किशोर उमेरमा लुकिलुकी यौनजन्य उपन्यास समेत पढिन्थ्यो : दीपक समीप

पोखरा न्यूज । दीपक समीप पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष हुनुहुन्छ । बुबा रामबहादुर र मुमा नानिमाया श्रेष्ठको तेस्रो सन्तानको रुपमा लमजुङ सोतीपसलमा जन्मिनुभएका समीपको बाल्यकालदेखिनै साहित्यतर्फको झुकाव थियो । उहाँले आठ कक्षा पढ्दाबाट मुक्तक लेख्न शुरु गर्नुभएको हो । स्कूलमा आयोजना हुने विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कारसमेत जित्नुभयो ।
२०४९ सालमा लमजुङबाट साहित्यको उर्वरभूमि पोखरामा आए सँगै उहाँको प्रतिभा झनै फक्रने अवसर मिल्योे । उहाँले साहित्यिक व्यक्तिलाई भेट्ने तथा आफ्ना सिर्जना पत्रिकामा निरन्तर प्रकाशन गर्ने अवसर पोखरा आएपछिमात्र प्राप्त गर्नुभएको थियो ।

उहाँले २०६२ मा आफ्नो पहिलो गजल संग्रह ‘ भूगोलभित्र नखुलिएको देश’ पाठक समक्ष पस्कनुभएको थियो । यही गजल संग्रहबाट उहाँले गजल साधना सम्मान २०६३ पुरस्कार पाउनुभयो । हालसम्म पाँच सयको हाराहारीमा गजल, दुई सय जति मुक्तक, ५० भन्दा बढी कविता, एक सय गीत, ५० जति हाइँकु, थुप्रै लघुकथा उहाँले लेख्नुभएको छ । उहाँले २०५४ र २०५५ सालमा मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार हात पार्नु भएको थियो । यसका अलावा उहाँले साहित्य क्षेत्रका विभिन्न पुरस्कार र सम्मान पाइसक्नुभएको छ । गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँ विभिन्न साहित्यिक संस्थामा आवद्ध हुनुहुन्छ । साहित्यको क्षेत्रमा निरन्तर सक्रिय साहित्यकार समीपसँग यसपाली पुस्तक अध्ययनसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

पुस्तक कतिको पढ्नुहुन्छ ?

पुस्तक प्रायः पढ्ने गर्छु । लामो समयसम्म पुस्तक नपढिरहन सक्दिन ।

कोर्समा भएका पुस्तक र बाहिरी पुस्तक अध्ययन गर्दा हुने फरक ?

स्कूले जीवनदेखि नै म पुस्तक अध्ययनको लागि अनुशासित विद्यार्थी हुँ । पढ्नमा रुचि सानैदेखि नै हो । पहिलेदेखि नै कोर्सको पुस्तक र बाहिरी पुस्तक समय मिलाएर पढिन्थ्यो । कोर्समा भएका पुस्तक ज्ञान प्राप्ति र पास हुनकोलागि पढियो । पढ्नै पर्छ भनेर पढियो । बाहिरी पुस्तक चाहिं आफ्नो रुचिको हिसाबले, ज्ञान प्राप्तिको हिसाबले, मनोरञ्जनको हिसाबले पढियो । पछिपछि चाहिँ आफ्नो पुस्तक प्रतिको प्रेम, लेखनमा चलेको ट्रेण्ड र लेखकको लेखन शैली थाहा पाउनको लागि बाहिरी पुस्तक पढ्ने गरियो ।

तपाईलाई मनपर्ने पुस्तक कुन कुन हुन् ?

