स्टोभको बर्नर बेचेर फिल्म हेरे : नवीन घायल

‘करोडपति’ फिल्म हेर्न टिकट नपाएर रुँदै घर फर्किएको थिए

पोखरा न्यूज । नवीन पौडेल घायल अहिले अष्ट्रेलियामा हुनुहुन्छ । नेपाल रहँदा उहाँ कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँले २०५७ सालमा ‘राष्ट्रिय नाटक महोत्सव’ मा मञ्चन गरिएको नाटक ‘अङ्गना’ सँगै कलाकारिता क्षेत्रमा पाइला अगाडि बढाउनुभएको हो । उहाँले २०५८ सालमा मोफसलबाट निर्माण गरिएको चलचित्र ‘प्रेम पागल’ मा अभिनय गर्नुभयो । उहाँले अभिनय गरेको पहिलो फिचर फिल्म भने ‘भुल भए माफ गर’ थियो । नारीको वेदना, मार्केट, ग्याङस, त तँ साह्रै सप्रिस नि बद्री, के यो माया हो, फन्को, नाईके, प्यास आदिमा काम गरिसक्नुभएको उहाँले अभिनय गरेको पहिलो सर्ट ‘मूभी’ भने ‘धर्म भित्रको पीडा’ थियो ।

उहाँले घरको माया, अभ्यन्तर, अयथार्थ–यथार्थ आदि रेडियो नाटकमा समेत आफ्नो आवाज भरिसक्नु भएको छ । यसका अलावा उहाँले विभिन्न म्युजिक भिडियो मार्फत आफ्नो क्षमता देखाइसक्नुभएको छ । उहाँको कलाकारिता क्षेत्रमा औपचारिक आगमन पत्रकारिता क्षेत्रको यात्रा शुरु भएपछि भएको थियो । उहाँको पत्रकारिता क्षेत्रमा आगमन २०५६ माघ १ गतेबाट भएको थियो । उहाँले पोखराको पोखरापत्र दैनिक पत्रिकाबाट पत्रकारिता आरम्भ गर्नुभयोे । त्यसपछि उहाँले जनमत, चेतनापत्र, हिमचुली एफ.एम, समाधान राष्ट्रिय दैनिक, ताल नगरी साप्ताहिक, न्यू भिजन नेपाल मासिक खबर पत्रिकालगायतका मिडियामा काम गर्नुभयो । उहाँको पत्रकारिताको मुख्य बीट फिल्मी पत्रकारिता थियो । चलचित्र पत्रकार संघ कास्कीको संस्थापक उपाध्यक्षसमेत रहनुभएका उहाँको जन्म कास्की जिल्लाका पाउँदुरमा भएको हो । हाल अष्ट्रेलियामा रहनुभएका घायलसँग फिल्मी क्षेत्र र फिल्मी पत्रकारितासँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

म फिल्म धेरै हेर्छु । अहिले म अष्टे«लियामा छुँ तरपनि यहाँ हप्ता वा पन्ध्र दिनको फरकमा फिल्म हेर्छु । युट्युबमा आएका हिन्दी र नेपाली फिल्महरु प्रायः सबै हेर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

अहिले त मेरो फिल्म हेर्ने माध्यम युट्युब नै हो । युट्युब च्यानलबाटै फिल्म हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा त धेरै नै मज्जा हुन्छ । हलमा फिल्म हेर्नु भनेको सतप्रतिशत मनोरञ्जन लिनु हो । हलमा फिल्म हेर्दा त्यही खालको परिवेश र फिल्मकै पात्रमा डुबेको अनुभव हुन्छ भने घरमा हेर्दा त्यति साह्रै मज्जा आउँदैन । घरमा कानमा हेडफोन लगाएर हेर्छु । यसरी हेर्दा आउने साउण्ड त्यति मनपर्दैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

धेरै अनुभव छन् । बाल्यकालमा त मसँग फिल्म हेर्ने पैसा हुदैनथ्यो । नेपाली फिल्म ‘सीमाना’ विन्ध्यवासिनी हलमा लाग्दाखेरी म सँग फिल्म हेर्ने पैसा भएन । त्यतिबेला मैले स्टोभको बर्नर बेचेर त्यो फिल्म हेरेको थिए । पैसा जुटाउन धेरै गाह्रो पथ्र्यो त्यसबेला । बुबा ममीसँग मागेर सजिलै पाइने अवस्था थिएन । यस्तै स्टेभका बर्नरहरु बेच्ने, पुराना कापी किताबहरु बेच्ने र फलाम बेचेर पैसा जम्मा गरेर फिल्म हेर्थे । त्यतिबेला विन्ध्यवासिनी हलमा लाग्ने प्रायः सबै नेपाली फिल्म हेर्थे ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरेको पहिलो फिल्म नेपाली फिल्म ‘चेलीबेटी’ हो । यो मैले विन्ध्यवासिनी हलमानै हेरेको हुँ ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने पुराना पुस्ताका कलाकारमा राजेश हमाल र करिश्मा मानन्धर हुनुहुन्छ । अझैपनि उहाँहरुको अभिनय मनपर्छ । नयाँ पुस्तामा अर्पण थापा देखि लिएर खगेन्द्र लामिछाने, दयाहाङ राई, अशिष्मा नकर्मी मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

पहिलाका कथा आर्टिफिसियल टाइपका हुन्थे । एउटा हिरोले १० जना गुण्डा मारेको देखाइन्थ्यो, त्यस्तैखालको परिवेश हुन्थ्यो । पहिलाका फिल्मका गीतहरु भने राम्रा हुन्थे । अहिलेको फिल्ममा नेचुरल चिज देख्न पाइन्छ । सिनेमेट्रोग्राफीबाट उतारिएका कुनैपनि चिज जस्तैः हिमाल, पहाड, घर, खेतबारी देखाउन प¥यो भने अहिले ड्रोनको प्रयोग गर्न थालिएको छ । पहिला ट्रलीमा राखेर खिचिन्थ्यो भने अहिले ड्रोनबाट खिचिन्छ । यसका अलावा अहिले फिल्मले दिने सन्देश र कलाकारले गर्ने अभिनय साच्चिकै जीवन्त लाग्छ ।

सुधार गर्नुपर्ने पक्ष ?

