साढे दुई रुपैयाँले हाफ टाइमसम्म फिल्म हेरेः बिनोद बाँनिया

पोखरा  न्यूज । बिनोद बाँनिया नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो । पोखराबाट सांगीतक यात्रा अगाडि बढाउनुभएका बाँनियाले पोखरामानै रहेर निरन्तर सक्रियता बढाइरहनुभएको छ । २०५७ सालमा ‘माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारिक रुपमा सांगीतिक यात्रा प्रारम्भ गर्नुभएका बाँनियाको पहिलो एलबम थियो ‘मान्छे’ । त्यसपछि ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आए । एलबमका अलावा विभिन्न फुटकर गीतका कारण उहाँको परिचय बेग्लै बनेको छ ।

पप, आधुनिक, गजल, राष्ट्रिय तथा खेलकुद गरी झण्डै ५० को हाराहारीका गीतमा उहाँले आफ्नो सुमधुर आवाज भरिसक्नु भएको छ । यतिनै गीतमा संगीत संयोजन समेत गर्नुभएका बाँनियाले केही गीत रचना गर्न समेत भ्याउनु भएको छ । छोटो फिल्म ‘फेम’ निर्देशन गरिसक्नुभएका बाँनियाले नेपाली फिल्ममा ‘दयारानी’मा गीत गाउनुभएको छ । खेल खेल्न तथा घुम्न रुचाउने उहाँलाई फिल्म हेर्न औधी मनपर्छ । यसपाली हामीले गायक बाँनियासँग फिल्मी क्षेत्रको बारेमा कुराकानी गरेका छौँ ।

कोरोना कहरको समयमा हल बाहेकका माध्यमबाट फिल्म हेर्नु भएको छ कि छैन ?

हेरेको छु, गत चैत्रदेखि अहिलेसम्म थुप्रै फिल्म हेरियो । टिभीको माध्यमबाट हिन्दी फिल्म बढी हेरियो । त्यसमा साउथ इन्डियन मूभी बढी छन् । नढाटी भन्दा लकडाउनको शुरुका तीनमहिना हिन्दी फिल्म नै बढी हेरियो । हुन त नेपाली फिल्म पनि हेरे यो समयमा ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभव नि ?

फिल्म हेर्न घरमा भन्दा हलमानै मज्जा आउने रहेछ । हलमा साथीभाइसँग हेर्दा फ्रेस हुन पाइन्छ । फिल्म हलको माहोलनै अर्कै हुन्छ । फिल्मनै हेर्न आएको भन्ने मनमा हुन्छ । रमाउदै फिल्म हेर्ने धुन हलमा हुन्छ । तर घरमा हेर्दा ध्यान धेरैतिर जान्छ । त्यसैले फिल्म हेर्न हलमानै मज्जा हुन्छ ।

फिल्म हेर्दाका केही रमाइला अनुभव ?

म फिल्मको एकदमै ठूलो फ्यान हो । सानोमा धेरै फिल्म हेरियो । मेरो घर कास्कीको हेम्जा । सानोछँदा हेम्जाबाट पोखराका हलमा फिल्म हेर्न आउन साह्रै गाह्रो हुन्थ्यो । हलमा दोस्रो, प्रथम, स्पेशल, बालकोनी र ड्रेसकल भनेर ठाउँ र शुल्क निर्धारण गरिएको हुन्थ्यो । त्यतिबेला हामीले प्रथम वा दोस्रोकै टिकट काटेर हेर्ने गथ्र्यौ । सेकेन्डको ४ रुपैयाँ, फस्टको ६ रुपैयाँ थियो । फिल्म हेर्न ६ रुपैयाँ पाउन निकै मुस्किल हुन्थ्यो ।

हेम्जाबाट करिब २ घण्टा हिडेर हलमा पुग्थ्यौ । विहान ८ बजे भात खाएर हिड्यो । १० बजे हलमा पुगिन्थ्यो । १२ बजे फिल्म शुरु हुन्थ्यो । कुर्नुको मजा झनै बेग्ले हुन्थ्यो । साढे १० बजेतिर लाइनमा बसिन्थ्यो । प्रायः लाइनको अगाडिनै परिन्थ्यो । अलिकति ढिलाहुँदा ब्ल्याकमा १० रुपैया तिरेर टिकट किनेर हेरिन्थ्यो । फिल्म हेर्नको लागि पैसा जम्मागर्न भने धेरै समय लाग्थ्यो । कहिलेकाही घरमा अलिअलि पैसा चोर्नेदेखि लिएर दक्षिणा कलेक्सन गरेर, आफूभन्दा ठूलासँग मागेर फिल्म हेर्ने गरिन्थ्यो । फिल्मको म साह्रै सोखिन थिए ।

 

हलमा हेरेको पहिलो फिल्म कुन हो ?

सानो छदाँ हिन्दी फिल्म बढी हेरिन्थ्यो । किनभने त्यो समयमा नेपाली फिल्म कम आउँथे । हामीले विन्ध्यवासिनी हल, पूर्णिमा हल, कल्पना हलमा पुगेर बढी फिल्म हेथ्र्यौ । मैले शुरुमा हलमा पुगेर हिन्दी फिल्मै हेरे । ‘महान्’ फिल्म हो जस्तो लाग्छ । हलमा हेरेको पहिलो नेपाली फिल्ममा ‘कुसुमेरुमाल’ हो । एकदमै अगाडि बसेर टाउको ठड्याएर पर्दामा फिल्म हेरेको अहिले सम्झदा अजिव लाग्छ ।

हलमा फिल्म हेर्न आउँदा फिल्म नहेरी फर्किएको याद छ ?