वेद व्यासको ‘महाभारत’, पर्ल बकको ‘द गुड अर्थ’, सिद्धिक सालिकको ‘प्रेसर कुकर’, तेहमिना दुर्रानीको ‘ब्लास्फेमी’, बेन्यामिनको ‘खबुज’, फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस’, सर रिचार्ड बुर्टोनको ‘द अरेबियन नाइट्स’, गुरुप्रसाद मैनालीको ‘नासो’, बिपी कोइरालाको ‘जेल जर्नल’ , ‘श्वेत भैरवी’, माधव घिमिरेको ‘गौरी’, पारिजातको ‘शिरिषको फूल’, ‘धुपी, सल्ला र लालिगुँरासहरुको फेदमा’, हर्क गुरुङको ‘ मैले देखेको नेपाल’, भूपी शेरचनको ‘घुम्ने मेच माथि अन्धो मान्छे’, सरुभक्तको ‘पागलबस्ती’, ‘निमावीय’, ध्रुवचन्द्र गौतमको अलिखित, डायमण्ड शम्शेर राणाको ‘सेतो बाघ’, कृष्ण धरावासीको ‘राधा’, ‘झोला’, नारायण ढकालको ‘प्रेतकल्प’ वानिरा गिरीको ‘कारागार’, नयनराज पाण्डेको ‘उलार’, ‘लू’, कुमार नगरकोटीको ‘मोक्षान्तः काठमान्डु फिभर’ मलाई मनपरेका पुस्तक हुन् ।

तपाईंलाई लेखन शैलीमा अब्बल लेखक के लाग्छ ?

आफ्नै समाज, देश, भूगोल, प्रकृति, मानव र मानवीय पक्ष बोलेको मनपर्छ । प्रायः लेखकका मनोभावना उस्तै भए पनि प्रस्तुथि गर्ने शैली फरक–फरक हुन्छ्न् । जटिल विषयवस्तुलाई सरल र सरस तरिकाले अभिव्यक्त गर्ने लेखक मलाई प्रिय लाग्छ ।

लगातार कति समयसम्म पुस्तक पढ्नुहुन्छ ?

पढ्दै जाँदा पुस्तकले मनछोयो, तान्यो भने म रातभर पढ्ने गर्छु । त्यस्तो पुस्तक पुरै नसकिन्जेलसम्म पढ्ने गर्छु ।

तपाईं पुस्तक पढ्ने माध्यम ?

आजभोलि  इन्टरनेटबाट समेतपढ्ने गर्छु । बढी चैं पुस्तक पसलबाटै किनेर पढ्ने गर्छु । खासमा नेटमा पढेको भन्दा पेपर बुकमा आफ्नै हातको औलाले थुक लगाउदै पाना पल्टाउँदै पढ्दा मजा लाग्छ ।

पुस्तक अध्ययनसँग सम्बन्धित केही रमाइला वा नरमाइला अनुभव सुनाउनु ?

पहिला-पहिला उपन्यास पढ्दा अभिभावकको आँखा छलेर पढ्नु पथ्र्यो । कोर्सको पुस्तक छोडेर अन्य पुस्तक पढ्दा सन्तान बिग्रन्छन् कि भन्ने अभिभावकलाई चिन्ता हुन्थ्यो । किशोर उमेरमा सामाजिक कथा उपन्यासको अलवा लुकिलुकी यौनजन्य उपन्यासहरु समेत पढिन्थ्यो । त्यस्ता पुस्तकहरु साथीभाइहरुबाट प्राप्त हुन्थे । घरमा लुकाएर राख्न, पढ्न नै गाह्रो हुन्थ्यो ।

सानामा लोककथाहरु पढ्दा त्यसको पात्रमा आफूलाई राखेर पढ्दा कल्पनाको संसारमा उडिन्थ्यो । आफूलाई लोककथाको राजकुमारसँग राखेर कल्पनामै तानाबाना बुन्दै रमाइन्थ्यो । अहिले पनि पुस्तक पढ्दा कतिपय पात्रहरुमा डुबेर दुखित भइन्छ । पहिले मात्र होइन अहिले समेत कथा उपन्यास पढ्दा पात्रले पाएको दुःख, संघर्ष अनि कथा वियोगान्तमा गएर टुङ्गिदा मन दुख्ने गर्छ । आँखाबाट आँसु झर्ने गर्छ ।

पुस्तक किन पढ्ने ?

पुस्तक अध्ययन एक किसिमको नशा जस्तै हो । पुस्तक विशाल ज्ञानको भण्डार हो । ज्ञान प्राप्तिकोलागि पढ्नै पर्छ । पुस्तक पढ्दा लेखकलाई एक किसिमको उर्जा प्राप्त हुने गर्दछ । त्यो उर्जा प्राप्तिको खातिर झन पुस्तक पढ्नै पर्छ । अझ लेखकहरु त अप टु डेट हुनकोलागि पनि पुस्तक र पत्रपत्रिका निरन्तर पढिरहनै पर्दछ ।

नेपाली लेखकले पुस्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?

