फिल्म खेल्ने धोको त थियो : सुरेन्द्र गुरुङ

पोखरा । गायक सुरेन्द्र गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । गुरुङको जन्म कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वीरेठाटीमा भएको हो । उहाँको बाल्यकाल भने भारतको कलकत्तामा बित्यो ।

बुबा इण्डियन आर्मीमा भर्ति भएकोले उहाँले प्राथमिक शिक्षा आर्मी स्कूलमा लिनुभयो । नेपाल फर्किएपछि उहाँ वीरेठाटी माविमा कक्षा ७ मा भर्ना हुनुभयो । विस्तारै गाउँमानै क्लबमा आवद्धहुदै साँस्कृतिक कार्यक्रममा सहभागी बन्दै सामाजिक कार्यमा समेत सक्रिय बन्न थाल्नुभयो । रोधीमा आफ्नो प्रस्तुति सुनाउन थाल्नुभयो । रोधी र अन्य गाउँमा आयोजना हुने कार्यक्रमले उहाँको प्रस्तुतिमा निखारता प्रदान गर्दै लग्यो ।

एक्यापले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा चेतनामुलक गीत मात्र नभएर स्कूल स्तरीय र गाविस स्तरीय कार्यक्रममा भाग लिइ पुरस्कार जित्न थाल्नुभयोे । यसले सांगीतिक क्षेत्रमा अगाडि बढ्न उहाँलाई हौसायो । फलस्वरुप २०६६ सालमा ‘नाँच नाँच भन्छौ नि कान्छी’ बोलको तीजको गीतमा आवाज भरेर सांगीतिक क्षेत्रमा उहाँको औपचारिक यात्रा प्रारम्भ भयो । हालसम्म उहाँले विभिन्न गीत मार्फत दर्शक श्रोताको माया पाउनुभएको छ ।

२०६४ सालमा लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको सदस्यता लिएर प्रतिष्ठानमा आवद्ध हुनुभएका गुरुङ जिल्ला, अञ्चल र प्रदेशको विभिन्न पदमा काम गर्दै अहिले गण्डकी प्रदेश समितिको अध्यक्ष हुनुहुन्छ । नेतृत्व सम्मालेपछि प्रतिष्ठान गण्डकीलाई क्रियाशील बनाउन उहाँ निरन्तर खटिनु भएको छ । उहाँसँग हामीले यसपाली लोक दोहोरी क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रको बारेमा केही प्रश्न गरेका छौँ ।

कोरोना कहरको समयमा हल बाहेकका माध्यमबाट फिल्म हेर्नु भएको छ कि छैन ?

हेरेको छु, लकडाउनको समयमा घरमा हुँदा हिन्दी तथा नेपाली फिल्म हेर्ने अवसर मिल्यो । यही समयमा नेपाली फिल्म छक्का पंञ्जा, सेन्टी भाइरस, दाल भात तरकारी, जात्रै–जात्रा आदि फिल्म हेरे ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभव नि ?

हलमा र घरमा बसेर फिल्म हेर्दा धेरै फरक पाए । हलमा सबैजना एउटै उद्देश्यले जान्छौ । सबैको योजना फिल्म हेर्दै मज्जा लिने हुन्छ । माहोल पनि त्यस्तै हुन्छ । यसरी दर्शकको भीडमा बसरे फिल्म हेर्दा बातावरण छुट्टै रमाइलो हुन्छ । घरमा एक्लै बसेर हेर्दा बिषयवस्तु र फिल्म त त्यही हो तर साउन्ड तथा वातावरण त्यति रमाइलो हँुदैन । फिल्मको वास्तविक मज्जा हलमा गएर हेर्दा लिन पाइन्छ ।

हलमा हेरेको पहिलो फिल्म कुन हो ?

मेरो बाल्यकाल भारतको कलकत्तामा बित्यो । उतै फिल्म हिन्दी हेरियो । आर्मी क्याम्प भित्र बसेकोले त्यहाँ नेपाली फिल्म हेर्न पाइदैनथ्यो । नेपाल आएपछि मैले हलमा हेरेको पहिलो फिल्म ‘प्रतीक्षा’ हो । यो फिल्म पर्वतको कुश्मामा हेरेको थिए । यो फिल्मको छायाकंन घान्द्रुक आसपास आफ्नै ठाउँमा भएकोले हेर्न गएका थियौँ ।

फिल्म हेर्दाका केही रमाइला अनुभव ?

