहित सन्तोष कुमार आत्रेय, किरण कुमार आत्रेय, मिलेर कम्पनी स्थापना भएको हो । सोही कम्पनी मार्फत नेपाली फिल्म ‘धौली’ निर्माण गरियो । धौलीमा अर्जुन गोदारले समेत उहाँहरूलाई साथ दिनुभयो । घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्ममा निर्माता र कलाकारको रूपमा थापाले जिम्मेवारी पुरा गर्नुभयो । फिल्मले उहाँहरूको टिमलाई परिचित गरायो । फिल्म निर्माण गर्न काठमाण्डौनै बस्नु पर्ने हुँदैन । पोखराबाट समेत राम्रा फिल्म निर्माण गर्न सकिन्छ भन्ने सन्देश उहाँहरूको टिमले छ¥यो ।

थापा सहितको टिमले लामाचौरमा हल सञ्चालन गर्नुभएको छ । ७५ सिटको हल हो । हिमाज सिनेमा हल मार्फत ३ वटा फिल्म प्रदर्शन भइसकेको छ । यसमा थापा सहित झण्डै १५ जनाको समूहको लगानी छ । नेपालभरि यसरी नै हल बनाउने योजना उहाँहरूको थियो । पोखरा, लेखनाथ, स्याङ्जा, दमौली लगायतका ठाउँमा हल खोल्ने योजना कोरोनाका कारण अहिले स्थगित भयो ।

‘फिल्म धौली पछाडि अब कसरी गर्ने भनेर छलफल भयो । धौली–२ गर्ने कुरा थियो । सन्तोष कुमार आत्रेयले स्क्रिप्ट बनाउनुभयो । उहाँ लेखक हुनुहुन्छ । गाउँले परिवेशको सामाजिक कथा सबैलाई राम्रो लाग्यो र हुक्का निर्माण गर्न कस्सियौ’ थापाले सुनाउनुभयो । आफूहरूको काममा वरिष्ठ फिल्मकर्मी निर शाहको साथ रहेको थापाले खुलाउनुभयो । ‘हामीलाई निर शाहको साथ रहेको छ । हल खोल्नुमा पनि उहाँको देन थियो । बाहिरबाट राम्रो सर्पोट गर्नुभएको छ’ थापाले भन्नुभयो ।

हाम्रो पोखराबाटै गर्ने रहर थियो । सोही कारण क्रियाशील बन्न खोजेका हौ । किनकि काठमाण्डौबाट गर्दा हामी छायाँमा पर्‍यौ । धौलीले छुट्टै छाप छोडेको थियो । सोही कारण सजिलो हुने अपेक्षा गरिएको थापाले बताउनुभयो ।

निर्देशक थापाको जन्म पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजातीमा भएको हो । उहाँ बाल्यकालमा मिजासिलो स्वभावको हुनहुन्थ्यो । अनुशासित अरूलाई आदर गर्ने सानालाई माया गर्ने, केही कुराको नक्कल गर्ने, गीत गुनगुनाउने, अभिनय गर्ने स्वभाव उहाँको थियो । विभिन्न सडक नाटकमा उहाँले काम गर्नुभयो । त्यति बेला क्लब मार्फत नाटक देखाउने गरेको नाटक देखाएर भएको आम्दानीबाट क्लबको भवन बनाएर हस्तान्तरण गरेका उहाँले सुनाउनुभयो । विभिन्न सांस्कृतिक कार्यक्रममा समेत सहभागिता जनाउनुहुन्थ्यो । उहाँ सिक्दै अगाडि बढ्दै गर्नुभएको छ । ‘विभिन्न ठाउँमा सिके । सहकार्य गरे यसले निखरता थप्दै छ,’ उहाँले भन्नुभयो ।

उहाँले शिक्षण पेसा समेत गर्नुभयो । झण्डै १० वर्ष सरकारी र बोर्डिङ स्कुलमा काम गरेको अनुभव उहाँसँग छ । त्यति मात्र नभएर उहाँ स्टेसनरी व्यवसायमा संलग्न हुनुभयो भने पर्यटन व्यवसायी समेत उहाँ क्रियाशील हुनुहुन्छ । निर्माणाधीन फिल्म हुक्कालाई उत्कृष्ट बनाउन मेहनत गरिरहेका थापा निरन्तर फिल्मी क्षेत्रमा अगाडि बढ्ने बताउनुहुन्छ । ‘हुक्का’ फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगिसकेको निर्देशक थापाले जनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button