पोखरा न्यूज । महेश त्रिपाठी सानो उमेरमा नै रोर्वट बनाएर चर्चामा आएका व्यक्ति हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर २४ मौलामा जन्मिएका त्रिपाठी बाल्यकालदेखि नै फिल्मी क्षेत्रप्रति उतिकै आर्कषित हुनुहुन्थ्यो । एसएलसी उत्र्तीण भएपछि इञ्जिनियरिङ अध्ययन गर्नुभयो ।
उहाँको मनबाट फिल्मप्रति आर्कषण रत्तिभर घटेको भने थिएन । इन्जिनियरिङ अध्ययन पश्चात फिल्म क्षेत्रमा लाग्ने सोचले उहाँ काठमाण्डौ जानुभयो । त्यहाँ फिल्म सम्बन्धी अध्ययन गर्नुभयो । अभिनय गर्ने क्रम सुरु भयो । थिएटरमा पुगेर अभिनयकलामा थप निखारता थप्नुभयो ।
उहाँले हालसम्म करिब पाँच सय जति छोटा फिल्ममा अभिनय गर्नुभएको छ । ती फिल्म स्वदेशी तथा बिदेशी फिल्मी महोत्सवमा समेत छनोट भएका छन् । केही विदेशी फिल्ममा समेत उहाँले अभिनय गुर्नभयो । युरोपियन, अमेरिकन, जापानीज निर्देशकसँग संगत गर्ने अवसर उहाँले पाउनुभयो ।
ओष्कार इन्टरनेशनल कलेजमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थीमाझ प्राध्यापन पेशा मार्फत आफ्नो ज्ञान समेत बाड्ने अवसर उहाँलाई मिल्यो । त्रिपाठीले अभिनय गरेका दुई नेपाली चलचित्र चपलीहाइट–३ र हल्कारा प्रदर्शनको क्रममा रहेका छन् । आज त्रिपाठीसँग हामीले फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।
तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
सामान्यभन्दा धेरै हेर्छु, जति हेर्नुपर्ने हो, जति पहिले हेर्थे उति हेर्ने अहिले अलि समय मिल्दैन, तर फुर्सद हुने बित्तिकै हेर्छु ।
तपाईको फिल्म हेर्ने माध्यम के हो ?
सामान्यतया नेपाली, हलिउड, हिन्दी सिनेमाहरु प्रायः हलमा पुगेर नै हेर्छु तर कतिपय राम्रा फिल्म जुन हलमा चल्दैनन् ती सिनेमाहरु घरमै ल्यापटप र टिभीमा इन्टरनेटका माध्यमले हेर्छु ।
हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हुनत सिनेमा हलमै हेर्नका लागि बनाइएको हुन्छ । हलमा ठुलो स्कृनमा हेर्दा फरक अनुभूति त भई नै हाल्छ तर कतिपय गम्भीर प्रकृतिका सिनेमाहरु हुलमुलमा भन्दा एकान्तमा बसेर हेर्दा अझ त्यो सिनेमाको गम्भीरतालाई बुझ्न थप मद्दत पुगेको अनुभूति गरेको छु । सोही कारण मलाई हलमा र घरमा दुवै ठाउँबाट हेर्दा फरक खालको अनुभूति हुन्छ ।
बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
अहिले जस्तो हलमा पुगेर फिल्म हेर्ने कल्चर त्यति बेलाको हाम्रो समाजमा लगभग थिएन भन्दा पनि हुन्थ्यो । फिल्म हेर्न कुरा गरियो भने छोराछोरी विग्रिएको भन्ने बुझिन्थ्यो । म कक्षा नौमा पढ्दा किताब किन्छु भनेर घरमा बुबालाई ढाँटेर त्यही पैसाले फिल्म हेरेको छु ।
हलमा हेरेको पहिलो फिल्म ?
आजकल लाग्छ मैले हलमा गएर सिनेमा हेर्न धेरै पछाडि सुरु गरेको रहेछु । मैले हलमा हेरेको पहिलो नेपाली फिल्म फिल्म ‘पन्छि’ हो ।
मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने फिल्मी कलाकार धेरै हुनुहुन्छ तर सिनेमा अनुसार मलाई बिशेष गरेर उहाँहरुको क्राफ्ट मनपर्छ जस्तो हलिउडमा मार्लिन ब्रान्डो, डेनियल डेलिस, टम ह्याङस, बलिउडमा नसुरउद्दिन शाह, ओम पुरी, आमिर खान, पंकज कपुर, इरफान खान, नवाजुद्दिन सिद्धिकी, पंकज त्रिपाठी, मनोज वाजपेयी, संजय मिश्र, तव्बु, सीमा विश्वास लगायत मनपर्छ र सधै उनै कलाकार मनपर्ने भन्ने चाहिँ हुदैन उहाँहरुले सिनेमामा गर्ने काम अनुसार मलाई प्रभाव पार्छ ।
नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्मको सकारात्मक पक्ष भनेको नै नेपालमा सिनेमा निर्माण भइरहेका छन् । केही न केही रुपमा नेपाली समाजमा नेपाली फिल्मको अस्तित्व रहनु यसको सकारात्मक र सवल पक्ष हो ।
सुधार गर्नुपर्ने पक्ष ?
सुधार गर्नुपर्ने धेरै कुरा बाँकी छन् । नेपाली सिनेमाले बामे सर्दै गरेको यस परिवेशमा नितिगत रुपमा तथा सिनेमा निर्माणको तवरले सुधार गर्नु पर्ने छ जस्तो मलाई लाग्छ ।
सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
सिनेमा हेरेपछि सिनेमा भित्रको चरित्र आफै हु कि जस्तो लाग्थो । सानोछँदा फिल्म हेरेर बाहिर निस्के पछि साथीहरुसंग त्यस्तै चरित्र बनाएर खेल्ने गरिन्थो । शायद त्यही कुराले कलाकार बन्ने सपना बुनिदै गएछ होला । स्कूल पढ्ने क्रममा गाउँमा बल्ल विजुली गएको थियो । सो समयमा गाउँमा श्यामश्वेत टेलिभिजन थियो । हतार–हतार काम सकेर टीभी हेर्न गइन्थ्यो । सायद ग्लामर्सतर्फ आर्कषण भएर होला ।
फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
हाम्रो देशको परिवेशमा दिन प्रतिदिन सिनेमाहरु बन्दै गइरहेका छन् । यति हुँदाहुँदै हाम्रो समाजमा जसरी सिनेमा कल्चरको विकास हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । जसका लागि उत्कृष्ट सिनेमाहरु निर्माण हुदै जाने र नितिगत रुपमा सिनेमा कल्चरको विकास हुदै जाने हो भने हाम्रा सिनेमाहरुले पनि विश्व सिने जगतमा छुटै अस्तित्व स्थापित गर्न सक्नेछन् जस्तो मलाई लाग्दछ ।