पहिले-पहिले ‘क्लिष्ट’ लेखन लेखकको बौद्धिक क्षमता मापन गर्ने कसि हो भन्ने भ्रम थियो । डिस्नेरी हेरेरै पनि सरल शब्दहरुलाई अमूर्त बनाउने प्रयास जस्तो देखिन्थ्यो । लेखकले सकेसम्म क्लिष्ट शब्दहरु राख्थे । अहिले सरल शब्दहरु राखेर लेख्ने चलन छ । लेखकले लेखेको शब्दहरु लाइन पिच्छे शब्दकोस पल्टाउनु प¥यो भने पढ्दा मजा आउदैन । बोलिचालिको भाषामा लेख्यो भने पढ्दा मजा आउँछ । कथा उपन्यास या निबन्ध पनि कवितात्मक शैलीमा सरर बग्यो भने पाठकलाई लेखकको लेखनले तान्दछ र पाठकलाई पठनमा बाँध्न सकिन्छ । लेखकको लेखन शैली र प्रस्तुति आफ्नोपनको भयो भने लेखक बाँच्न सक्दछ । अरुको लेखनशैलीको सिकोले लेखकले आफ्नो पहिचान गुमाउँदछ । त्यसैले लेखकले विषयवस्तुमा नयाँपन खोजिरहन पर्दछ भने लेखनशैली र प्रस्तुतिमा भने आफ्नोपन दिइरहनु पर्दछ ।

पाठकले कसरी पुस्तक छनोट गर्ने र पढ्ने केही तरिका भन्नुन ?

सर्वप्रथमतः आफ्नो रुचिको विषयवस्तु के को पाठकले निक्र्यौल गर्नु पर्दछ र सोही अनुसारको पुस्तक छनौट गरी पढ्नु पर्दछ । हल्लाको भरमा पढ्दा पाठकको समय र पैसा दुवै नास हुन्छ । राम्रो पुस्तकको बारे साथीभाइले पनि जानकारी दिन सक्छन् । त्यसबाट नि केही हदसम्म पुस्तक छनौटमा सहजता होला । फेरि पाठकको क्षमता अनुसार पुस्तक राम्रो नराम्रो लाग्ने हुन्छ । कसैलाई राम्रो लागेको पुस्तक अर्कोलाई राम्रो नलाग्न सक्छ । कसैलाई एकदमै मन परेको पुस्तक अर्कोलाई ठिकै मात्र पनि लाग्ला । यी कुराहरु पाठकको रुचि र क्षमता अनुसार फरक पर्ने कुराहरु हुन् । वास्तवमा पुस्तक छनौट गर्ने तरिका झट्ट भन्नू पर्दा गाह्रो छ । नपढिकन कुनै पनि पुस्तकको बारे धारणा बनाउन गाह्रो हुन्छ । र फेरि त्यो धारणा सबैकोलागि उपयुुक्त हुन्छ भन्न सकिदैन ।

अन्तमा पुस्तकप्रेमीलाई के भन्नुहुन्छ ?

पुस्तक प्रेमीहरुलाई के भन्न चाहन्छु भने, फेसबुक, ट्विटर, इन्ष्टाग्राम, टिकटक र गेममा भुल्नु भन्दा बढी से बढी पुस्तक पढ्नुस् । सकभर पुस्तक आफैले किनेर पढ्नुस् । लेखकलाई पुस्तक किनेर हौसला दिनुस् । लेखकलाई लेखेर बाँच्न सक्ने वातावरण सिर्जना गरिदिनुस् । पढेर मात्र चुपचाप पनि नबसिदिनुस् । पढेको पुस्तक बारे साथीभाइहरुलाई बताउने गर्नुस् । पुस्तकबारे बहस, छलफल गर्नुस् । सबभन्दा भन्नै पर्ने कुरा के भने, पढ्छु भनेर लगेको अरुको पुस्तक पढिसकेपछि पुस्तकवालालाई फिर्ता दिने गर्नुस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button