शहीद तथा बेपत्ता परिवारलाई सम्मान र बीमा

पोखरा न्यूज । विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भए । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् ।

गाउँपालिकाले तिनै शहीद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भागेको व्यक्तिका परिवारलाई सम्मान तथा बीमा गरेको छ । गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड-१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

‘गएको वर्ष नै निर्धारित कार्यक्रम कोरोनाले रोकिएपछि अहिले निरन्तरता दिएका हौं,’ गाउँपालिका अध्यक्ष आझाले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । त्यो परिवारको सम्मान र आय आर्जनसँग जोड्नु गाउँ सरकारको कर्तव्य नै हो ।’

पालिकाले त्यस्ता परिकारलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ भने परिवारका ५ जनासम्मको स्वास्थ्य बीमा गराएको छ । त्यस्ता परिवारलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिएको हो ।‘स्वास्थ्य बीमाका लागि चाहिने सबै रकम गाउँपालिकाले नै तिरिदिने छ । एक जनाको परिवारका ५ जना सदस्यले यो बीमाको सुविधा पाउने छन्,’ ओझाले भने, ‘गाउँपालिकाभित्रका सबै त्यस्ता परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ती परिवारलाई सम्मान गरिन् । सम्मान गर्दै मन्त्री पुनले त्यस्ता परिवारको दीगो जीविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन् ।शहीद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले शहीद तथा बेपत्ताका मुद्दालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहेको भए पनि रुपाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।

पालिकाभित्रका प्रतिभाको खोजी

विभिन्न वडा वडामा रहेका जाति विशेषका संस्कृति, रहनसहन र परम्परालाई एकै ठाउँमा ल्याउने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने अभियान गाउँपालिकाले थालेको छ । ७५ सालदेखिनै रुपा गाउँपालिकाले सबै जातिका संस्कृति र परम्परालाई झाँकीमार्फत प्रदर्शन गर्ने काम थालेको थियो । तर, गएको वर्ष भने कोरोनाका कारण झाँकी प्रतियोगिता रोकियो । तर, गएको वर्ष नै शुरु भएको पालिका भित्रका प्रतिभा पहिचान गर्ने अर्को कार्यक्रम पूरा भएको छ ।

पालिकाले पहिलो पटक रुपा डान्स आइडल गरेको हो । ५५ जनाभन्दा बढी प्रतियोगी डान्सरलाई पछि पार्दै रुपा-६ कि मेरिजन गुरुङले रुपा आइडलको ताज पहिरिएकी छन् । रुपा-५ कि अनुशा अधिकारी, रुपा-६ की सुस्मिता खड्का र रुपा-५ की सुजता विक क्रमश द्वितीय, तृतीय र शान्त्वना भए । आइडलमा प्रथम हुनेले ३० हजार रुपैयाँ प्राप्त गरिन् । द्वितीय, तृतीय र शान्त्वना गरी क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button