जति पनि नेपाली फिल्म बनेका छन् । सबै राम्रा छन् । एउटा कुरा भने सुर्धानुपर्छ । पहिलाका फिल्ममा जथाभावी भाषा सुन्न पाइदैनथ्यो । समाजले पच्न नस्क्ने भाषा सम्पादन गरिथ्यो । अहिले बोल्ने भाषा कमन भएका छन् । समाजमा अपच्य शब्द समेत राखिएको पाइन्छ । सोही कारण संवादमा सुधार्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

फिल्ममा अभिनय गर्ने रहर सानैबाट हो, जतिबेला म फिल्म भनेर बुझ्थे । पहिला रेडियो नेपालमा धन लामा र जय प्रकाश रिजालले कार्यक्रम चलाउनुहुन्थो । २०५०, ५२ सालतिर उहाँहरुको ‘सिनेमाला’ भन्ने रातको समयमा रेडियो नेपालमा आउथ्यो । म गाउँमा जन्मिएको मानिस त्यो कार्यक्रम सुन्थे । पछि म कलाकारिता क्षेत्रमा लागे । केही फिल्ममा काम गरे । खझै फिल्ममा अभिनय गर्ने रहर हुँदाहुँदै पारिवारिक जिम्मेवारीका कारण फिल्म लाइनबाट अहिले बाहिर छु । अहिले म विदेशमा छु । यहाँबाट फकिएपछि नेपाली फिल्ममा केही गर्छु ।

फिल्मी पत्रकारिताको सुरुवात कसरी गर्नुभयो ?

म प्रमाणपत्र तह अध्ययन गर्न पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएको थिए । पोखराबाट प्रकाशित हुने दैनिक पत्रिका पोखरापत्रको शुभारम्भसँगै म पत्रकारिता क्षेत्रमा होमिएको हुँ । त्यसपछि मैले जनमत पत्रिकामा काम गरे । जनमतमा जाँदै गर्दा फिल्म पत्रकारिता शुरु गरे । त्यतिबेला आर्दश समाजबाट श्रीराम सिग्देलले गर्नुहुन्थ्यो, शिव शर्मा चञ्चलले समाधानमा लेख्दै हुनुहुन्थ्यो । हामी थोरै थियो फिल्मी पत्रकारिता गर्ने । मैले २०५७, ०५८ सालबाट फिल्म पत्रकारिता शुरु गरे । रेडियो तथा विभिन्न पत्रिकामा काम गरेको अनुभव मसँग छ ।

त्यतिबेला फिल्मी पत्रकारितामा कस्तो चुनौती थियो ?

चुनौती धेरै थियो । स्रोत सामाग्री पाइदैनथ्यो । पत्रकारिता गर्न निकै गाह्रो थियो । काठमाण्डौबाट प्रकाशन हुने एउटा कामना पत्रिका थियो । त्यहाँबाट केही श्रोत जुटाउुपथ्र्यो । टेलिभिजनमा आउने कार्यक्रम ‘क्ल्यापबोर्ड’ हेरेको भरमा समाचार बनाइन्थ्यो ।

अहिले सन्तुष्ट हुने अवस्था छ ?

अहिले सन्तुष्ट हुने अवस्था छ । धेरै साथी पत्रकारितामा व्यवसायिक रुपमा आउनुभएको छ । व्यवसायिक रुपमा काम गर्नु भएको छ । कतिपयले पत्रकारितालाई आधार बनाएर जीवीकोपार्जन गर्नु भएको छ । पहिलाभन्दा राम्रो छ । अहिले मिडिया धेरै छन् । विभिन्न मिडियामा आफ्नो आवद्धता जनाएर साथीहरुले पत्रकारिता गर्नु भएको छ । सोही कारण अहिले पहिलाको जस्तो गाह्रो छैन ।

फिल्ममा पोखराको अवस्था पहिला र अहिले कस्तो पाउनुहुन्छ ?

फिल्म हेर्न पहिला टिकट पाउननै गाह्रो हुन्थ्यो । हलमा घन्टौसम्म लाइनमा बस्नुपथ्यो । टिकट लिन मारामार हुन्थ्यो । टिकट पनि ब्ल्याकमा किन्नुपथ्र्यो । ‘जुनतारा’ भन्ने फिल्म हेर्दा ५ रुपैयाँ स्पेशलको टिकटलाई २५ रुपैयाँसम्म तिर्नुपरेको थियो । ‘करोडपति’ फिल्म हेर्न टिकट नपाएर रुँदै घर फकिएको थिए । पहिला गाह्रो थियो । सिमित हल थिए । अहिलेको जस्तो मल्टीप्लेक्स हल थिएनन् । हल पनि फोहोर हुन्थ्यो । अहिले धेरै सुधार भएको छ मल्टीप्लेक्स हलछन् । फिल्मको प्रिन्ट राम्रो छ । फिल्मको बजार राम्रो छ । आधुनिक हल बनेका छन् । पहिला भन्दा धेरै फरक आएको छ । फिल्म बनाउने कलाकार निर्माता फरक-फरक हुनुहुन्छ । पहिला एकै खालका हुन्थे । अहिले फिल्मबाट राम्रो कमाई समेत हुन थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button