सुजन पुनको डेब्यु गीत ‘भाव’ तयार

पोखरा न्यूज । सुजन पुनको डेब्यु गीत ‘भाव’ तयार भएको छ । सुजन र किस्मतले रचना गरेको गीतमा संगीत रोहित रञ्जितको रहेको छ । यसअगाडि अरूका गीतमा आवाज भरे पनि आफ्नो ओरिजिनल गीत भने सुजनले पहिलो पटक रेकर्ड गर्नु भएको हो ।

हुन त उहाँ साङ्गीतिक क्षेत्रमा लागेको झण्डै ७ वर्ष भइसकेको छ । पोखरा २ विन्ध्यवासिनीका पुनले २ वर्ष पोखराको त्रिवेणी संगीतालयमा संगीत सिकेर आफूमा निखारता थप्नु भएको हो । उहाँलाई स्लो, मेलोडी गीत गाउन मन पर्छ । ‘भाव’ एकतर्फी माया सम्बन्धी गीत हो । यो गीत दर्शक श्रोतासँग कनेक्सन बनाउन तयार पारेको गायक पुनले बताउनुभयो । पोखरा न्यूजसँग कुरा गर्दै पुनले भन्नुभयो– ‘मलाई पहिला गीत गाउन मात्रै मन पर्थ्यो । गाउथे पनि । अनि अब आफूमा निखारता थप्नुपर्छ भन्ने लाग्यो, म्युजिक कक्षा लिन थाले । ६, ७ वर्ष सिक्दै गीत गाउन गरेपछि आफैले गीत बनाउनुपर्ने रहेछ भन्ने भयो र यो गीत तयार भयो । यो एकतर्फी माया सम्बन्धी गीत हो । मलाई जस्तो अरूलाई समेत परेको होला । म्याच होला, अनि साथ पाउँला भन्ने आशा छ ।’

गीतको भिडियोमा सुजन पुन, सिजन पुन, उमेश थापालाई देख्न सकिन्छ । सुजनले अव बिस्तारै अरू गीत समेत पस्कने तयारी गरेको सुनाउनुभयो । ‘अरू गीत छन्, अब अरू गीत पस्कन्छु, संगीतमा नै केही गर्ने मेरो सपना हो । मनको कुरा गीत मार्फत पु¥याउने धोको छ’ उहाँले भन्नुभयो । उहाँले गीत गाउने मात्र हैन गीत रचना समेत गर्नुहुन्छ । मनमा भएको दुःख, खुसी सम्झिँदै गीत लेख्ने गरेको उहाँले बताउनुभयो ।

उहाँ ‘अभ्यम’ ब्यान्डमा आबद्ध हुनुहुन्छ । ब्यान्ड फम भएको ४ वर्ष भयो । स्थापनाकालका मेम्बर सबैले छोडिसके अब सुजन मात्र हुनुहुन्छ । उहाँलाई हाल राजा गुरुङ, नितेष गुरुङ, जोसन गुरुङ, प्रदीप जिसीको साथ मिलेको छ । तर उहाँहरूको समेत कार्य व्यस्तताका कारण ब्यान्डलाई अगाडि बढाउन गाह्रो भएकोले सोलो गायनमा अगाडि बढ्ने योजना सुजनले बनाउनुभएको छ । सुजनमा नाच्ने कला समेत रहेको छ ।

उहाँको ‘भाव’ गीत मंसिर २६ गते शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । गीतको भिडियो म्याट्रिक्समा छायाङ्कन भएको हो । गीतको भिडियोले दर्शकको मन जित्ने सुजनको अपेक्षा छ । सुजनले लेकसाइडका रेस्टुरेन्ट तथा बारमा मात्र नभएर विभिन्न कार्यक्रममा समेत प्रस्तुति राखिसक्नु भएको छ । अहिलेसम्म अरूका गीत सुनाउँदै आएका उहाँले अब आफ्नै मौलिक गीत मार्फत दर्शक श्रोतामाझ स्थापित बन्ने रहर पाल्नु भएको छ । गीत सुनेर र हेरेर प्रतिक्रिया दिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । दर्शकका सुझाव तथा प्रतिक्रियाको आधारमा यात्रालाई अगाडि बढाउने उहाँको तयारी छ ।

सुजन पुनको गीत पोखरामा जारी रहेको साङ्गीतिक शृङ्खला बि.एस.रिदम ब्लाष्ट मार्फत सार्वजनिक हुनेछ । बि.एस. इन्टरटेनमेन्ट पोखराले सञ्चालन गरेको साङ्गीतिक शृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ ब्यान्ड तथा गायकहरूका गीत सार्वजनिक भइरहेका छन् । सिजनको पहिलो शृङ्खलामा द ड्रिमर्ज ब्यान्डको गीत, दोस्रो शृङ्खलामा युवराज पुर्जाको, तेस्रो शृङ्खलामा प्रज्वल जोजीजुको, चौथो शृङ्खलामा अडियो फार्म ब्यान्डको, पाँचौँ शृङ्खलामा द इन्फ्लेम ब्यान्ड, छैटौँ शृङ्खलामा निर्भिक ब्यान्ड, सातौँ शृङ्खलामा निष्कर्ष ब्यान्ड, तथा आठौँ शृङ्खलामा ब्ल्याक सिप ब्यान्डको गीत सार्वजनिक गरिएको थियो ।

नयाँ पुस्ताका श्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने रिदम ब्लाष्ट अन्तर्गत आत्म सर्ग, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्ल्याक रोज ब्यान्ड, सङ्गम पहाडी, र सब्बुको प्रस्तुति बाँकी नै रहेको छ । रिदम व्लाष्ट पहिलो सिजन १७ शृङ्खलासम्म चल्ने बि.एस.इन्टरटेनमेन्ट पोखराका सञ्चालक सज्नु सुनारले बताउनुभयो । यो कार्यक्रमले पोखराको साङ्गीतिक माहौललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button