कास्की जिल्ला अदालतलाई कम्प्यूटर हस्तान्तरण

पोखरा न्यूज संवाददाता । मानव विकास तथा सामुदायिक सेवा मार्फत सञ्चालित जिल्ला अस्पताल लमजुङका संस्थापक डा. तीर्थबहादुर थापाले कास्की जिल्ला अदालतलाई १० थान कम्प्यूटर सहयोग गर्नुभएको छ ।

डा.तीर्थबहादुर थापाले कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईलाई मंगलबार एक औपचारिक कार्यक्रमकाबीच कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा डा. थापाले अदालतमा आफ्नो संस्था मार्फत सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘न्यायको क्षेत्रले निष्पक्ष रुपमा न्याय दिने काम गर्छ, यस्तो क्षेत्रमा अलिकति सहयोग राख्न पाउनु भनेको मेरो र हाम्रो संस्थाको सौभाग्य हो’ उहाँले भन्नुभयो ।

कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले प्राप्त सहयोगले अदालतको सेवा प्रवाहलाई छिटो छरितो बनाउन सघाउने बताउनुभयो । ‘यो सहयोग कास्की जिल्ला अदालतका सेवाग्राहीको लागि हो, नेपाल सरकारको पूँजीको रुपमा हामीले पाएका छौ, यसको भरपुर प्रयोग गरेर सेवाप्रवाहलाई छिटो छरितो बनाउनेछौ’ उहाँले भन्नुभयो । अदालतको भौतिक अवस्थामा केही सुधार गर्ने अभियानमा आफूहरु जुटिरहेको बेला सहयोगी मनहरुको साथ पाएकोमा उत्साहित बनेको उहाँले बताउनुभयो ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्माले अदालतमा सूचना प्रविधिको प्रयोग विगत लामो समयदेखि हुँदै आएको बताउनुभयो । ‘यो शुरुवात हैन, हामीले पहिल्यैदेखि यसको अभ्यास गर्दै आएका छौँ । सूचना प्रविधिको प्रयोग अदालतमा भइरहेको छ, अब प्राप्त कम्प्यूटरको प्रयोगले हाम्रो कार्यमा अझै विशिष्टिकरण गर्नेछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले संस्थाले गरेको यो सहयोग शुरुवात भएकोले सेवा प्रवाहलाई छिटो छरितो बनाउन कार्यमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । अदालतसँगै अन्य सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थालाई समेत सहयोगी मनको सहयोग आवश्यक रहेको उहाँको भनाई थियो ।

नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले प्राप्त कम्प्यूटरका कारण अदालतको सेवा प्रवाह छिटो छरितो हुने विश्वास व्यक्त गर्नुभयो । कास्की जिल्ला अदालतका शाखा अधिकृत देवी भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम कास्की जिल्ला अदालतका सूचना अधिकरी नीलप्रसाद पनेरुले सञ्चालन गर्नु भएको थियो । सूचना अधिकारी पनेरुले सहयोगदाता डा. थाको बारेमा जानकारी समेत दिनुभयो । सोमबार मात्र पोखरा महानगरपालिका वडा नम्बर ६ को तर्फबाट अदालतलाई १० थान बेञ्च हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button