हामी फिल्म हेर्न हेम्जाबाट हलमा आउथ्यौ । कहिलेकाही हलमा फाइट पथ्र्यो, झगडा हुन्थ्यो । यस्तोमा भागाभाग गर्नुको विकल्प हुने थिएन । सोही कारण कहिलेकाही फिल्म नै नहेरी फकिन्थ्र्यौ ।

त्यतिबेला हल बाहेक फिल्म हेर्न अवसर हुने थियो कि थिएन ?

बेला–बेलामा त्यस्ता अवसर हुन्थ्यो । तर पैसा त तिर्नुपथ्र्यो । गाउँमा फिल्म हेर्ने भनेर दाइहरुले भिडियो डेक ल्याउथे । डेकमा फिल्म हेर्दा एउटा फिल्म हेरेको पाँच रुपैयाँ सम्म तिर्नुपथ्र्यो । डेक ल्याउदैछन् भनेपछि मन खुसी हुन्थ्यो । तर फिल्म हेर्न जाँदा घरमा जहिल्यै गाली खाइन्थ्यो । पैसा हुन्थेन पैसा समेत घरमानै माग्नुपथ्र्यो ।

त्यसरी फिल्म हेर्दाको रमाइलो सम्झना ?

मलाई याद छ त्यतिबेला सलमान खानको ‘मेने प्यार किया’ डेकमा हेरेको थिए । मसँग साढे दूई रुपैयाँ थियो । फिल्म हेर्न पाँच रुपैयाँ चाहिने । त्यही आफुसँग भएको साढे दूई रुपैयाँ तिरेर फिल्म हेर्दै थिए । जसले डेक ल्याएको थियो उसले हापटाइम हुने बेलामा निकालिदिएका थिए । किनकी उनले साढे २ रुपैयाको मात्र फिल्म हेर्न दिए । अहिले सम्झदा हाँसो लाग्छ । पुरै फिल्म मैले हेर्न पाइन ।

तपाईलाई मनपर्ने कलाकार ?

हिन्दीमा अमिताभ बचन, अमिर खान मनपर्छ । नेपाली कलाकारमा भुवन केसी मनपर्छ । नयाँ पुस्ताका खगेन्द्र लामिछाने मनपर्छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, गौरी मल्ल आदिको अभिनय समेत मलाई मनपर्छ ।

पहिलाका नेपाली फिल्म र अहिलेका नेपाली फिल्म केही फरक पाउनु भएको छ?

पहिलाका फिल्मको छुट्टै महत्व छ । पुराना फिल्म हाम्रो इतिहास हुन् । मौलिकता बोकेका फिल्म बढी बन्थे । अहिलेका फिल्मले समेत नयाँ टेष्ट दिन खोजेका छन् । पछिल्लो क्रममा बनेका फिल्म बुझेर बनाइएका जस्तो मलाई लाग्छ । पढेर, लेखेर, मेहनत गरेर फिल्म बन्न थालेका छन् । सामाजिक सन्देश बोकेकादेखि लिएर सत्य घटनामा आधारित भएका फिल्म बनेका छन् । यसरी हेर्दा नेपाली फिल्ममा सुधार भएको छ । पढेर बुझेर यो ‘फिल्ड’मा आएका धेरै छन् । यो नेपाली फिल्मको सकारात्मक पाटो हो ।

नेपाली फिल्मप्रतिको आकर्षण अझै बढाउन के हर्नुपर्ला ?

आम दर्शकको नाताले मलाई कस्तो लाग्छ भने यो क्षेत्रमा स्थापित हुन धेरै मेहनत चाहिन्छ । अध्ययन चाहिन्छ, संगतको कुरा पनि हुन्छ, यि सबै कुरा यो क्षेत्रमा लाग्नेले याद गर्नुपर्छ । नेपाली फिल्ममा मौलिकतालाई बढी ध्यान दिनसके झनै राम्रो हुने थियो । फिल्मकर्मीले आफुलाई सधै अपडेट गराईराख्नुपर्छ ।

फिल्ममा अभिनय गर्ने रहर पलायन कहिल्यै मनमा ?

मलाई फिल्ममा अभिनय गर्ने रहर त पलायन । हुनत म कक्षा १० मा पढ्दा अभिनय गर्थे । मैले नाटक खेलेको छु । ‘अध्यारोबस्ती’ नाटकमा हाँस्यकलाकारको रुपमा खेलेको थिए । पहिलो तथा अन्तिम नाटक नै त्यही बन्यो धेरैले तारिफ गर्नुभएको थियो । त्यसपछि फिल्ममा अभिनय गर्ने रहर भएन । अभिनय गर्न नखोजेनी फिल्मप्रतिको मोह त कहिल्यै घटेन । फिल्मप्रतिको मोहकै कारण छोटो फिल्म ‘फेम’ निर्देशन गरे । नेपाली फिल्म ‘दयारानी’मा गीत गाएको छु । फिल्म प्रर्दशन भने भएको छैन । अब अवसर पाए अन्य फिल्ममा गीत गाउने संगीत भर्ने रहर छ ।

अन्त्यमा सबैलाई के भन्नुहुन्छ ?

नेपाली चलचित्रलाई माया गरौ, नेपाली कलाकारलाई माया गरौँ सबैमाझ यहि अनुरोध गर्छु । यो अवसरका लागि पोखरा न्यूजलाई धन्यवाद ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button