सङ्घर्षमा कलमको कविता प्रतियोगितामा सुनसरीका शून्यानन्द प्रथम

पोखरा न्यूज । सङ्घर्षमा कलमको राष्ट्रिय अनलाइन खुला कविता प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम हुन सफल भएका छन् ।४१ कविलाई पछाडि पार्दै शून्यानन्दको एकछिनमा जे पनि हुन सक्छ कविताले प्रथम पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा तेह्रथुमका बद्री श्रेष्ठ याक्चाको हो म त्यही कलम हूँ शीर्षकको कविताले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै कास्कीकी दीक्षा अधिकारीको छोरीको वेदना र पर्वतका श्रीकृष्ण शर्माको मान्छेको जात कविताले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथमले ११ हजार एक सय ११, द्वितीयले ५ हजार पाँच सय ५५ र तृतीयले जनही तीन हजार तीन सय ३३ नगदसहितको पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।यसैगरी नुवाकोटका गोपाल खनालको मुक्तिको सन्देश, संखुवासभाका चित्रमान तामाङको सहभागिता, पाल्पाकी निर्मला सुनारको आमासितको वाचा कसम, तनहुँका विनायक पन्तको सरकार खै त न्याय ?, पोखराका विष्णु वास्तोलाको साच्चिकै दिलवाली थिइन् दिलकुमारी भाउजू र स्याङ्जाकी सविना कार्कीको मेरो प्रिय कलम शीर्षकका कविता उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

प्रतियोगितामा डा रुपक श्रेष्ठको संयोजकत्वमा डा जगन्नाथ रेग्मी र सरस्वती श्रेष्ठ सरुको तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो । निर्णायक संयोजक डा रुपक श्रेष्ठले सङ्घर्षमा कलमले संस्थाको उद्घोष बमोजिम प्रतियोगितालाई प्रतियोगिताकै रुपमा सञ्चालन गरेको धारणा राखे ।

संस्थाले हरेक वर्ष स्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएकोमा कोरोनाका कारण वर्ष सम्मान कार्यक्रम सञ्चालन गर्न असहज भएकाले स्रष्टालाई सिर्जनशील बनाउन अनलाइनका माध्यमबाट प्रतियोगिता आयोजना गरेको अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट ४१ जना कविका कविता प्राप्त भएकोमा पहिलो चरणमा उत्कृष्ट १० छनौट गरी त्यसपछि विजेता घोषणा गरिएको कार्यक्रम संयोजक पूर्ण नेपालीले बताउँछन् । विजयी भएपछि शून्यानन्दले प्रतियोगितामा आफ्नो कविताले स्थान पाउनु नै ठूलो कुरा रहेकोमा अझ प्रथम हुनु भनेको आफूलाई साहित्य साधनामा लाग्नका लागि थप हौसला मिलेको बताए ।

अन्तरमनका भावहरूको बन्न खाज्दै मलम, समावेशी आवाज हो यो सङ्घर्षमा कलम उद्घोषका साथ २०६५ सालदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील सङ्घर्षमा कलमले संस्थाको मुखपत्रसहित विभिन्न साधकका दुई दर्जन बढी कृति प्रकाशन, चर्चा-परिचर्चा गरी सकेको छ । वार्षिक स्रष्टा सम्मान अन्तर्गत १० शृङ्खलामा वाङ्मयिक साधक २० जना, १७ समाजसेवी र राष्ट्रसेवी सत्पात्रलाई संस्थाले सम्मान गरिसकेकोमा यस पटक उक्त सम्मान अर्पण गर्ने वातावरण नरहेकाले प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव ओमकार लामिछानेले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button