फिल्म फेरिदाको दिन कहिल्यै कक्षामा हुँदैनथेँः विनोद लामिछाने

पोखरा न्यूज । विनोद लामिछाने पेशाले पत्रकार हुनुहुन्छ । २०५८ सालदेखि पोखरालाई नै आफ्नो कर्मथलो बनाउँदै निरन्तर उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील बनिरहनु भएको छ ।

उहाँको पत्रकारिता क्षेत्रको यात्रा स्वदेशी आवाज सन्ध्याकालिन दैनिकबाट भएको हो । त्यसपछि पोखरा हटलाइन, हिमदूत, जनमत दैनिक, रेडियो अन्नपूर्ण, रेडियो बाराही, पोखरा टेलिभिजन, मयुर टाइम्स न्यूज हुँदै हाल उहाँ आदर्श नेपाल दैनिकमा सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँको पत्रकारिताको मुख्य विट खेलकुद हो । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको पूर्वअध्यक्ष रहनुभएको उहाँ खेलकुद विटमा कलम चलाउने मात्र नभएर खेल खेल्न समेत अगाडि सर्नुहुन्छ । पोखराको नागढुंगामा जन्मिनुभएका लामिछाने सामाजिक कार्यहरुमा समेत उतिकै सक्रियता देखाउनुहुन्छ । उहाँ नागढुंगाको क्लवको अध्यक्ष हुनुहुन्छ । यसपाली उहाँसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोध्दै उहाँको विगतका दिनलाई स्मरण गर्न खोजेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
म फिल्म निकै हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
मलाई हलमै गएर फिल्म हेर्न मन पर्छ । हेर्न त घरमा बसेर समेत हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा एकदम मज्जा लाग्छ । ध्यान जति पूरै स्किृनमा हुन्छ । घरमा हेर्दा घरि को आउँछ, घरि के हुन्छ । एक सुरले हेर्न पाइदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
स्कुल पढ्दा राजा रानीको जन्मदिन, प्रजातन्त्र दिवस लगायत विभिन्न दिवसमा स्कूलले टुंडिखेल लैजान्थ्यो । तर टुंडिखेल कहिल्यै पुगिएन । हामी विचमै लाइनबाट भाग्थ्यौं । फिल्महल पुग्थ्यौं । सन्तान, साइनो लगायतका फिल्म कम्तिमा दश । दश पटक हेरेको छु । हामी दिनदिनै हलमा पुग्थ्यौं । हिन्दी फिल्ममा फाइट गन्थ्यौं । चौध फाइट, पन्ध्र फाइट भन्दै साथीहरुलाई गफ लगाउँथ्यौ । सबैभन्दा मज्जा लागेको फिल्म ‘शोले’ थियो । पैसा दिएपछि टिकट काटिदिने केहि दादा केटाहरु हुन्थे । मान्छे माथि मान्छे चढेर टिकट काट्थे । यस्तो बेला फाइट पनि पथ्र्यो। कहिलेकाँहि टिकट काट्ने लाइन मिलाउन पुलिस आउँथे ।

कलेज पुगेपछि समेत फिल्म हेर्ने मेरो चाहना उस्तै थियो । ‘फष्ट डे फष्ट शो’ नै हेर्नुपर्छ भन्ने मेरो मान्यता थियो । फिल्म फेरिदाका दिन कहिल्यै कक्षामा हुँदैन्थे । नब्बे दशकका अधिकांश फिल्म मैले पहिलो शो मै हेरेको छु । कहिलेकाहिं टिकट काट्न सकिएन भने वा ब्ल्याकमा समेत पाइएन भने फर्कनुपथ्र्यो । त्यस्तो बेला नरमाइलो लाग्थ्यो ।

हलमा हेरेको पहिलो नेपाली फिल्म ?
मलाई याद भएसम्म मैले शुरु शुरुमा हेरेको चलचित्र ‘कुसुमे रुमाल’ र ‘कान्छी’ हुन् । ‘कुसुमे रुमाल’ मैले कल्पना हलमा हेरको थिए । पूर्णीमा हलमा हेरेको पहिलो फिल्म ‘कान्छी’ थियो । पछि दीपज्योती हल बन्यो । दीपज्योतीमा हेरेको पहिलो चलचित्र ‘तहखाना’ हो । यो भूतको फिल्म थियो । मलाई भूतको फिल्म हेर्न एकदम मज्जा लाग्ने । त्यतिबेला हामीले प्रायः टिकट काट्थेनौं । यसो काटिहाले पनि सेकेण्ड क्लासको । तीन मोहरमा टिकट पाइन्थ्यो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकारमा भुवन केसी, अमिर खान, करिश्मा मानन्धर हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
पुराना नेपाली फिल्महरु नेपाली पाराकै हुन्थे । नेपाली फिल्म वर्षमा फाट्टफुट्ट लागेपनि लामो समयसम्म चल्थ्यो । दर्शकहरु नेपाली फिल्मै कुरेर बस्थे । तर पछि एकाएक बाढी जस्तै आउन थालेपछि नेपाली फिल्मा आफ्नैं मौलिकता पनि हराउँदै गएको आभाष हुन थाल्यो । कथावस्तु भन्दापनि हाहा हुँहुँलाई जोड दिन थालियो । अब फेरि सुधार हुन खोज्दैछन् ।

सुधार गर्नुपर्ने पक्ष ?
नेपाली फिल्म निर्माण गर्दा मौलिकतामा जोड दिनुपर्छ । दर्शकलाई नेपाली फिल्म हेर्दा नेपालीपनाको आभाष गराउने खालका फिल्म बन्नुपर्छ ।
सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
मलाई अभिनयमा रहर कहिल्यै भएन । फिल्म हेर्न क्रेजी भएपनि कलाकार बन्ने सपना बनाइन ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
कुनै बेला कल्पना हलको सेकेण्ड क्लासमा समेत बस्ने सिट नपाएर अगाडि सिमेण्टीको भूइमै बसेर फिल्म हेरेको याद छ । वरपर ‘ट्र्वार ट्र्वार’ गर्दै भ्यागुता उफ्रेन्थे । अहिले हाम्रै पोखरामा सुविधायुक्त मल्टिप्लेक्सहरु खुसिसकेका छन् । आनन्द लाग्छ । तर सिनेमाको बजार भने पहिलाको तुलनामा खस्किएको छ । राम्रा फिल्म नबनेकै कारण यस्तो भएको हो कि ! किनकी राम्रा नेपाली फिल्मले राम्रै पैसा कमाएको उदाहरणहरु पनि छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button