लोपोन्मुख ठाडोभाका संरक्षण गरिदै

राजाराम पौडेल । लोपोन्मुख ठाडोभाकाको संरक्षण गर्न थालिएको छ । जसका लागि दुरा जातिमा प्रचलित अत्यन्त दुर्लभ लोपोन्मुख ठाडोभाका दोहोरी गीतको छायाँङ्कन हालै सम्पन्न गरिएको छ ।

नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र ठाडोभाका लोककला प्रतिष्ठान लमजुङ्गको सह–आयोजनामा दुरा जातिमा प्रचलित अत्यन्त दुर्लभ लोपोन्मुख ठाडोभाका दोहोरी गीतको छायाँङ्कन गरिएको प्रतिष्ठानको परिषद सदस्य लोकसङ्गीत विभाग प्रमुख समेत रहनुभएकी वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

गीतको छायाकंन लमजुङ जिल्लाको राइनास नगरपालिका वडा नं ८ मा भएको थियो । ठाडोभाका गीतको छायाकंनमा लमजुङ्गका विभिन्न भेगबाट मात्र नभएर तनहुँ बन्दीपुरबाट समेत कलाकार सहभागी रहेको कोइरालाले बताउनुभयो । ठाडोभाका उपाधिद्धारा विभुषित ८६ वर्षकी नन्दमाया दुरादेखि २१ वर्षका नवीन बरालसम्मका ठाडोभाका गाउने कलाकारहरुको सहभागिता त्यहाँ रहेको थियो ।

लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको सभापतित्वमा लमजुङको राइनासमा अवस्थित मानव सेवा आश्रमको हलमा कार्यक्रम समेत आयोजना गरिएको थियो । सो कार्यक्रममा करिब ४५ जना गायक–गायिकाको सहभागिता रहेको थियो । सो कार्यक्रममा गायिका कोइरालाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया, ठाडोभाका लोककला प्रतिष्ठानका मूख्य संरक्षक संस्कृतिकर्मी बुद्धिमान गुरुङ्ग र ठाडोभाका अनुसन्धानकर्ता मुक्तिनाथ घिमिरेले ठाडोभाका गीतको महत्वको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।

दुरा जातिमा प्रचलित अत्यन्त दुर्लभ लोपोन्मुख ठाडोभाका दोहोरी गीतको छायाँङ्कनले यसको संरक्षणमा केही हदसम्म सघाउ पुग्ने तथा नयाँ पूस्ताले ठाडो भाका गीतको बारेमा बुझ्न पाउने कोइरालाको विश्वास छ । ठाडो भाका संरक्षणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सक्रियता देखाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button