पोखरामा भोलि शुक्रबारदेखि फिल्म हल खुल्ने

पोखरा । कोरोनाका कारण बन्द भएका पोखराका फिल्म हल पौष १० गते शुक्रबारबाट खुल्ने भएका छन् । शुक्रबारबाट पोखराको मल्टीप्लेक्स हल मिड टाउन सिनेमाज, पोखरा सिनेप्लेक्स र लामाचौरमा रहेको हिमाज सिनेमाहल सञ्चालनमा आउन लागेका हुन् । यी हल ५० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना महामारीको त्रास कायमै रहेकोले फिल्म हलमा स्वास्थ्य मापदण्डको पुरै पालना गर्ने हल सञ्चालकको तयारी छ ।

पोखराको मल्टिप्लेक्स हल मिड टाउन सिनेमाजका व्यवस्थापक निकेश द्वाले शुक्रबारबाट फिल्म प्रर्दशन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । हल सञ्चालन हुने भएपछि तयारी स्वरुप रिहर्सल गरिएको उहाँले बताउनुभयो । ‘हामीले हल सञ्चालन गर्नको लागि तयारी रहन रिहर्सल गरेका छौ, हल ५० प्रतिशतको क्षमतामा सञ्चालन गर्ने हो’ व्वस्थापक द्वाले भन्नुभयो । स्टाफहरुलाई अप्रेशन गाइडलाइन अनुसार काम गर्न तालिम प्रदान गरिएको उहाँको भनाई छ । मिड टाउनमा रहेका दुईवटै हलमा पालैपालो फिल्म प्रर्दशन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । हल सञ्चालमा आएपनि दर्शकको भीडभाड हुन ३ देखि ६ महिना लाग्ने उहाँको अनुमान छ ।

मिड टाउन सिनेमाजमा दुईवटा मल्टिप्लेक्स हल रहेका छन् । दूईवटा हलमा गरी कुल ३ सय ५० सिट क्षमता रहेको छ । आमा, सेन्टिभाइरस र दि इनभिजिबल म्यान प्रर्दशन गर्ने तयारी मिड टाउनमा गरिएको छ ।

यता क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्सको मेनेजर राजन पुरीले पनि हल खोल्ने तयारी भएको बताउनुभयो । सिनेप्लेक्समा रहेका दूई हलको कुल सिट क्षमता ५ सय ७४ हो । हल सञ्चालनका लागि आफूहरुले छलफल र पूर्व तयारी गरिरहेको पुरीले बताउनुभयो । ‘नयाँ फिल्म छैनन्, पुरानै रिलिज भइसकेका फिल्म देखाउने हो, पहिलो दिन दुई सो देखाउने तयारी छ’ पुरीले भन्नुभयो । सिनेप्लेक्समा समेत आमा, सेन्टिभाइरस र दि इनभिजिबल म्यान प्रर्दशन गर्ने तयारी गरिएको छ ।

हिमाज सिनेमाहल लामाचौरका सञ्चालक मध्येका एक शम्भु थापाले शुक्रबारबाट हल खुल्ने बताउनुभयो । ‘हामी शुक्रबारबाट हल खोल्न तयार भएका छौँ’ थापाले भन्नुभयो । थापा सहितको टिमले लामाचौरमा हलसञ्चालन गरेको छ । यो हलको क्षमता ७५ सिटको हो । यो हल सञ्चालमा आएको धेरै भएको छैन । लकडाउन अगाडिसम्म यो हल मार्फत ३ वटा फिल्म मात्र प्रदर्शन भएका थिए । यो हलमा शुक्रबारबाट कुल्ली नम्बर १ फिल्म देखाइनेछ ।

सिनेप्लाजा अन्र्तगतका विन्ध्यवासिनि, श्रीकृष्ण र बाराहीहल भने तुरुन्तै सञ्चालनमा आउने छैनन् । सिनेप्लाजा पोखराका सञ्चालक उत्तम द्वाले सिनेप्लाजा अन्र्तगत फिल्म हल भने तत्काल नखुल्ने बताउनुभयो । ‘नयाँ सिनेमा रिलिज भए भने खोल्ने तयारी हो, पहिलेनै रिलिज भएका फिल्म प्रर्दशन गर्ने गरेर खोल्ने तयारी हामीले गरेनौ’ उहाँले भन्नुभयो । शुक्रबारबाट सञ्चालनमा आउने हलको केही दिनको अकुपेन्सी हेरेर निर्णय गर्ने तयारी गरेको उहाँको भनाई छ ।

‘शुक्रबारबाट मिड टाउन खुल्छ, मिड टाउननै फेरी बन्द हुने स्थिती आयो भने सिनेप्लाजाका हल खुल्ने कुरा भएन, अहिले स्थिती राम्रो देखिएको छैन । निर्माताबाट सर्पोट भएन, नयाँ फिल्म रिलिज गर्न तयार हुन भएको छैन, पहिले रिलिज भइसकेका फिल्म देखाएर त धेरै दिन नचल्ला’ पोखरा न्युजसँग कुरा गर्दै सिनेप्लाजा पोखराका सञ्चालक द्वाले भन्नुभयो । नयाँ फिल्म प्रर्दशन गर्न निर्माता डराउनुभएको र यसमा सरकारबाट पनि सहयोग नभएको उहाँको भनाई छ । हुनपनि हल सञ्चालककै फोर्समा फिल्म हल खोल्न थालिएको हो ।

 

सिनेप्लाजा अन्र्तगत चारवटा हल छन् । विन्ध्यवासिनी, श्रीकृष्ण, बाराही क र बाराही ख । चारवटा हलको कुल सिट क्षमता ३ हजार ४ सय हो । विन्ध्यवासिनी हल र श्रीकृष्ण हलको एक–एक हजार सिट क्षमता हो भने बाराही क र बाराही ख को सात सय–सात सय सिट क्षमता हो । नेपाल चलचित्र संघकको पहलमा फिल्म हल खुल्न लागेका हुन् । यसअघि गत मंसिर २९ गते नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले विज्ञप्ति मार्फत नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लुएचओको सुरक्षा मापदण्ड अपनाई फिल्म हल सञ्चालन गर्ने बताउनुभएको थियो । संघकै पहल तथा आग्रहमा शुक्रबारदेखि ९ महिना देखि बन्द रहेका देशभरका फिल्म हल खुल्ने तयारी भएको छ ।

फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, फिल्म हल सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज पूर्णरुपमा मिनाह हुनुपर्ने, फिल्म प्रर्दशन व्यवसायले उद्योगकको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मुल्य अभिवृद्धि कर मिनाह हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी बक्यौतामा कर तथा शुल्कहरु २०७८ आषाढ मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने, चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार महसुल छुट हुनुपर्ने संघको सरकारसँग माग छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button