धेरै पहिला पर्वतको कुश्मामा नेपाली फिल्म हेर्दा फिल्ममा झरी परेको सिन थियो । झरी परेकोे सिन देखेर मेरो छेउमा बसेको एकजना दर्शक दिदीले छाता ओढेको अझै सम्झन्छु । त्यो बेला सबै हाँसियो । हुनत त्यसभन्दा अगाडिनै म आफै फिल्ममा खुकुरीले हानेर मारेको देख्दा चिच्याएको थिए । किनकी मलाई साच्चिकै मारेको होला भन्ने लाग्यो । म चिच्याउँदा नजिकै बस्नेले नचिच्याउँ भन्दै गाली गरेका थिए ।
गाउँमा रहँदा फिल्म कसरी हेर्नुहुन्थ्यो ?

एक्यापले विभिन्न सन्देशमुलक फिल्म गाउँमा प्रोजेक्टर मार्फत देखाउथ्यो । स्कूलको पाङग्रणमा देखाइने फिल्म १० रुपैयाँ तिरेर हेरिन्थ्यो । पछि गाउँमा सबैभन्दा पहिले हाम्रो घरमा टिभी लगियो । सबै जम्मा भएर फिल्म मात्र नभएर टिभीमा आउने कार्यक्रम हेर्दा झनै रमाइलो हुन्थ्यो ।

वीरेठाँटीबाट पोखरामा कतिको आउनुहुन्थ्यो फिल्म हेर्न ?

हामी कल्पना हलमा फिल्म हेर्न आउथ्यौ । आफ्नै नातेदारको हल भएको कारण त्यहाँ जान्थ्यौ । एउटा कार्ड बनाइएको थियो । फिल्म हेर्न मन लाग्दा त्यहीं कार्ड देखाएर हेर्न पाइन्थ्यो ।

तपाईंलाई  मनपर्ने कलाकार ?

सबै कलाकारलाई सम्मान छ तर मेरो मनपर्ने फिल्मी कलाकार राजेश हमाल र रेखा थापा हुनुहुन्छ ।

पहिलाका नेपाली फिल्म र अहिलेका नेपाली फिल्म केही फरक पाउनु भएको छ ?

नेपाली फिल्मको राम्रो पक्ष भनेको यो समय अनुकूल परिवर्तन हुदै गएको छ । नयाँ-नयाँ कलाकारको अनुहार देखिदै छ र दर्शकले मन पराएका छन । नयाँ प्रविधि अपनाउन समेत खोजिएको छ । हुनत पुराना फिल्मको आफ्नै महत्व छ ।

नेपाली फिल्मप्रतिको आकर्षण अझै बढाउन के हर्नुपर्ला ?

सुधार गर्नुपर्ने पक्ष भनेको भारतीय फिल्मको कपी गर्ने शैलीमा हो । यस्तो गरेको मलाई मन पर्दैन । फिल्ममा नेपाली लोक संस्कृति र मौलिक पक्ष हराउदै छ । कथाको विषयवस्तु अल्ली मिल्दैन । शुरु र अन्त्य हावाका भरमा सकिन्छ यसमा सुधार गर्नपर्छ । यसका अलावा फिल्मसँग सम्बन्धित कलाकारले अन्तरवार्ता दिँदा सामान्य कुराहरुको ज्ञान नहुँदा बेइज्जत भैरहेको छ । फिल्मी कलाकारले एक अर्कालाई सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्छ । एउटा फिल्म चल्दैमा केही कलाकारले अन्य कलाकारलाई मान्छे नगन्र्ने परिपाटीको विकास भइरहेको छ यो गलत हो सुधार्नुपर्छ ।

फिल्ममा अभिनय गर्ने रहर पलायन कहिल्यै मनमा ?

फिल्म खेल्ने धोको त थियो । तर गायन पेशा र सामाजिक काममा व्यस्त भएको हुँदा अँधुरो भयो । तर म्युजिक भिडियोमा कथाले मागे अनुसार आफ्नो भूमिका निर्वाह गरेकै छु ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button